सरकारको ओठे भक्तिले मात्र भ्रष्टाचार नियन्त्रण हुँदैन :काँग्रेस सभापति श्रेष्ठ

0
676

रमेश विश्वकर्मा
मंसिर २४ ,२०७७ गुल्मी : गुल्मीका सरोकारवाला निकायहरुले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका छन् ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवरमा भ्रष्टाचार विरुद्धको नागरिक निगारानी संस्था गुल्मीले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले नेपालमा भ्रष्टाचार बढ्दै गईरहेकोप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।

‘‘भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले सरकार तथा गैरसरकारी संस्थाहरु भ्रष्टाचार विरुद्ध लागि परेको बताए । तर पनि भ्रष्टाचार नियन्त्रण गर्न कठिनाई भईरहेको उनको भनाइ रहेको छ । प्रजिअ शर्माले भ्रष्टाचारको नियन्त्रणका लागि नेतृत्व ठिक हुनुपर्ने बताए । नेतृत्वले भ्रष्टाचार नगरे तल्लो कर्मचारीले भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने बताए । उनले दलिय प्रतिनिधिहरुलाई दलले नै कन्ट्रोल गरेर राख्न सके भ्रष्टाचार न्यून हुँदै जाने बताए । जिल्लामा अख्तियारको जिम्मा समेत प्रजिअलाई दिईएकाले क्षमता विकासका कार्यक्रम गरिनुपर्ने जनशक्तिको क्षमता वृद्धि गरि क्षेत्र समेत निर्धारण गर्न आवश्यक रहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिव वीर बहादुर कार्कीले वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई बाहिर ल्याएकोे बताए । अहिले स्थानीयतह देखि केन्द्रसम्म नेकपाको सरकार भएकाले आफुहरुले दलिय प्रतिनिधिहरुलाई भ्रष्टाचार विरुद्ध चनाखो बन्न निर्देशन दिने गरिएको उल्लेख गरे ।

नेपाली काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले भ्रष्टाचार रोग मात्र नभई महारोग भएको बताए । यो महारोगको नियन्त्रणोन्मुख नहुनु चिन्ताको बिषय भएको बताए । सभापति श्रेष्ठले सरकारको ओठे भक्तिले मात्र भ्रष्टाचारको नियन्त्रण गर्न नसकिने दाबी गरे । भ्रष्टाचारको कारबाहीमाका लागि निर्माण भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको मतियार भएको आरोप लगाए । सरकारले भ्रष्टाचारको नियन्त्रणका लागि प्रतिवद्धता जनाएर मात्र नहुने यसतर्फ उनोन्मुख हुनुपर्ने बताए ।

जनता समाजवादी पार्टी गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले देशमा भ्रष्टाचार बढ्दा जनतामा वितृष्णा पैदा भएको बताए । पाण्डेले भ्रष्टाचार वृद्धि हुनुले राजनैतिक, आर्थिक प्रणाली नै असफल भएको संकेत गर्ने बताए ।

शुसासन अभियान गुल्मीका उपाध्यक्ष ढुण्डीराज पोख्रेलले पछिल्लो समय नैतिकता, मानवता हराउँदै गईरहेको बताए । भ्रष्टाराचीहरुलाई समाजबाट तिरस्कृत गर्ने प्रवृत्तिको विकास नभएसम्म भ्रष्टाचारलाई न्यूनिकरण गर्न नसकिने बताए । यसको अन्त्यका लागि व्यक्तिको बोली र व्यवहारमा फरक हुन नहुने पोख्ररेलले बताए ।

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले देशमा भ्रष्टाचार वृद्धि भईरहेको भन्ने पछिल्लो रिपोर्टले भ्रष्टाचार विरुद्धका अभियान्ताहरुको चिन्ता बढ्दै गईरहेको बताए । उनले यस जिल्लामा पनि विकास निर्माणका कामहरु समयमै सम्पन्न नभएको, जवाफदेहिता नदेखिएको बताए । साथै भड्किलो चुनावले अयोग्य जनप्रतिनिधि जन्माउने अवस्था आउन सक्नेतर्फ सचेत समेत बताए ।

संस्थाकी उपाध्यक्ष भगवती श्रीसको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव रामचन्द्र पन्थीले कार्यक्रमको सञ्चालन गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग पुर्याउने तथा आम नागरिकलाई भ्रष्टाचारको विरुद्धमा क्रियाशिल बनाउनु यस संस्थाको उद्देश्य रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठ, जिल्ला समन्वय अधिकारी विजय कुमार कार्की, गुल्मीका प्रमुख अनुसन्धान अधिकृत सञ्जय भण्डारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थी लगायतको सहभागिता रहेको थियो ।

SHARE