सदरमुकाम तम्घासका मुख्य पसलहरुले नै राख्दैनन मुल्य सूचि

0
722

मनु सुनार मनसुन
मंसिर २३,२०७७ गुल्मी : गुल्मीको सदरमुकाम तम्घासका मुख्य बजार क्षेत्र अनुगमन गरिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, जिल्ला प्रशासन कार्यालय, रेसुङ्गा नगरपालिका उपभोक्ता हित संरक्षण मन्च, पत्रकार लगायतको सहभागितामा रेसुङ्गा नगरपालिका वडा नम्बर एक र दुई वडाका मुख्य बजार क्षेत्रका विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।

यहाँ रहेका खाद्यान्न, फेन्सी, सुनचाँदी पसल, मासु पसल लगायतका २८ वटा पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
अनुगमनमा ढक, तराजुको अध्यावधिक नभएको, फेन्सी पसलहरुले विक्रिवितरण गर्दा बिल नकाटेको तथा व्यवसायीहरुमा करसम्बन्धी जानकारीको अभाव रहेको पाईएको हो। साथै मुल्य सूची नराखेको, पसलमा देखिने गरि फर्म दर्ता प्रमाणपत्र नराखेको पाईएकाले प्रथम पटकका लागि सचेत गराईएको पन्थीले बताए ।

अनुगमन तथा निरिक्षणका क्रममा २ हजार ९ सय मुल्य बराबरका अखाद्य सामग्रीको नष्ट गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका अधिकृत गणेश घिमिरेले जानकारी दिए । निरीक्षणका क्रममा मुल्य सूची राख्न, फर्महरुको नविकरण गर्न सुझाव दिएको छ ।

अनुगमन तथा निरीक्षणमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका अधिकृत गणेश घिमिरे, घरेलु तथा साना उद्योग कार्यालय तम्घासका कार्यालय प्रमुख लक्ष्मण घिमिरे, रेसुङ्गा नगरपालिकाका हरिशरण पन्थी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, उपभोक्ता हित संरक्षण मञ्चकी शान्ता पोखरेल लगायतको सहभागिता रहेको थियो ।

SHARE