खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु लक्षित चरणबद्ध कार्यप्रगति तालिम सुरु

0
530

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका अन्तर्गत रहेका खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि २ दिने चरणबद्ध कार्यप्रगति तालिम सुरु भएको छ ।

नगरपालिकाको एक घर एक धारा अभियान अन्तर्गत सञ्चालित विभिन्न खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको क्षमता विकास र आयोजनाको दिर्घकालिन विकासका लागि आयोजित तालिमको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य खड्क केसीले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खड्काले उद्घाटन सत्रमा बोल्दै कुनै समय घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य गर्दै वर्षौँ देखि काकाकुल बनेका नागरिकको घरघरमा खानेपानीको धारा पुर्याएर मुसिकोट नगरपालिकाले उदाहरणीय कार्य गरेको बताउनुभयो । उपभोक्ता समिति खानेपानी दिने दाता भएकाले काम गर्दा उदाहरणीय, गुणस्तरीय र दिर्घकालिन सोँच राखेर गर्न पनि आग्रह गर्नुभयो ।

फरक प्रसगंमा केसीले स्थानीय सरकारले जनताको जनजिविकामा केन्द्रित रहेर कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति गुल्मीका सदस्य चेतन बस्नेतले तालिममा सिकेको सीपलाई व्यवहारत लागु गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा नगरपालिकाको एक घर एक धारा सयोंजक एवम् वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटाले मुसिकोट नगरपालिका गठन भएपश्चात यो ३ वर्षको अवधिमा खानेपानीको पहुँच भन्दा बाहिर रहेका ७ हजार ७८ घरधुरी मध्ये ३ हजार ५ सय घरधुरीमा खानेपानीको उपलब्धता पुगेको बताउनुभयो ।

उहाँले यो आर्थिक वर्षको अन्त्यमा १ हजार घरधुरीमा एक घर एक धारा पुग्ने बताउँदै खानेपानी जस्तो आधारभूत विषयबाट कोही पनि बञ्चित नहुन् भन्नका लागि ५ वर्षको अवधिमा प्रत्येक नागरिकको घर घरमा खानेपानीको पहुँच पुग्ने गरी नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।

पहिलो दिनको तालिमको सहजीकरण गर्दै मुसिकोट नगरपालिका वास सयोंजक सिता भुषालले उपभोक्ता समितिलार्ई उचित व्यवस्थापन गर्न सके खानेपानी आयोजनाको दिगो विकासको लक्ष्य प्राप्ति हुने बताउनुभयो । त्यस्तै उहाँले आयोजना निर्माण गर्दा गुणस्तरीयतामा ध्यान दिन र निर्माण सम्पन्न पश्चात त्यसको दिगो व्यवस्थापन प्रति सजग रहन उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

३५ जनाको सहभागीता रहेको तालिमको पहिलो दिन उपभोक्ता समिति गठन, विधान दर्ता, लैङ्गिक समानता तथा समावेशीकरण, सहभागीता, पारदर्शिता, जवाफदेहिता, दिगोपना, उपभोक्ता समितिका पदाधिकारीहरुको काम कर्तव्य तथा जिम्मेवारी, योजना सञ्चालन तथा मर्मत सभांर,योजना दिगोपना र सुचारु रुपले सञ्चालनका लागि पानी महशुल सकंलन तथा सञ्चालन,कोष परिचालनको महत्व त्यस्तै खरिद प्रक्रिया,ढुवानी तथा भण्डारण,पाईप फिटिङ्स,औजार सिमेन्ट स्थानीय सामाग्री लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।

तालिमको मुसिकोट नगरपालिका योजना शाखा प्रमुख मुना ज्ञवाली, वास सयोंजक सिता भुषाल र वास प्राविधिक सहायक होमलाल पाण्डेले सहजीकरण गर्नुभएको थियो । तालिम मगंलबार समापन हुनेछ ।

सोमबार भएको उद्घाटन सत्रमा मुसिकोट नगरपालिका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेको स्वागत मन्तव्य र वास सयोंजक सिता भुषालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

SHARE