मन्त्री केसीको पहलमा रोल्पाको विकट गाउँमा प्राबिधिक शिक्षा

0
637

मंसिर २२,२०७७ रोल्पा : रोल्पाको विकट गाउँ जेल्बाङमा प्रि —डिप्लोमा तहको प्राविधिक शिक्षाको पठनपाठन सुरु भएसंगै यति विकट क्षेत्रमा पनि यस्तो सुविधा पाउन सकिदो रहेछ भन्नेमा स्थानीय विद्यार्थी छक्क परेका छन् । सुनछहरी गाउँपालिका–७, जेल्बाङमा पशु प्राविधिक पढाइ हुने भएपछि जिल्लाका पूर्वी क्षेत्रका विद्यार्थीका लागि सहज हुने मात्र होइन आफ्नै गाउघरमा वसेर प्राविधिक विषय पढ्न पाउदा नसोचेको खुशी विद्यार्थीहरुमा देखा परेको छ ।

प्राविधिक अध्ययनका लागि जिल्लाबाहिर विभिन्न सहर पुग्नुपर्ने बाध्यताबाट यस क्षेत्रका विद्यार्थी मुक्त भएका छन् । सदरमुकाम लिवाङ, जिल्लाको पश्चिमी क्षेत्र रांकोट र पूर्वी क्षेत्र जेल्बाङमा समेत प्राविधिक शिक्षा पढाइ हुने भएपछि रोल्पालीले खुसी व्यक्त गरेका छन् ।०३१ सालमा प्राथमिक तहबाट सुरु भएको जेल्बाङको रोल्बाङ माविले गत वर्षदेखि कक्षा ११ समेत सञ्चालन गरेको गाउँपालिका अध्यक्ष आसबहादुर पुनले बताए ।

‘यो वर्षदेखि प्राविधिक अध्ययन पनि सुरु गर्न पाएकोमा खुसी छौँ,’ गाउँपालिका अध्यक्ष पुनले भने, ‘जिल्लाको पूर्वी क्षेत्रकै प्राविधिक विद्यालयको रूपमा विकास गर्ने हाम्रो योजना छ ।’ करिब ८८ प्रतिशत कृषिमा निर्भर रहेको सुनछहरी गाउँपालिकामा कृषि र पशुपालन व्यावसायिक हुने अध्यक्ष पुनको भनाइ छ । रोल्बाङ मावि जेल्बाङमा सुरु भएको १८ महिने पशु प्राविधिक कोर्स अर्थात् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमका लागि ४० जनाको कोटा निर्धारण गरिएकोमा सबै पूरा भएको प्राविधिक प्रशिक्षक विशेष केसीले बताए ।

जेल्बाङका साथै थवाङ, सुनिलस्मृति र छिमेकी जिल्ला प्युठानबाट समेत विद्यार्थी अध्ययनका लागि भर्ना भएको केसीको भनाइ छ । व्यावहारिक सिकाइको माध्यमबाट पढाइने भएकाले पनि विद्यार्थीलाई स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेल्ने केसीले बताए ।यता सुनछहरी गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि सातजनालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरेको छ ।

बालबालिकामा शैक्षिक जागरण ल्याउनुका साथै स्वरोजगार बनाउने उद्देश्यसहित गाउँपालिकाका सातवटै वडाबाट एक–एकजनालाई छात्रवृत्तिमा पढाउन थालिएको गाउँपालिका अध्यक्ष आसबहादुर पुनले बताए । गाउँमै प्राविधिक शिक्षा पढ्न पाएपछि विद्यार्थीसमेत हर्षित भएका छन् । ‘टाढा जानुपरेको भए धेरै खर्च हुन्थ्यो,’ स्थानीय विद्यार्थी कविता रोकामगरले भनिन्, ‘गाउँमै विद्यालय खुल्यो, यतै पढ्न पाउँदा खुसी लागेको छ ।

’पशु प्राविधिक शिक्षा अध्ययनका लागि सुनछहरी गाउँपालिकाको पाँच लाख, लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको समपूरक कोषबाट ५० लाख, सिटिइभिटी काठमाडौंबाट १० लाख र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट तीन लाख गरी ६८ लाखको लगानी रहेको गाउँपालिकाले जनाएको छ । १८ महिने पशु प्राविधिक कोर्स अर्थात् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमको हालै उद्घाटन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शैक्षिक जागरणका लागि सरकारको योजना सफल हुँदै गएको बताए ।

गाउँ र सहर सबै क्षेत्रका बासिन्दाले शिक्षामा समान अधिकार पाउने कुरालाई व्यावहारिकता दिन थालिएको भन्दै केसीले नेपाल सुहाउँदो शिक्षा नै प्राविधिक शिक्षा भएको बताए । लुम्बिनी प्रदेश सरकारले कृषि र पशु क्षेत्रलाई विशेष प्राथमिकता दिएको भन्दै उनले व्यावसायिक रूपमा लाग्न चाहने कृषकका लागि सरकार अभिभावक रहेको दाबी गरे।

SHARE