
सुशीला रेग्मी
मंसिर २०,२०७७ पाल्पा : रामपुर नगरपालिका वडा नं ३ स्थित बगाहा खोपकेन्द्र भवन उद्घाटन भएको छ । वडा अध्यक्ष दिनेशकुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले उद्घाटन गरिन ।
भवन उद्घाटन गर्दै नगर उपप्रमुख आचार्यले नगरपालिकाले अति आवश्यक सेवालाई पहिलो प्राथमिकता दिएर भौतिक पूर्वाधार थप गर्दै गएको बताइन। उनले नयाँ निर्माण भएको खोपकेन्द्र भवनका लागि आवश्यक पर्ने फर्निचरका सामग्री खरिद गर्न उपप्रमुख कोषमार्फत रु एक लाख रकम सहयोग गर्ने घोषणा गरिन।
नगर स्वास्थ्य अधिकृत गिरीराज घिमिरेले भवन अभावमा यसभन्दा अगाडी चौतारी, खुल्ला चौरमा बसेर खोप सेवा दिनु परेको बताउँदै अब भवन बनेपछि सेवा दिन सजिलो पर्ने बताए ।
नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं ३ का वडा सभापति विष्णु रेग्मीले नगरपालिकाले भवन निर्माणमा वजेट उपलब्ध गराएर सहयोग गरेकोमा धन्यवाद दिदै यस खोपकेन्द्रबाट नागरिकलाई धेरै सहज हुने बताए ।
भवन निर्माण समितिका अध्यक्ष श्यामप्रसाद भट्टराईले रामपुर नगरपालिकाको रु तीन लाख, वडा कार्यालयको रु एक लाख सहयोगमा भवन निर्माण प्रक्रिया अगाडी बढाएको बताए ।
यस भवन निर्माणका लागि यहाँका स्थानीय, वन उपभोक्ता समितिबाट रु एक लाख २० हजार सहयोग प्राप्त भएको छ । कार्यक्रम संचालन वडा सचिव मदन पराजुलीले गरे ।
कार्यक्रमको अवसरमा नगर उपप्रमुख आचार्य र वडा अध्यक्ष खनालले भवन निर्माणमा जग्गा सहयोग गर्नुहुने रामपुर नगरपालिका वडा नं ३ बगाहा बस्ने नरबहादुर थापा र जिताकुमारी थापाको परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे
।
कार्यक्रममा सहभागी पाहुनालाई रामपुर नगरपालिका ३ स्थित चनौलीमा रहेको लाङघाली समाजसुधार सामुदायिक केन्द्रद्धारा पन्चेबाजाले स्वागत गरिएको थियो । रामपुर नगरपालिका भित्र २१ वटा खोपकेन्द्र, १३ वटा स्वास्थ्य चौकी छन् ।









