
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेर प्रशासन पछि हटेको बताएका छन्। बुधबार निषेधाज्ञाका बीच पुल उद्घाटनमा पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि देशभर कांग्रेस आन्दोलित छ।
बुधबार पुल उद्घाटनको विषयलाई लिएर कांग्रेस र सत्तारुढ नेकपाका कार्यकर्ताबीच विवाद भएको थियो। नेकपा कार्यकर्ताले पौडेललाई पुल उद्घाटन गर्न जानबाट अवरोध गरेका थिए।
आज भने पौडेलले नै बुल्दी खोलाको पुल उद्घाटन गरेका छन्। पौडेलले सत्ता र शक्तिको दुरुपयोग गरी जनताको इच्छा विपरित काम गर्न सघाउने, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउन पौडेलले माग गरेका छन्।

‘सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिति , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो। घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ,’ पौडेलले भने, ‘आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ । पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।’
उनले लोकतान्त्रिक मूल्य र मान्यता विपरित कम्युनिष्ट तानाशाह प्रवृति विरुद्ध आन्दोलन जारी रहेको पनि बताएका छन्। ‘लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता , नेपाली कांग्रेस माथिको घोर अपमान र अत्याचार प्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्ध हाम्रो आन्दोलन जारी रहनेछ’ उनले भने। थाहाबाट











