सल्यान : पहाडको टुप्पोबाट वरिपरि हिमाल नियाल्दा मनै फुरुंग हुन्छ। दार्मा र कुमाख गाउँपालिकाको संगम स्थानको रुपमा रहेको डाँडोमा मालिकाको मन्दिर रहेको छ। मन्दिर परिसरबाट आँखैअगाडि ठोकिन आउने हिमाललाई नियाल्दा आँखा झिमिक्क गर्न मन लाग्दैन।
धार्मिक पर्यटकीयस्थल मालिकाको धुरीमा पुग्ने जो कसैले यस्तै अनुभव संगाल्ने अवसर पाउँछन्। यहाँबाट धौलागिरि, सिस्ने, चाखुरेको लेक लगायतका आधा दर्जन हिमाल अवलोकन गर्न सकिन्छ। विगतका वर्षहरुमा ओझेलमा परेको मालिका लेकलाई पछिल्लो समय दार्मा गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आएको छ।
विगतमा मेला पर्वमा मात्र चहलपहल हुने मालिका आजभोली भने दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीय मानसिङ बुढाले बताए। मालिकामा दर्शन तथा पूजा गरेपछि मनोकांक्षा पूरा हुने भएकाले आफूले हरेक वर्ष मालिका पुग्ने गरेको उनको भनाइ छ।
परापूर्वकालमा मालिका लेकको बिचमा दह रहेको किंवदन्ती रहेको छ। लेकमा कालिका मालिका देवीका साथै सिद्धको पनि वासस्थान रहेको जनविश्वास रहेको छ। उक्त दहमा एक जना बच्चा डुवेपछि कालिका मालिका देवीले सिद्धलाई बच्चालाई नबचाएको भन्दै सिद्धलाई हटाएको र उक्त ठाउँबाट सिद्ध गएपछि दह सुकेको किंवदन्ती रहेको स्थानीय असवीर रावतले बताए।
मालिकालाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको दार्मा गाउँपालिका अध्यक्ष चन्द्र बहादुर रावतले बताए।