प्रधानमन्त्री रोजगार कार्यक्रम : गुल्मीमा दुई हजार बढीले पाए रोजगार

0
584
फाइल फोटो

रमेश विश्वकर्मा
मंसिर ८,२०७७ :गुल्मी जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ हजार बढिले रोजगार पाएका छन् । जिल्लाका २ नगरपालिका र दश गाउँपालिकाका २ हजार ४३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ करोड ८८ लाख ६३ हजार रुपैँया बजेट यस जिल्लाका १२ वटै स्थानीय तहमा भित्रिएको थियो ।

जिल्लाको मदाने गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ३२ लाख २२ हजार बजेट भित्रिएको थियो । त्यसमध्ये ३२ लाख २१ हजार ७५५ रुपैँया खर्च भएको छ । जसमा २ सय ८ जनाले रोजगार पाएका रोजगार संयोजक रमिता केसीले जानकारी दिइन् । उनका अनुसार मदाने गाउँपालिकाले मलागिरी वडा कार्यालयमा जाने सिँढी निर्माण, सडकका विभिन्न स्थानहरुमा पर्खाल लगाउने लगायतका स–सना भौतिक पूर्वाधारका काम भएको छ ।

मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ३८ लाख २१ हजार बजेट आएको थियो । सबै बजेट खर्च भएको रोजगार संयोजक खेमराज गैरेले बताए । उनका अनुसार उक्त कार्यक्रम अन्र्तगत २ सय ३९ जनाले रोजगार प्राप्त गरेका थिए । पानीका मुहान सरसफाइ, मालिका मन्दिरमा जाने पैदल मार्ग निर्माणमा बजेट खर्च गरिएको छ । सडकहरुमा नाली निर्माण गर्ने, पँधेराहरु निर्माण गर्ने लगायतका कार्यहरु भएको गैरेले बताए ।

ईस्मा गाउँपालिकामा २६ लाख ७६ हजार रुपैँया बजेट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत खर्च भएको छ । जसमा १ सय १९ जनाले रोजगार पाएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाको ६ वटै वडाहरुमा हेलिप्याड निर्माण गरिएको रेजगार संयोजक गणेश कुँवरले बताए । धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कुल बजेट १९ लाख ६३ हजार प्राप्त भएको थियो । जसमा १९ लाख ६० हजार १ सय ६८ रुपैँया खर्च भएको रोजगार संयोजक मीना सुनार श्रीपालीले जानकारी दिइन् । जसमा ३ सय ३९ जनाले रोजगार पाएका थिए । धुर्कोट गाउँपालिकामा प्रतीक्षालय बनाउने काम र वृक्षरोपण, पोखरी, चौपारी निर्माण, गोरेटो बाटो निर्माण लगायतका भौतिक विकास निर्माणका कार्यहरु गरिएको छ ।

मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १७ लाख ९८ हजार कुल बजेट भित्रिएको थियो । जसमा १७ लाख ४१ हजार ९६० रुपैँया खर्च भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक मधुसुधन लोहनीले जानकारी दिए । उनका अनुसार ९७ जनाले रोजगार प्राप्त गरेका थिए । मुसिकोट नगरपालिकामा लेन्थ वर्कर लगाइएको छ । मोटरबाटो, कुलो, नाली निर्माण लगायतका कार्य गरिएको छ । त्यस्तै रेसुङ्गा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २६ लाख ४८ हजार रुपैँया प्राप्त भएको थियो । जसमा २६ लाख १० हजार ६९२ रुपैँया ज्यालामा खर्च गरिएको बाँकी निर्माण तथा औजार सामग्रीमा खर्च गरिएको छ । जसमा १ सय १९ जनाले रोजगार प्राप्त गरेका रोजगार संयोजक सन्तोष पन्थले जानकारी दिए । रेसुंगा नगरपालिकाले पार्क निर्माण, पानीका मुहान संरक्षण, नालाहरू बनाउने, सोलिङ गर्नेजस्ता विभिन्न कार्य गरिएको छ ।

त्यस्तै गुल्मीदरबार गाउँपालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १८ लाख ४९ हजार रुपैँया प्राप्त भएको थियो । जसमा खर्च भएको १६ लाख ७९ हजार खर्च भएको रोजगार संयोजक निर्मला पाण्डेले जानकारी दिईन् । उनका अनुसार १ सय ११ जनाले रोजगार पाएका थिए । गुल्मीदरबारमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बगैँचा संरक्षण, मूल तथा सहायक मोटरबाटोको नाली निर्माण तथा मर्मत, वृक्षारोपण लगायतका कार्यहरु गरिएको छ । छत्रकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १९ लाख १६ हजार खर्च गरेको छ । जसमा १ सय ९८ जनाले रोजगार पाएका रोजगार संयोजक शोभा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार छत्रकोट गाउँपालिकामा घोरेटो बाटो निर्माण, तटबन्ध, सिँडि निर्माण, कागती खेती लगायतका विभिन्न कार्य गरिएको छ ।

रुरुक्षेत्र गाउँपालिकामा २४ लाख २ हजार बजेट प्राप्त भएको थियो । यस कार्यक्रम अन्र्तगत २१ लाख १७ हजार ज्यालामा खर्च गरिएको छ । १ लाख ६४ हजार ८ सय ७० औजार सामाग्री तथा व्यवस्थापनमा खर्च भएको छ । त्यसबाट २ सय ३६ जनाले रोजगार पाएका रोजगार संयोजक करुणा पन्थीले जानकारी दिइन् । उनका अनुसार श्रृङ्गेश्वर तपोभूमिमा जाने पैदल मार्ग निर्माण सँगै परिसर वरपर सरसफाइ गरिएको छ । यस्तै पोखरी संरक्षण, गोरेटा बाटाहरु निर्माणका लगायतका कार्यहरु गरिएको थियो । सत्यवती गाउँपालिकामा ३२ लाख ८८ हजार रुपैँया प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बजेट प्राप्त भएको थियो । जसमा १ सय ९५ जनाले रोजगार प्राप्त गरेका रोजगार संयोजक सुभाष आर्चायले जानकारी दिए । उनका अनुसार पूर्धाधार निर्माण अन्र्तगतका पहिरो क्षेत्रमा व्यवस्थापन, भू–क्षय व्यवस्थापनका लागि विभिन्न कार्यहरु गरिएको छ । घोरेटो, मोटरबाटो मर्मतसम्भार, पदमार्ग निर्माण, बगैँचा निर्माण गरिएको छ ।

कालीगण्डकी गाउँपालिकामा २० लाख ८४ हजार रुपैँया यस कार्यक्रम अन्र्तगत खर्च भएको छ । यहाँ १ सय ६ जनाले रोजगार प्राप्त गरेका कालीगण्डकी गाउँपालिका प्रशासन शाखाका पुण्य आर्चायले जानकारी दिए । गाउँपालिकाले वडा नं ४ पुर्तिघाट डाँडामा (हेल्थ हट) गाउँघर स्वास्थ्य क्लिनिक निर्माण गरेको छ । त्यस्तै सिँचाइका लागि पोखरी निर्माण, कुलोमर्मत लगायत सडकका नाली बनाइएको छ । यस्तै वडा नं. २ को अर्बेनीको प्रवेशद्वारमा गेट निर्माण, स–सना भौतिक पूर्वाधारका कार्यहरु गरिएको छ । चन्द्रकोट गाउँपालिकामा ११ लाख ९६ हजार प्राप्त बजेटबाट ७६ जनाले रोजगार प्राप्त गरेका रोजगार संयोजक यज्ञमुर्ती न्यौपानेले जानकारी दिए । चन्द्रकोट गाउँपालिकाले किसिकोट प्राथमिक विद्यालयमा सो कार्यक्रममार्फत एककोठे भवन निर्माणसँगै गाउँपालिका परिसरमा फूलबारी निर्माण गरेको छ । यस्तै ससना कुलो, घोरेटो बाटो निर्माण गरिएको छ ।

SHARE