गुल्मीदरबारका बाँझो जग्गा गाउँपालिकाले जोतिदिएपछि किसानले फलाए धान

0
407

हुमाकान्त पोखरेल
मंसिर ५, २०७७ गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकाले निःशुल्क रुपमा खेत जोतिदिएपछि किसानहरुले धान फलाएका छन् ।
गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क संकलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो । त्यसले गर्दा १२ बर्षदेखि बाँझो खेतमा अहिले धान झुलेको छ । एकातर्फ काम गर्नेहरुको जग्गा नहुने ।
अर्कोतर्फ भने जग्गा भएकाहरुले काम नगर्ने वा बसाइँसराई गरेर अन्यत्रै बस्ने । यसै बिषयलाई मध्यनजर गर्दै गुल्मीको गुल्मीदरबार गाउँपालिकाले भुमि बैंकको अवधारणा अगाडी ल्यायो । जहाँ काम गर्न चाहाने र बाँझो जग्गाको लागत संकलन गरिन्छ । अनि काम चाहानेहरुलाई खेत उपलब्ध गराई गाउँपालिकाले समन्वय गर्छ ।
गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले भूमि बैंकमार्फत झण्डै दुई सय रोपनी बाँझो जग्गा जोतिएको जानकारी दिए । गाउँपालिकाले बाँझो जग्गाको लागत संकलन गरी काम गर्न इच्छुक किसानहरुलाई खेत प्रदान गर्ने थापाले बताए । त्यसका साथै खेतमा पहिलो चरणमा राख्ने रासायनिक मल पनि गाउँपालिकाले नै प्रदाने गर्ने जानकारी दिए ।
गाउँपालिकाको यसै कार्यमार्फत वडा नम्बर ६ कुमालटारीमा एक सय रोपनी बाँझो खेत जोति धान खेती गरिएको छ । कुमालटारी खाद्यान्न तथा तरकारी उत्पादक कृषक समुहका सदस्य बद्रिनाथ अर्यालले गाउँपालिकाले ट्याक्टरको प्रयोग गरी निःशुल्क रुपमा खेत जोतिदिएकोले आफुहरुमा काम गर्ने उत्साह पलाएको बताए ।
अर्का किसान यम बहादुर शाहीले १२ बर्षदेखि बाँझो खेतमा अहिले यसरी लहलह धान झुल्ला भनेर आफुले नसोचेको बताए । बसाइँसराईले गर्दा मानिसले गाउँ छोडे । त्यसले गर्दा खेतहरु पनि बाँझो भए । गाउँपालिकाले भुमि बैंकमार्फत बाँझो जग्गा जोतिदिने अभियान ल्याएपछि कुमालटारीका युवा सामुहिक खेतीतर्फ आकर्षित भएका छन् ।

अहिले करिब ३० जनाको ६० रोपनी खेतमा १५ जना मिलेर समुहिक धानखेती गरेका छन् । जसमा ७५ हजार लागत परेको र सयमुरी धान उत्पादन हुने लक्ष्य छ । समान परिश्रम र समान प्रतिफल हुने नियम बनाइएको छ । कुमालटारीमा मात्रै एक सय रोपनी खेतमध्ये व्यक्तिगत र सामुहिकमा गरी कुल ८५ मुरी धान उत्पादन भइसकेको शाहीले बताए ।
रेसुङ्गा नगरपालिका र गुल्मीदरबाको बठुकारखोला भन्ने ६ किलोमिटर टाढाबाट सिँचाईको लागि पानी ल्याइएको छ । गाउँपालिकाको उक्त कार्यले किसानहरुमा खुसि छाएपनि गाउँको बसाइँसराई रोक्नको लागि कृषिमा थप योजना ल्याउनुपर्ने कृषकहरुको भनाई छ । ५८ बर्षिया कृषक कृष्ण प्रसाद ज्ञवालीले थप कृषि औजार, आवश्यक मल लगायतको व्यवस्था हुनुपर्ने धारणा राखे ।

SHARE