
मंसिर ५,२०७७ गुल्मी : रेसुंगा नगरपालिका भित्र संचालनमा रहेका बैंक बित्तीय संस्थाहरु मंसिर ७ गतेदेखि ९ गतेसम्मका लागि पुर्ण रुपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार एक सूचना जारी गर्दै नगरपालिका भित्र संक्रमण फैलिदै गएको र रेसुंगा नगरपालिकाले शुक्रबार ५ गते देखि १३ गतेसम्मका लागि नगर क्षेत्र लकडाउन गरेकाले सो निर्णय कार्यन्वयन गर्ने निर्णय भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
बिहीबार साँझ बसेको जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले नगरपालिकाले गरेको लकडाउनको समय अबधिसम्मका लागि संघ र प्रदेश मातहतका कार्यालयहरुबाट अत्याबश्यक सेवाहरु मात्र संचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा पीसीआर परीक्षणका लागि स्वाब दिएका र संक्रमण पुष्टि भएका ब्यक्तिहरु सुरक्षित रुपमा होम कवारेन्टाइनमा बस्न आग्रह गरिएको छ । यदि कसैले अटेर गरी घरमै नबसी बाहिर हिडेको पाइएमा जिल्ला प्रशासन कार्यालय गुल्मी , जिल्ला प्रहरी कार्यालय गुल्मी र नगरपालिकामा सूचना दिन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको सूचनालाई कसैले अबज्ञ गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासनऐन २०२८ बमोजिम कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
नगरपालिका भित्र हाल संक्रिय संक्रमितको संख्या २९ जना रहेको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
जिल्लामा संक्रमितको संख्या ८२० जना रहेकोमा ७३९ जना निको भएर घर फकिएका छन् भने ७० जनाको होम आइसोलेशनमा रहेका छन् । जिल्लामा संक्रमणका कारण ११ जनाको ज्यान गइसकेको छ ।








