दिवाकर पोख्रेल
देउखुरी,कात्तिक २६ गते । दाङको घोराहीबाट चितुवाको छाला र चार किलो अफिमसहित दुई युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नम्बर ५ निवासी २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार राति ८ बजेतिर दुई युकवलाई घोराही ८ बनगाउँ क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनीहरूको साथबाट छ फिट ११ इञ्ज लामो चितुवाको छाला र तीन किलो सातसय ५० ग्राम अफिम बरामद भएको एसपी चन्दले जानकारी दिए । पक्राउ परेकाहरूमामाथि अनुसन्धान भइरहेको र उनीहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसार सम्बन्धी मुद्दा चलाएर कारबाही अगाडि बढाउने तयारी प्रहरीले जानकारी दिएको छ ।