गर्भवती तथा सुत्केरी महिलाहरुलाई नगरपालिकाको पोषण संगै स्वास्थ्य सामाग्री

0
630

कात्तिक २५,२०७७ गुल्मीः रेसुंगा नगरपालिका गुल्मीले नगरभित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाइका सामग्रीहरु प्रदान गरेको छ ।
नगरपालिकाको स्वस्थ आमा स्वस्थ शिशु कार्यक्रम अन्र्तगत गर्भवती महिलाहरु तथा सुत्केरी महिलाहरुलाई पोषण र सरसफाइका सामाग्रीहरु बितरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । अहिले नगरपालिका भित्र करिब १५० जना महिलाहरु गर्भवती रहेको तथ्यांक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
महिला गर्भवती भएको पहिलो ४ महिनामा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउदा एक क्यारेड अण्डा , एक किलो भटमास , एक किलो आयोडिन नुन ,नुहाँउने सावुन , धुने सावुन , नेलकटर , तुथपेस्ट , ब्रस , काँइयो र शन्देशमुलक फाइबर ब्याग प्रदान गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै गर्भवती महिलाले दोस्रो तेस्रो र चौथो पटक स्वास्थ्य जाँच गराउँदा अण्डा , नेलकटर र काँइयो बाहेक सबै स्वास्थ्य सामाग्रीहरु गर्भवती महिलालाई प्रदान गरिने छ । महिला सुत्केरी भएको तेस्रो दिनमा स्वास्थ्य कर्मी घरमै गई आमा र र बच्चाको स्वास्थ्य परीक्षण गरी पहिलो पटक गर्भजाँच गराउँदा दिइने सबै स्वास्थ्य सामग्री प्रदान गरिने र गर्भवती महिलालाई ज्वानो पनि प्रदान गरिने छ ।
यस्तै महिला गर्भवती भएको समयमा गर्भमा रहेको बच्चाको बाबालाई चिठी पनि प्रदान गरिने छ । नगरपालिकाले गर्भवती महिलालाई निशुल्क क्यालशियम बितरण र सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गाडी भाडा समेत प्रदान गर्ने गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

SHARE