
कात्तिक २४,२०७७ काठमाडौं : लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ।
नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सिंहको जन्मजयन्तीका अवसरमा अहिले केहीबेरमा काठमाडौंको शोभा भगवतीमा उनको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।
सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठन तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले विभिन्न भर्चुअल कार्यक्रमको आयोजना गरेका छन्। नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा बि।सं। २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्वलगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ।

सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्यायका रुपमा मानिन्छन्। सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए। उनी आफ्नो जीवनकालमा कुनै पनि लाभको पदमा नबसी सेवा गरेकोले त्यागी नेताका रुपमा सम्झना गरिन्छ। बि।सं। १९७२ कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।
यसैबीच गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमानको जन्म जयन्तीको अवसर पारेर आजदेखि पहिलो चरणमा काठमाडौं निर्वाचन क्षेत्र नं। ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ। यस क्षेत्रमा अक्सीमिटर, मास्क, औषधिलगायतका सामग्री बाँड्नका साथै जनचेतना कार्यक्रम गरिने प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए।












