दाङको तुलसीपुरमा स्मार्ट छोरी योजना, छोरीको खातामा मासिक १०० रुपैयाँ जम्मा

0
282

कात्तिक १९,२०७७ दाङ :तुलसीपुर उपमहानगरपालिकाले छोरीको आर्थिक र सामाजिक सशक्तीकरणका लागि जन्मेदेखि हरेक महिना १०० रुपैयाँ दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ।

कार्यपालिकाको ९५औं बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारि कार्यविधि पारित गरेसँगै अब उक्त योजना लागु हुने भएको छ। कार्यविधिमा उल्लेख भएअनुसार २०७७ साउन १ पछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीको बैक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन्।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र अनिवार्य रुपमा जन्मदर्ता गराउनुपर्ने र बालिकाको अभिभावकले बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्नेछ। खाता उपलब्ध भएपछि रकम जम्मा हुने कार्यविधिमा उल्लेख गरिएको छ।

कार्यविधिअनुसार जन्मेको पहिलो महिनामा एक हजार २०० रुपैया र त्यसपछि प्रत्येक महिना १०० रुपैयाँका दरले खातामा रकम जम्मा हुनेछ। यो क्रम २० वर्षसम्म चल्नेछ।

SHARE