गुल्मीको रेसुङ्गामा पौवा रिसोर्ट संचालन

0
839

रमेश विश्वकर्मा
कात्तिक १८,२०७७ गुल्मी : गुल्मीको ऐतिहासिक, धार्मिक एवम पर्यटकीयस्थल रेसुङ्गामा होटल पौवा प्रालिले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको छ । समुद्र सतह देखि २ हजार ३४७ मिटर उचाइमा रहेको पवित्र पावन भूमि रेसुङ्गामा सोमबार पत्रकार सम्मेलन गरि पौवा रिसोर्ट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

रेसुङ्गामा करिब १० करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनको लागि पौवा होटललाई रेसुङ्गा नगरपालिकाले अनुमति प्रदान गरिएको थियो । २०७६ कात्तिकबाट निर्माण सुरु गरी २०७७ असोजबाट संचालन गर्ने गरी रेसुङ्गा नगरपालिका र पौवा होटलबीच सम्झौता भएको थियो । यसले रेसुङ्गा पोखरी क्षेत्र नजिकै ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने छ ।

पौवा होटेलले २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न पाउने सम्झौता अनुसार शुभारम्भमा अहिले करिब दुई करोड लगानी गरिएको छ । यसमा १० करोड भन्दा बढी लगानी गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । यसबाट पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने भण्डारीले विश्वास व्यक्त गरे । पौवाले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाई भाडा बुझाउनुपर्ने छैन । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, त्यसपछिका पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको १० वर्षको लागि एक लाखका दरले भाडा बुझाउने सम्झौतमा उल्लेख गरे । २५ बर्षपछि यहाँ निर्माण गरेका सवै संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने बताईएको छ ।

लुम्बिनी प्रदेशकै ऐतिहासिक पवित्र पवित्रस्थल रेसुङ्गा भूमिको भर्जिनिटीलाई जोगाइ राख्दै उत्कृष्ट सेवा प्रदान गर्ने पौवा रिसोर्टको लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताए । होटल पौवाका प्रबन्ध निर्देशक बिष्णु ज्ञवालीले रेसुङ्गाको प्रचार–प्रसार गर्दै बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्नका लागि होटल पौवाको आतिथ्यताले ठुलो मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

‘हामीले उत्कृष्ट सेवा र नेपाली अतिथ्यताले विगतदेखि नै हाम्रा उपभोक्ताहरुलाई सन्तुष्टि दिँदै आएका छौँ ।’ ज्ञवालीले भने, ‘यस क्षेत्रको भ्रमणका लागि सुविधा विस्तार गर्दैछौँ । निकट भविष्यमा नै स्टार सहितको सेवा दिने लक्ष्यमा रहेका छौँ । निकट भविष्यमै योगा, मेडिटेशनको व्यवस्था समेत मिलाउने छौं ।’ साहित्य अनुरागीहरुलाई मध्यनजर गर्दै साहित्यक रचनाका लागि पौवा रिसोर्टमा आमन्त्रित गर्ने योजना बनाएको बताउँदै ज्ञवालीले समय–समयमा साहित्यक महोत्सव समेत आयोजना गरिने उल्लेख गरे ।

‘भर्जिन रेसुङ्गाको अपूर्ण प्रचारप्रसारको खाँचो भने निकै धेरै छ । पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय स्थलको खोजी, जति महत्वपूर्ण छ, त्यति नै गम्भीर बन्नुपर्ने विषय हुन्छ ।’ ज्ञवालीले भने, ‘पर्यटकीय पूर्वाधारको विकास भएन भने ती पर्टकीय केन्द्रहरु कस्तुरीको नाभिमा रहेका बिना जस्तै हुन् ।’ पौवा रिसोर्टले कात्तिक २२,२३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी गरेको बताईएको छ । रेसुङगा, पाल्पा , वुटवल, भैरहवा, गोरुसिङ्गे, भालुवाङ, लमही, जुम्लावाट सेवा दिदै आएको पौवाले देशभरवाट आफनो सेवा दिने लक्ष्य रहेको पौवा रिसोर्ट सञ्चालक धुर्व न्यौपानेले जानकारी दिए ।

SHARE