Friday, June 5, 2026

पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

0
फाइल फोटो

असार८,२०८० काठमाडौं : ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं। ८ मा गएराति पहिरो जाँदा चारजनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नं। ८ स्थित स्थित जनजाति बस्ती (गुरुङ बस्ती)मा बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए।

स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको हो। तीनजनाको शव निकालिएको छ भने दिपेशको शव निकाल्ने प्रयास भइरहेको बरालले जानकारी दिए।

पहिरो गएलगत्तै बस्तीका अन्यले भागेर ज्यान जोगाएको उनले जानकारी दिए। क्षतिको थप विवरण संकलन भइरहेको छ।

घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिए।

२०७२ सालको भूकम्पका कारण बस्तीमाथिको डाँडोमा धाँजा फाटेका कारण जोखिम रहेको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए। करिब १५० घरधुरी रहेको बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ। योुमाचार हामीले थाहाखबरबाट लिएका हौं ।

भलायखर्कमा भुकम्प

0

असार ८,२०८० : लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

 

भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

0

असार ८,२०८० गोरखा : गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

 

दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घट्ना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो ।

अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचालन खुल्न नसकेको डिएसपी लामिछानेले बताउनुभयो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने

0

तिलाचन पाण्डे

असार ८ ,२०८० गुल्मीः गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने भएको छ ।

बिहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गाउँपालिका भित्र रहेको ४० वर्ष कटेका महिला र ४५ वर्ष कटेका पूरुषहरुका लागि जीवन निर्वाह भत्ता दिने नीति बनाएको बताएका छन् ।
यस्तै गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने स्थानीय मदिरालाई ब्रान्डिङ गरी अन्तर स्थानीय तहमा बजारीकरण गर्ने नीति लिइएको छ ।

गाउँपालिकाले हाम्रो गाउँ स्वस्थ्य बनाउँ भन्ने नीति पनि लिएको छ ।
नसर्ने रोगहरु क्यान्सर,मधुमेह,उच्च रक्तचाँप, मुटुरोग , मृगौला रोगहरुबाट बच्नका लागि समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

पालिका स्तरमा एमबिबिएस डाक्टको ब्यबस्था गरी नागरिकहरुलाई पालिका स्तरबाटै बिशेषज्ञ सेवा दिने गरी नीति निर्माण गरिएको छ । दीर्घ रोगीहरुलाई निशुल्क औषधिको ब्यबस्था गर्नुका साथै बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवाको ब्यबस्था गरिएको छ । पालिका भित्रका नागरिकहरुलाई प्रति महिना २० युनिट सम्मको महशुल पालिकाले भुक्तानी गरिदिने ब्यबस्था गरिएको छ ।

यस्तै गाउँपालिकाले कृषि,पशुपालन , शिक्षा ,स्वास्थ्य र पर्यटनलाई प्राथामिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिएको बताउँदै सोही अनुसारको बजेट ल्याइने प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिए ।

रामपुर ४ मा वडा सभा तथा भेला सम्पन्न

0

सुशीला रेग्मी
असार८,२०८० पाल्पाःरामपुर नगरपालिका वडा नं ४ मा आर्थिक वर्ष २०८०÷०८१ का लागी नीति, कार्यक्रम तथा योजना तर्जुमा सम्बन्धी वडा सभा तथा भेला सम्पन्न भएको छ ।

वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । वडाध्यक्ष रानमले कृषिमा परम्परागत प्रणालीलाई आधुनिक प्रविधी सहित व्यावसायिकरण गरिने, शिक्षालाई व्यावहारिक, प्रविधि मय र बालमैत्री विद्यालय बनाउन प्रोत्साहन गर्ने, वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई वडावासीहरुको पहँुचमा पु¥याइने, वडावासीहरुको आवश्यकतालाई मध्यनजर गर्दै शुद्ध खानेपानी वडावासीहरुको पहुँचमा पु¥याउने, वडामा रहेको सडकहरु नगरपालिकाले मापदण्ड अनुसार नामाकरण सहित स्तरोन्नती गर्ने कार्यक्रम वडाले प्राथमिकता दिएको बताउनुभएको छ ।

वडामा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाई संरक्षण, संवद्र्धन र प्रचार प्रसार, कालीगण्डकीको किनारमा अवस्थित वडभानघाट क्षेत्रलाई डाइनसर पार्क र वडाको अन्य क्षेत्रमा रहेको उपयुुक्त क्षेत्रलाई पार्कको रूपमा लिने, टोल विकास संस्थाहरुलाई क्रियाशिल बनाई पहिचान सहित दर्ता प्रक्रियामा लगिने, वडामा रहेका प्रतिभावान् खेलाडीलाई नगर, क्षेत्र, जिल्ला, प्रदेश हुदै राष्ट्रियस्तरमा पु¥याउनका लागि प्रोत्साहन गरिने, लक्षित वर्गलाई सीपमुलक तालिम, गोष्ठी संचालन गरी व्यावसायिक बनाउने, वडामा रहेका विद्युत् समस्यालाइ समाधान गर्ने, उपयुक्त स्थानमा व्यायामशाला निर्माण, वडाभित्रका कृषिका लागि उपयुुक्त स्थान र वातावरणको पहिचान गरी कृषि पकेट क्षेत्र घोषणा गर्ने, वडामा रहेको विभिन्न जातजाति, धर्म, संस्कृति अनुसारको अन्येष्टिस्थलहरुको संरक्षण व्यवस्थापन गरिने योजना अघि सारेको वडाध्यक्ष रानाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं ४ का वडा सभापति थर्कबहादुर राना, नेकपा एमाले वडा कमिटी अध्यक्ष डिलबहादुर कौशी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सदस्य टेकबहादुर क्षेत्री, समाजसेवी हमिदअली मियाँ, हातेमालो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर सारु, खोप्टार खानेपानी उपभोक्ता समिति अध्यक्ष विष्णुप्रसाद आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुशीला रेग्मी, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मनिराज अधिकारी, लक्ष्मि आधारभुत विद्यालयका प्रधानाध्यापक नरबहादुर राना, सीताराम माध्यमिक विद्यालयका शिक्षक सरस्वती श्रेष्ठ, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शाखा प्रवन्धक अमरराज जोशी, युथ युनियन क्लव मटेरीका अध्यक्ष कमल राना, रानिवन तथा वडभान सामुदायिक वन समुहका अध्यक्ष प्रेमबहादुर पोखरेल, बडडाँडा देविस्थान आमा समुहका अध्यक्ष अनिता थापा, हाम्रो आधुनिक कृषि फार्मका संचालक दिलबहादुर थापा, रेवतीपोखरा टोल विकास समिति अध्यक्ष विमल श्रेष्ठ लगायतले आफ्ना भनाई राख्नुभएको छ ।

कार्यपालिका सदस्य सिमादेवी रानाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन वडा सदस्य मोन सिं थापाले गर्नुभएको हो । धन्यवाद वडा सदस्य कमला नेपालीले दिनुभएको छ ।

मुसिकोटमा जिप दुर्घटना हुँदा दश जना घाइते

0

असार ७,२०८० रुकुम :रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिप दुर्घटनामा परेर दश जना घाइते भएका छन् । घाइते हुनेहरूमा मुसिकोट नगरपालिका ५ की १३ वर्षीया सरस्वती केसी, सोही ठाउँकी ५५ बर्षीया लीला केसी, मुसिकोट १३ की ५० बर्षीया सुबि रोका, मुसिकोट नगरपालिका ३ की १३ बर्षीया सुजता केसी, सोही वडाकी १२ वर्षीया करिना केसी रहेका छन् ।

त्यसै गरी सोही वडा निवासी १४ वर्षीया दक्षिणा खड्का, ८ वर्षीया वर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षीया बिनिता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ बर्षीया टिका ओली केसी र सोही स्थानकी ३३ बर्षीया टिका केसी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य वर्षा केसीको बायाँ खुट्टाको तिघ्राको हड्डी निस्किएकोले अवस्था सिरियस रहेको बताइएको छ । प्रहरीका अनुसार उक्त जिपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जिप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरीले

घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

इस्माको नीति तथा कार्यक्रम : खानेपानी, शिक्षा र पर्यटनलाई प्राथमिकता

0

हुमाकान्त पोखरेल

असार ६,२०८० गुल्मीः जिल्लाको इस्मा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि खानेपानी, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएको छ ।

मंगलबार सम्पन्न १४ औँ गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले खानेपानी, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएका हुन् । इस्माले आगामी आ.व.लाई ‘खानेपानी बर्ष’का रुपमा मनाउने उल्लेख गरेको छ । पालिकाभित्रका लिफ्टिङ खानेपानीको संचालन खर्चका लागि विद्युत महसुलमा सहयोग गर्ने, बृहत खानेपानीको मर्मतका लागि दर्लामचौर, दोहोली र रजस्थलमा पिउनेपानी समस्या समाधान गर्ने, ६६५ घरमा ‘एक घर एक धारा’ थप गर्ने एवम् वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण र संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षातर्फ पालिकाले शैक्षिक सत्र २०८० लाई ‘अनुगमन बर्ष’को रुपमा मनाउने गरी नीति सार्वजनिक गरेको छ । ‘पढ्दै कमाउदैँ’ कार्यक्रमको सुरुवातको लागि खाली रहेका विद्यालय भवनमा च्याउ खेती गर्ने, हिमालय माविमा कृषि विषय अध्ययन गरेका विद्यार्थीहरुले तयार पारेका कृषि उत्पादनको खरिद तथा बजारीकरणको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

कृषि अध्ययन गर्ने विद्यार्थीमध्ये उत्कृष्ट एकजनालाई पालिकामा करारमा नियुक्त गर्ने, ओ.जे.टी.को लागि पालिकाका विभिन्न कृषि एवम् पशु फर्ममा पठाउने, विद्यालयमा विद्युतीय हाजिरी व्यवस्थापन गर्ने, कक्षा, तह वा विद्यालय समायोजन दरबन्दी मिलान गर्ने नीति अवलम्बन गर्ने नीति अपनाइने गाउँपालिकाले जनाएको छ ।

पालिकाले उत्कृष्ट शिक्षक एवम् कक्षा १० र १२ को नजितामा उत्कृष्ट अंक ल्याउने एक÷एक जना विद्यार्थीलाई पुरस्कृत गर्ने, गुल्मीका क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने इस्माका विद्यार्थीहरुलाई नदोहोरिने गरी छात्रबृत्ति उपलब्ध गराउने एवम् अभिभावकबिहीन १४ बर्षमुनिका बालबालिकाहरुलाई गायत्री आश्रममा व्यवस्थापन गर्ने खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

इस्माले आगामी आर्थिक बर्षलाई पर्यटन बर्षका रुपमा मनाउने भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेका विभिन्न पर्यटकीय स्थलहरुलाई पालिकाभित्रका पर्यटकीय स्थलमा सूचीकरण गर्ने, इस्माकोट वरिपरिको स्थलमा आवश्यक संरचना निर्माण गर्ने एवम् परम्परागत नाच, भजन किर्तन र लोक संस्कृतिको प्रबद्र्धन गर्ने नीति सार्वजनिक गरिएको छ ।

यसका साथै गाउँपालिकाले जंगली जनावर नियन्त्रणका लागि पहल गर्ने, माटो परीक्षण सेवालाई वडास्तरमा पु¥याउने, किसानलाई कृषिजन्य सामग्रीमा ५० देखि ७५ प्रतिशत अनुदान दिने, अपाङ्गता भएका व्यक्तिलाई मौरी घार वितरण गर्ने, दर्लामचौरमा रहेको औद्योगिक ग्रामको पूर्वाधार विकास गर्ने, सेरामिक्स उद्योगलाई प्रबद्र्धन गर्ने, रासायनिक मल वितरणलाई टोल–टोलमा पु¥याउने, गणित र विज्ञान विषयको हकमा स्थायी अध्यापन अनुमती पत्र नभए पनि अध्यापन गर्न पाउने व्यवस्था मिलाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, ८० बर्षमाथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरुका लागि निःशुल्क प्रयोगशाला परीक्षण उपलब्ध गराउने, गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती पालिका एवम् खरका छानामुक्त पालिका घोषणा गर्ने, स्वास्थ्यसम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, युवाहरुलाई आवश्यकता र मागको आधारमा खेलकुद सामग्री उपलब्ध गराउने, ‘क’ वर्गको अपाङ्ग परिचय पत्र घरमै गएर उपलब्ध गराउने जस्ता नीति तथा कार्यक्रम इस्माले सार्वजनिक गरेको छ ।

 

पालिकाले पाँच लाखभन्दा कम लागतका योजनाहरु कुल बजेटको ३० प्रतिशत भन्दा कम राख्ने, पालिकाभित्रका सबै सडकहरुलाई मर्मत गर्ने, खेतीयोग्य जमिनमा हुने क्षतिलाई न्यूनिकरण गर्ने, आय–व्यय विवरण अर्को महिनाको ७ गतेभित्र सार्वजनिक गर्ने, आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने लगायतका कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष भगतसिंह खड्काले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

रामपुर ५ मा वडासभा सम्पन्न

0

सुशीला रेग्मी
असार५,२०८० पाल्पाःरामपुर नगरपालिका वडा नं ५ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम तथा योजना तर्जुमा सम्बन्धी वडा सभा सम्पन्न भएको छ ।

वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा वडा सभा भएको हो । वडाध्यक्ष पोखरेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमबारे सभामा जानकारी दिनुभएको छ । वडा सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रदेश सभा सदस्य श्रेष्ठले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर विकासको काम गर्ने र वडाले पनि सोही अनुसार योजना बनाएकोमा अबका दिनमा विकासका कामहरु देखिने बताउनुभएको छ ।

रामपुरको ५ नम्वर वडा नगरको केन्द्रमा रहेकाले विकास निर्माणलाई जोड दिदै समग्र नगरको देखिने र जनताले अनुभुती गर्ने खालको काम अहिलेको आवश्यकता रहेको प्रदेश सभा सदस्य श्रेष्ठले बताउनुभयो । ठुला योजना संचालन गरेर बिचमै अलपत्र छाड्नुभन्दा साना योजनाबाट पनि प्रतिफल लिन सकिने हुदा आत्मनिर्भर हुने गरी विकासको काममा प्रदेश सरकार र स्थानीय सरकारले मिलेर काम गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, नेकपा एमाले वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, नेपाल महिला संघका केन्द्रिय सदस्य पवित्रा पौडेल ढकाल, सावित्रा गौतम लगायतले बोल्नुहुदै रामपुरको वडा नं ५ नगरकै मुख्य भागमा रहेकोले विकास निर्माणका कामलाई नमुना, वडाको आवश्यकताका आधारमा कार्यक्रम छनौट गरी काम गर्न सुझाव दिनुभएको छ ।

कार्यपालिका सदस्य माया नेपालीले स्वागत र युवराज शाहीले धन्यवाद दिनुभएको कार्यक्रम निर्माणाधीन रामजानकी मन्दिरमा भएको हो । वडासभामा जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, टोल विकास समिति, पत्रकार, विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी लगायतको सहभागीता रहेको थियोे ।
कार्यक्रमको संचालन वडा सदस्य नरेन्द्रकुमार जर्घा र वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो ।

 

 

 

सीताराम माविमा ७२ औँ स्काउट स्थापना दिवस मनाइयो

0

सुशीला रेग्मी
असार ५,२०८० पाल्पाः सीताराम स्काउट टु«प रामपुर नगरपालिका वडा नं ४ पाल्पाले ७२ औँ स्काउट स्थापना दिवस कार्यक्रम मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिका शिक्षा अधिकृत विकल काफ्ले रहनुभएको । उहाँले स्काउट सम्बन्धी ईच्छा र चाहाना राख्ने अन्य विद्यालयमा पनि स्काउटका गतिविधि संचालन गरेमा अति प्रभावकारी हुने बताउनुभएको छ । आगामी कार्यक्रममा नगरबाट स्काउटका लागि विभित्र कार्यक्रम राख्ने नगर शिक्षा अधिकृत काफ्लेले बताउनुभएको छ ।

 

कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रअ बुद्धिप्रकाश रेग्मी, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, स्काउट सदस्य शिक्षक अस्मिता ढकाल, स्काउट ट्रुप लिडर विद्यार्थी सुस्मिता नेपाली लगायतले बोल्नुहुदै स्काउटले विद्यार्थीलाई अनुशासन, जोखिम कसरी समाधान गर्ने लगायतका विषयमा धेरै कुरा सिक्ने अवसर रहेको बताउनुभएको छ ।

 

विद्यार्थीले स्काउट सम्बन्धी साँस्कृतिक प्रस्तुति देखाएको कार्यक्रमको संचालन स्काउट शिक्षक सरस्वती श्रेष्ठले गर्नुभएको हो । रामपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयमा सीताराम माविमा पहिलो स्काउट समूह स्थापना भई स्काउट सम्बन्धी गतिविधि भईरहेका छन् ।

 

गत असार २ गतेबाट सुरु भएको कार्यक्रम आज विविध कार्यक्रम सहित समापन गरिएको हो । केलादीमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई फलफूल वितरण, विद्यालयमा हाजिरीजवाफ प्रतियोगीता, वृक्षारोपण लगायतका कार्यक्रम गरिएको छ ।

 

स्थानीय तहको नीति कार्यक्रम र बजेट

0

-पुष्कर खड्का

यतिबेला पालिकाहरु लाई नीति कार्यक्रम र बजेटबनाउने चटारो छ। कुल बजेट मध्ये सबै पालिकाको करिव ४० प्रतिशत बजेट प्रशासनिक क्रियाकलापमा खर्च हुन्छ। त्यस्तै बाँकी ६० प्रतिशत रकममध्ये क्रमागत परियोजनाहरूमा बजेट छुट्याउनुपर्छ भने केही प्रतिशत रकम बक्यौता भुक्तानीहरूमा समेत हुन सक्छ। यसरी हेर्दा सबै पालिकामा करिव २० देखि २५ % रकम बराबरका विकास योजनाहरू जनप्रतिनिधिहरूले सञ्चालन गर्न सक्ने देखिन्छ।धेरैजसो जनप्रतिनिधिहरूले पालिकाहरूले विगतमा नै प्रयोग गरिरहेको ढाँचा मुताबिक विगतका नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिने र एक दुईवटा आफूले चाहेका योजना समावेश गरेर नीति तथा कार्यक्रम ल्याएर त्यसैलाई वाचन गरी कार्यपालिकाबाट अनुमोदन गराइ कार्यान्वयन गर्ने प्रचलन छ जसले गर्दा न जनप्रतिनिधिहरूले केही नयाँ गरे भन्न सक्नुहुन्छ न त त्यस्ता कार्यक्रमले पालिकामा केही परिवर्तन नै ल्याउँछ।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ आदिले दिएका अधिकारहरूको अध्ययन गरेर निर्वाचन घोषणापत्र र विगतका सफल कार्यक्रमहरूको अध्ययन तथा अनुसन्धान गरेर सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेर समाजवाद उन्मुख समाज निर्माण गर्ने गरी नीति तथा कार्यक्रम ल्याउने अठोट गर्ने हो भने निश्चित रूपमा आमूल रूपान्तरणको जग बस्नेछ भने पालिकाबासीहरूले पनि आमूल रूपान्तरणको सुरु हुन लागेको महसुस गर्नेछन् र विकासमा जनप्रतिनिधिहरूसँगसँगै सहभागिता जनाउने छन्।

नेपालको संविधानले स्थानीय तहहरूलाई स्वायत्त निकायका रूपमा स्वीकार गरेको भए पनि स्वयम् संघ तथा प्रदेशहरूले स्थानीय तहलाई शाखा कार्यालयको रूपमा व्यवहार गरेका छन् र आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर विकास तथा प्रशासनिक कार्यहरूमा हस्तक्षेप गरिरहेका छन्।

संविधानले परिकल्पना गरेअनुसारको स्थानीय तहहरूलाई अधिकार सम्पन्न बनाउने हो भने संघीय तथा प्रदेश सरकारले विकास कार्यक्रमको अनुगमन तथा गुणस्तरको मूल्यांकन गर्ने र विकासको जिम्मेवारी स्थानीय तहहरूलाई जिम्मा लगाउने मात्रै पनि हो भने विकास बजेट २५ प्रतिशत वृद्धि हुन सक्छ र विकास बजेट पनि समयमा नै शतप्रतिशत खर्च हुन्छ। यस्तो भएमा सबै भन्दा महत्वपूर्ण कुरा भ्रष्टाचार निर्मूल भएर जान सक्छ।

स्थानीय तहहरूलाई अधिकार तथा स्रोत/साधन सम्पन्न गराउन आवश्यक पर्ने जनशक्ति तथा भौतिक पूर्वाधारहरूको व्यवस्था गर्ने वातावरण संघ तथा प्रदेशले गर्नुपर्ने देखिन्छ। स्थानीय तहहरूले पनि संघ र प्रदेशको अनुदानमा मात्रै भर पर्ने, प्राप्त अनुदानहरूलाई वितरणमुखी कार्यमा मात्रै खर्च गर्ने, स्थानीय गरिब नागरिकहरूलाई अनवाश्यक करको भारले डस्ने गर्दा स्थानीय तह र संघीयताप्रति नै नागरिकहरूको वितृष्णा बढ्दै गइरहेको छ।

स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकहरूलाई आवश्यक पर्ने न्यूनतम सेवा र सुविधाहरूमा करमुक्त बनाएर स्थानीय तहमा नै पुँजी विकासको आधारशीला तयार गर्ने गरी कार्यक्रम गर्नुपर्छ। नेपालका अधिकांश स्थानीय तहमा पर्याप्त मात्रामा जंगल, नदीनाला, पर्यटन व्यवसाय प्रवर्धनको संभावना तथा ऊर्वर भूमिको प्रचुरता छ। यसबाहेक सांस्कृतिक सम्पदा र धरोहरहरू पनि पर्याप्त मात्रामा छन्। यी सबै स्रोत र साधनलाई स्थानीय पालिकाको नेतृत्वमा प्रवर्धन गरेर पालिकाहरूले पर्याप्त आम्दानी गर्न सक्छन्।

नेपाल सरकारले नेपाल दूरसञ्चार वा नेपाल विद्युत् प्राधिकरण सञ्चालन गरेझैँ सबै पालिकाले पालिका, नागरिक र स्थानीय सहकारी एवम् आमा समूहहरूको संयुक्त लगानीमा पब्लिक लिमिटेड कम्पनीहरू स्थापना गरी क्रसर उद्योग, फर्निचर उद्योग, मिनरल वाटर उद्योग, खाद्य उद्योग, सुविधा सम्पन्न होटल, बैंक, डिपार्टमेन्टल स्टोर, छाला उद्योगहरू स्थापन गरी व्यवसाय प्रवर्धन गरेर सबै खाले प्राकृतिक स्रोत र साधन, सांस्कृतिक सम्पदा, सौन्दर्य मूल्य आदिमा सबै नागरिकको स्वामित्व सुनिश्चित गरी सबैले बराबर मुनाफा प्राप्त गर्न सक्ने गरी ऐन, कानुन तथा संयन्त्र निर्माण गरी पालिकाबासीको आत्मगौरव र नियमित आयआर्जनको स्रोत सुनिश्चित गर्न सक्नुपर्छ।
धेरैजसो खरिद र बितरण मुखी कार्यक्रम कम ल्याउने ,इन्धन दुरुपयोग र अनावश्यक बिज्ञापन रोक्ने ,कृषि औजार वितरण पश्चात् सन्चालन भए नभएको अनुगमन गर्ने ,शैक्षिक गुणस्तर वृद्धि गर्न प्रभावकारी अनुगमन गर्ने ,महिला ,एकल महिला ,दलित र न्युन आम्दानी भएकालाइ न्युनतम रोजगारी प्रदान गर्ने ,कृषिपेसा मा सुनिश्चितता भए पछि अनुदान वा सकभर बिना ब्याज ऋणको ब्यबस्थागर्ने ,बजारीकरण र बिमा ,स्वास्थ्य मा गुणस्तर सुधार ,उपकरण थप र खानेपानी को ब्यबस्था गर्ने जस्ता न्यूनतम कार्यक्रम समाबेस गर्नुपर्छ।

स्थानीय सरकारका जनप्रतिनिधिले विकास, सुशासन, जिम्मेवारी र जवाफदेहितामा नयाँ प्रवाह विकास गर्न सक्नुपर्छ। नयाँ सोचको विकास गरेर मात्रै काम र थिति बसाल्न सकिन्छ। विगतको अनुभवले सिकाएको छ–अलमल र द्विविधामा थाहै नपाइ समय बित्न बेर लाग्दैन।

त्यसकारण प्रत्येक पल र मिनेटको महत्व बुझेर नागरिक, पालिका र देशलाई केन्द्रविन्दुमा राखेर आफूलाई भोट हालेका नागरिक र पालिकाबासीको आत्मसम्मान सुनिश्चित हुने गरी प्राथमिकतामा आधारित योजनाबद्ध तरिकाले विकास गतिविधिहरू सञ्चालन गर्न सबै पालिका सरकारहरूलाई शक्ति प्राप्त होस्।