Friday, June 5, 2026

पहिरो खस्दा घाँस काटन गएका दुईको मृत्यु

0

साउन १५,२०८० रुकुम : रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो।

पहिरोमा परी एक जना घाइते भएका छन्। आइतबार दिउँसो पौने ३ बजेतिर घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्य भएको हो ।

त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छन्। खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्टराईले बताए। घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ।

तीनै जना करिब पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आज साउन १५ ,भारी वर्षा

0
फाइल फोटो

साउन १५,२०८० काठमाडौं : आज साउन १५ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्ष भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विद्यार्थीलाई पर्यटकीय क्षेत्रको अवलोकन गराउँदै रामपुर आधारभुत

0

सुशीला रेग्मी
साउन १५,२०८० रामपुर(पाल्पा) : पाल्पाको रामपुर नगरपालिका ५ स्थित मटेरीमा रहेको रामपुर आधारभुत विद्यालयका शिक्षक विद्यार्थीको समुहले रामपुर नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई अवलोकन भ्रमण गराइएको छ ।

 

अवलोकन टोलीले रामपुर नगरपालिका वडा नं ६ मा रहेको पर्यटकीय ज्याग्दी पार्क, बाघको ढाड, तालपोखरा लगायतका क्षेत्रको अवलोकन गरेको प्रधानाध्यापक विजय शर्माले जानकारी दिनुभएको छ । साथै रामपुर अस्पतालमा विद्यार्थीको स्वास्थ्य परिक्षण समेत गराइएको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।

“सैद्धान्तिक ज्ञानका अलवा आफ्नै गाउँ ठाउँमा रहेका पर्यटकीय, धार्मिक क्षेत्रको बेला–बेलामा अवलोकन गराउने गरिएको छ” उहाँले भन्नुभयो,–“यस कार्यले विद्यार्थीले पनि आफ्ना गाउँ ठाउँमा भइरहेका विकास निर्माणको बारेमा धेरै जानकारी पाउनेछन्”।

अवलोकन भ्रमणले धेरै कुरा सिक्ने अवसर पाउँदा विद्यार्थीहरु खुशी छन् । रामपुरको नमुना विद्यालयका रुपमा चिनिएको यस रामपुर आधारभुत विद्यालयले विद्यार्थीको मनोभावना बुझेर समयानुकुल शिक्षा प्रदान गर्दै आइरहेको छ । अवलोकन भ्रमण टोलीमा ७९ विद्यार्थी र १३ जना शिक्षक कर्मचारीको सहभागीता रहेको विद्यालयले जनाएको छ ।

गुल्मीमा करिव ५ सय रोपनी जग्गामा चक्लाबन्दी खेती

0
फाइल फोटो

अनिल खत्री
साउन १४,२०८० गुल्मी :गुल्मीमा वषौंदेखि बाझिँदै गएको जग्गामा चक्लाबन्दी खेती शुरु गरिएको छ । चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने, लागत, समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने अपेक्षा गरिएको छ ।

गुल्मी जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ५४८ रोपनी बाँझो जग्गामा समुह सहकारी मार्फत चक्लाबन्दी मार्फत व्यवसायिक रुपमा कफी, सुन्तला, कागती लगायत खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना कार्यालयको सहयोगमा धुर्कोट २ पिपलधारामा सुभसन्देश उपभोत्ता सहकारी संस्थाका १२ जनाले बाँझो ६० रोपनी जग्गामा सुन्तला खेतीे, मदाने गाउँपालिका ६ पुर्कोटदहमा कंकेदेउराली बिउँ उत्पादन समूहका २३ जनाले ६८ रोपनी बाँझो जग्गामा सुन्तला खेती सुरु गरेका छन् ।

 

त्यस्तै सत्यवती गाउँपालिका वडा नम्वर४ को लिम्घामा सत्यवती कृषक समूहका ९ जनाले १०० रोपनीमा कागती खेती शुरु गरिएको छ । कालीगण्डकी गाउँपालिका ३ मा हिमालयन कृषि तथा पशुपन्छी फर्मले २०० रोपनी जग्गामा कफी खेती र रेसुङगा नगरपालिका ४ मा १ सय ३० रोपनीमा कागती सुन्तला खेती गरिएको छ ।

कृषि यन्त्रहरुको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत अर्थात १२ लाख रुपियाँ उपलध गराइने छ । ५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने छ । जसमा स्थानीय तहको पनि लगानी रहने छ ।

फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवाहरु लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवाहरु रोपण गरिएको छ । कलमी सुन्तलाका बिरुवाहरुले करिव तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने र कफीका बिरुवाहरुले पाँच वर्षमा उत्पादन दिन सुरु गर्छ । गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा पाँच वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ । गतवर्षको चक्लाबन्दीमा यस वर्ष साना सिंचाइमा कार्यालयले सहयोग गरेको छ ।

गुल्मीमा आठ हजार बढी राष्ट्रिय परिचयपत्र प्रशासनको खातमा , ७५१ नागरिकको हातमा

0
तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विवरण दर्ता गराउँदै कार्यको शुभारम्भ गर्दै।

तिलाचन पाण्डे
साउन १४,२०८० गुल्मीःजिल्ला प्रशासन कार्यलय गुल्मीमा आठ हजार ७४ राष्ट्रिय परिचयपत्र बनेर आए पनि परिचयपत्र लिन आउनेको सङख्या भने न्यून रहेको पाइएको छ ।

२०७६ साल असार ३२ गते तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
ज्ञवालीले विवरण दर्ता गरेर शुभारम्भ भए पश्चात जिल्लाका १२ वटै स्थानीय तहमा अभियान मार्फत विवरण दर्ता भएको थियो ।

सोही अभियान र जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता भएका मध्ये दूई पटक गरी गत बैशाखसम्म आठ हजार ७४ जनाको परिचयपत्र बनेर आएपनि ७५१ जनाले मात्र परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

परिचयपत्र बनेर आएको र लिन आउनुहोस भन्ने म्यासेज सम्बन्धित ब्याक्तिको मोवाइल नम्वरमा गएपनि लिन आउनेको सङख्या भने न्यून रहेको उनको भनाई छ । विवरण दर्ता गर्दा राखिएको मोवाइल नम्वरमा म्यासेज गएको बताउँदै गैरेले यसको महत्व नबुझेर पनि लिन नआएको हुन सक्ने गैरेले बताए ।
कतिपयको तत्कालिन समयमा दिइएको मोवाइल नम्वर नभएको ,सम्बन्धित ब्यक्तिको मृत्यु भएको ,देशभन्दा बाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुन सक्ने गैरेको भनाई छ ।


परिचयपत्र लिनका लागि सम्बन्धित ब्यक्तिनै आउनुपर्ने र फिङगर प्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भएपनि अरु कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ ।


जिल्लामा हालसम्म एक लाख ७९हजार ६४८ जनाले विवरण दर्ता गराएका छन् ।
राष्ट्रिय परिचय पत्र लागु भइसकेपछि विभिन्न सरकारी एवम अन्य सेवा सुविधासंग आवद्ध गरी नागरिकलाई ई—सर्भिस गराउन सकिनेछ ।

सार्वजनिक सेवा सुविधा ई—सर्भिस संग आवद्ध भई पेपरलेस सेवा सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । सुरक्षित , आधिकारीक तथ्यांक र विवरण सहितका सेवाहरु सहजरुपमा पाउन सकिने छ । जसबाट कर, राजश्व छली लगायका आर्थिक अनियमितामा नियन्त्रण हुने, तथा बैदेशिक रोजगारको क्षेत्रलाई समेत सुशासित तुल्याउन टेवा पुग्ने, मुलुकमा सुशासन कायम हुने विश्वास लिइएको छ ।

 

 

 

 

गुल्मीमा कुलो खन्दा तीन जना घाइते

0

साउन १४,२०८० गुल्मीः गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर दूईको चेहमी सिंचाई कुलोमा कुलो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा सोही वडाका ६८ वर्षीय भगवती कुँवर,वर्ष ४६ की लक्ष्मी दर्जी र ४१वर्षकी प्रेमकला कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

घाइतेहरु तीनै जनाको खुट्टा र शरीरका अन्य भागहरुमा चोट लागेकाले पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चन्द्रकोटको पर्यटकीय क्षेत्रमा चियाका बिरुवा रोपण (फोटो फिचर)

0

साउन १२,२०८० गुल्मीःगुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले झुलेनी पर्यटन क्षेत्र तथा चिया संरक्षण तथा व्यवस्थापन समितिले चियाका बिरुवा रोपण गरेको छ ।

 

झुलेनी पर्यटन क्षेत्रमा सौन्दर्यीकरण अभिवृद्धि गरि आन्तरीक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले वडा नम्बर ५ ग्वाघामा चियाका बिरुवा रोपण गरिएको हो ।

समुन्दी सतह देखि करिब १४ सय मिटर अग्लो स्थानमा चियाको सम्भावता अध्ययनका लागी समेत सहयोग पुग्ने छ । गाउँपालिकामै चियाको पाईलट प्रोजेक्टका रूपमा यस क्षेत्रमा करिब ५ सयभन्दा बढी चियाका बिरुवा रोपिएको हो ।
चिया तथा कफि विकास बोर्डको सुझाव बमोजिम उचाइमा हुने अर्थोडक्स प्रजातिको चियाका बिरुवा रोपिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । उहाँले प्राविधिकले भने अनुसार परिक्षणका लागी चियाका बिरुवा रोपण गरी राम्रो भए थप क्षेत्रमा बिस्तार गरिने बताउनुभयो ।

व्यवसायिक तथा सौन्दर्य वृद्धि हुनाले यो नवीनतम कार्यको सुरुवात गरिएको बताउनुभयो ।    बिरुवा रोपेरा मात्र नहुने भएकाले त्यसको संरक्षण तथा हेरचाह गर्न पनि आवश्यक रहेकोले निरन्तर रुपमा गाउँपालिकाले साथ दिने र स्थानीयले पनि संरक्षणमा हातेमालो गरेर अगाडी बढ्ने गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

भ्रष्टाचार विरुद्धको अभियानमा गुल्मीबाट अनेरास्ववियु क्रान्तिकारीद्धारा ६०४ जनाको हस्ताक्षर प्रधानमन्त्रीलाई

0

साउन१२,२८० गुल्मीः भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समन्वय समिति गुल्मीले बृहत नागरिक हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।

 

‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचार विरुद्ध नागरिक हस्ताक्षर’ भन्ने नाराका साथ संगठनले बुधबार रेसुङ्गा बहुमुखी क्याम्पस र जिल्ला प्रशासन कार्यालय अगाडी लाकुरीमञ्चमा हस्ताक्षर अभियान संचालन गरेको हो । क्याम्पसमा विद्यार्थी एवम् प्रध्यापकहरुको गरी ९७ र लाकुरीमञ्चमा पार्टीका जिल्ला एवम् स्थानीय नेता, कार्यक्रता एवम् सर्वसाधारणहरुको ५०७ गरी कुल ६०४ जनाको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो ।

 

संगठनका जिल्ला अध्यक्ष राजन पोखरेलका अनुसार सरकारले नक्कली भुटानी शरणार्थी काण्डदेखि एक सय किलो सुन पक्राउ गर्नेसम्मको जनमुखी काम गर्दापनि केही दलका नेता र सरकारका जिम्मेवार पदाधिकारीहरुले नै गृहमन्त्री एवम् अर्थमन्त्रीको राजिनामा माग्ने गरेकोले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि हस्ताक्षर अभियानमार्फत सरकारलाई समर्थन पत्र बुझाइएको हो ।

समर्थन पत्र ग्रहण गर्दै सहायक–प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले कार्यालयमा प्राप्त भएको पत्र र समर्थन जस्ताको त्यस्तै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गरे ।

आज रक्तसञ्चार दिवस

0

साउन १२,२०८०काठमाडौं : ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ। २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको दिनको सम्झनामा रक्तसञ्चार दिवस मनाइँदै आएको छ।

रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन्। केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए। केन्द्रको गत वर्षको तथ्याङ्कअनुसार नेपालमा वार्षिक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ। मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिए।

‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ। अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन्। त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन्।

आज दिनभर पानी पर्ने संभावना छैन

0
फाइल फोटो

साउन १२,२०८० काठमाडौँ : हाल नेपालमा मनसुनी वायुका साथै भारतको उडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका केही स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ ।