Saturday, June 6, 2026

गुल्मीमा आगलागीबाट गोठ जलेर नष्ट

0

मंसिर २७,२०८० गुल्मीः गुल्मीमा आगलागीका कारण जस्ताले छाएको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

गएराती  गुल्मीदरबार गाउँपालिका वडा नम्वर ६ भलायचौरका नारयण खड्काको काठले बनेको र जस्तापाताले छाएको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

गोठमा आगलागी हुँदा एक लाख पचास हजार रुपियाँ बराबरकको क्षती भएको र आगलागी कारण खुल्न नसकेको पाण्डेले बताए । गोठमा घाँस र काठहरु रहेको थियो ।

आगोलाई स्थानीय र प्रहरीको साथमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अभियानले कार्यकर्तामा नयाँ रक्तसंचार पैदा गरेको छ : माओवादी केन्द्र गुल्मी

0

मंसिर २५,२०८० गुल्मीः नेकपा माओवादी केन्द्र गुल्मीले संचालन गरेको अभियानले कार्यकर्ताहरुमा थप उर्जा पैदा भएको जनाएको छ ।

जनजनमा माआवादी घरघरमा माओवादी विशेष रुपान्तरण अभियानले जनतामा थप उर्जाका साथ जोश र जाँगर पैदा भएको जिल्ला सचिव अशोक थापाले जानकारी दिए । २०६४ सालपछि माओवादीमा जोडिएका असल कार्यकर्ताहरुका लागि पार्टीको नीति,सिद्धान्त र कार्यकर्तामा नयाँ रक्तसंचार पैदा गरेको छ भने पुराना पूर्णकालिन कार्यकर्ताका लागि थप आत्म विश्वासका साथै पुर्नताजगी पैदा भएको थापाले बताए ।

 

दर्शनशास्त्र, अर्थशास्त्र ,संघीयता,पार्टी र सत्ता, संगठन, पार्टीको वर्तमान नीति तथा कार्यक्रम ,नेपाल सहित विश्व कम्युनिष्ट आन्दोलनको इतिहास सहितका विषयमा क्रमश नेकपा माओवादीका केन्द्रिय सचिव हितमान शाक्य, स्थायी समिति सदस्य जोखबहादुर महरा,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, पोलिटब्युरो सदस्य जगप्रसाद शर्मा,केन्द्रिय सदस्यहरु कमल चुँदाली, भविस्वर तिवारी,निमाकान्त डाँगीले स्कुलिङ दिएका थिए ।


यस्तै अभियानमा लुम्बिनी प्रदेश सह सचिव पार्वती बिक , जिल्ला संयोजक युवराज केशी, सचिव अशोक थापा,प्रदेश सदस्य ज्ञानकुमार बुढा, प्रदेश परिषद सदस्यहरु, रामचन्द्र कंडेल, पदम पाण्डेलगायतकाले स्कुलिङ दिएका थिए ।

धुर्कोट,मालिका,मदाने रेसुंगा ,मुसिकोट ,गुल्मीदरबार , छत्रकोट ,रुरुक्षेत्र, कालीगण्डकी, चन्द्रकोट र सत्यवतीमा अभियानात्मक रुपले संचालन गरी सम्पन्न भएको थापाले बताए ।

पार्टीले रचानात्मक कार्य गर्ने

मंसिर २५ देखी पुस २० गतेसम्म पार्टी सदस्यता नविकरण सम्पन्न गर्ने, निश्कृय वार्ड कमिटिहरुको भेला, पुर्नगठन , सेल कमिटिहरु गठन गर्नुका साथै पुस ५ देखी स्थानीय कमिटि सहित जनपरिचालन गरी रचानात्मक सामाजिक कार्यहरु जिल्लाका १२ वटै स्थानीय तहमा गर्ने गरी कार्यतालिका बनाएको पार्टीले जनाएको छ ।

पेस्तोलसहित रुपन्देहीमा एकजना पक्राउ

0
सांकेतिक तस्बिर

मंसिर २५,२०८०रुपेन्देही :सशस्त्र प्रहरी बलले रूपन्देहीको सियारीबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।

सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा राति पौने ११ बजे पेस्तोलसहित स्थानीय अमेरिका थारुलाई पक्राउ गरेको हो।

उनको साथबाट अन्दाजी ६ मिमि राउण्ड लाग्ने रिभल्वर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान मोबाइल सेट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

पक्राउ परेका थारु र पेस्तोलसहित अन्य सामग्री आवश्यक कारबाहीका लागि राति नै इलाका प्रहरी कार्यालय, छपियामा बुझाइएको सशस्त्रले जनाएको छ।

निश्पक्ष रुपमा पत्रकारीता गर्न सुझाब

0

तिलाचन पाण्डे
मंसिर २३,२०८० गुल्मीः निश्पक्ष रुपमा पत्रकारीता गर्न सरोकारवालाहरुले सुझाब दिएका छन् ।
सदरमुकाम तम्घासमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको पत्रकार आचार संहिता, जागरण कार्यक्रममा सरोकारवालाहरुले पत्रकारहरुलाई निश्पक्ष रुपमा पत्रकारिता गर्न आग्रह गरेका हुन् ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले पछिल्लो समयमा स्वतन्त्रताका नाममा छाडातन्त्र बढी भएको भन्दै नियमन गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारहरु पनि राजनीतिक दलको झण्डा बोकेर हिड्ने र राजनीतिक प्रभाव बढी भएकाले निश्पक्ष रुपमा पत्रकारिता हुन नसकेको गुनासो गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई थप ब्यबस्थित गर्नका लागि आचार संहिताको पूर्ण पालना गर्न र सन्तुलित रुपमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले पत्रकारिता क्षेत्रमा केही विकृतिहरु देखा परेकाले त्यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । नेपालका कतिपय मिडियाहरुले सत्य तथ्य भन्दा पनि आर्थिक लाभका लागि मिडिया संचालन गर्ने गरेको भन्दै त्यस्ता मिडियाहरुलाई नियमन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेले युटुवर र पत्रकारहरुलाई एउटै डालोमा राखेर हेर्न नहुने बताउनुभयो । केही युटुबरहरुका कारण आम संचार माध्यमहरुलाई हेर्ने दृष्टिकोण एउटै भएकाले त्यसलाई प्रेस काउन्सिलले नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न संचारमाध्यममा काम गर्ने पत्रकारहरुले पारिश्रमिक नपाएको समयमा पारिश्रमिक दिनका लागि काउन्सिलले पहल गर्नुपर्नेमा यहाँका संचारकर्मीहरुले जोड दिएका छन् ।
जिल्लामा पत्रकारिताको अवस्था र पत्रकारहरको बारेमा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी गराउनुभएको थियो । प्रेस काउन्सिलका वोर्ड सदस्य तथा पत्रकार ठाकुर बेल्वासेले आचार संहिता र बर्तमान अवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

काउन्सिलका बोर्ड सदस्य सरदप्रसाद अधिकारीले काउन्सिलले आचार संहिता पालनाका लागि अनुगमन र नियमन गर्ने बताउनुभयो । कहिँकतै आचार संहिता विपरीतका कार्यहरु आफूहरुकोमा लिखीत र मौखिक रुपमा पनि आउने गरेकाले त्यसलाई नियमन गर्नमा काउन्सिल लाग्न बताउनुभयो । सरकारलाई कानून निर्माण गर्नका लागि पनि काउन्सिलले सहयोग गर्ने भएकाले सुझाबका रुपमा कार्यालयले काम गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाज , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो ।

अस्पतालले मृत्यु प्रमाणपत्र बनाएर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीवितै

0

मंसिर२५,२०८० इटहरी : अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवितै पाइएको हो ।

प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोश भएका थिए।

उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती सीता सदाले बताइन्।

शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपृयाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याएको समाजसेवी राजेन्द्र पोख्रेलले बताए ।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनलाई जीवित पाएको समाजसेवी कटुवालले जानकारी दिए।

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

0

मंसिर २४,२०८० अर्घाखाँची : अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी ९पश्चिम० रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए।

गुल्मीमा माबी स्तरीय फुटबल प्रतियोगिता हुँदै

0

मंसिर २३,२०८० गुल्मीः गुल्मीमा ३५ हजार राशिको पुरुष फुटबल प्रतियोगिता हुन लागेको छ ।

जिल्लाको फोर्टिन स्टार युवा क्लवले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा आगामी पौष ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रमबारे आज शनिबार गुल्मीको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको यज्ञशाला मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

प्रतियोगितामा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् । ‘चौथो फोर्टिन स्टार कप–२०८०’ नाम दिइएको उक्त प्रतियोगिता गुल्मी सदरमुकाम तम्घासको चिदिचौरमा हुने क्लवका अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार र द्धितिय हुनेलाई २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । आयोजकले आज नै प्रथम र द्धितियका ट्रफी समेत सार्वजनिक गरेको छ ।

प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थी खेलाडीहरुले अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको मार्कसिटको प्रतिलिपी उपलब्ध गराउनुपर्ने, खेलाडी अनिवार्य रुपमा पोशाकमा उपस्थित हुनुपर्ने लगायतका नियम पनि आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगितामा खेलाडीलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत गरिने क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए ।

आगलागी परी मृत्यु हुनेको संख्या ३ पुग्यो

0
सांकेतिक तस्बिर

मंसिर २१,२०८०विराटनगर : विराटनगर महानगरपालिका–७ को सातघुम्तीमा रहेको कबाड गोदाममा बुधबार दिउँसो आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

दुई जनाको घटानस्थलमै र एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

दीपक मण्डल र सुनिता कामतको घटनास्थलमै मृत्यु भएको र सुशिला पासवानको उपचारका क्रममा किर्तिपुरको वर्न अस्पतालमा गएराति ८ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

घाइतेमध्ये रीता सरदारको अवस्था गम्भीर रहेको र किशोर पासवान र पिंकी कामतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ

एमाले बाहेक कसैले देश बनाउँन सक्दैन :ओली

0

टोपलाल अर्याल
गुल्मी, २० मंसिर :नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमाले बाहेकले देश बनाउन नसक्ने बताएका छन ।

एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग राष्ट्रिय समृद्धि यात्राको सन्दर्भमा गुल्मीको वामी आएका ओलिले नेकपा एमालेको एकल बहुमत बिना समृद्ध नेपाल निर्माण असम्भव भएकाले जनभावना बुझ्न् यो समृद्ध यात्रा सुरु गरिएको बताए ।

आफुले यात्राका क्रममा एमाले प्रति जनताको उर्जा व्यापक भएकाले मिसन ०८४ का लागि योजनाबद्ध रुपमा काम गर्न एमाले निकट कमिटी र नेताकार्यकर्तालाई आग्रह गरे । एमाले काम गर्ने पार्टी र देशमा समृद्धिको संभावना भएकाले देशका कुनाकाप्चाका जनताको समस्या, बिकासको अवस्था र सरकारका कामका बारेमा बुझ्ने मौका समृद्ध संकल्प यात्राले दिएको ओलिले बताए ।

 

त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलिले भुकम्पको अवस्था समेत बुझने मौका मिलेकाले राहत र पुनर्निर्माणमा सरकारको लज्जास्पद स्थिति रहेको बताए । उनले सामान्य पालमा सुत्केरी, शिशु र वृद्धबृदाको अबस्था कन्तबिजोक अबस्थामा रहेकाले सरकारले काममा तिब्रता दिनुपर्ने बताउँदै भुकम्पमा अस्थायी आवास निमार्ण र भग्नावषेस हटाउन खटिएका एमाले स्वमसेबकले गरेको काम निकै उदाहरणीय रहेको भन्दै प्रसंशा ब्यत्त गरे ।

भूपु सैनिक राईजिङ्ग स्कुलको रजत महोत्सव सम्पन्न

0

सुशीला रेग्मी
मंसिर २०,२०८० पाल्पाःभूपु सैनिक राईजिङ्ग ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाले विद्यालय स्थापनाको २५ औँ वर्ष पुरा गरेको अवसरमा रजत महोत्सव मनाएको छ ।

पूर्वी पाल्पाको रामपुर नगरपालिका वडा नं ५ मटेरीमा संचालित यस विद्यालयले रजत महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको रजत महोत्सव समारोहको उद्घाटन भारतीय राजदुतावास भूतपूर्व सैनिक कल्याणकारी शाखाका सहायक सैनिक सहचरी मेजर नविन जानुले गर्नुभएको हो । रजत जयन्तीको अवसरमा निर्माण गरिएको रजत स्तम्भ अनावरण, भूपु सैनिक रजत स्मारिका विमोचन गर्नुहुदै उहाँले नेपालको विकासमा भारतले सहयोग गरिरहेको र आगामी दिनमा पनि साथ र सहयोग रहने बताउनुभयो । उहाँले सुरुवाती समयमा चुनौतीका विच पनि सञ्चालन भएको विद्यालयले २५ वर्षको समयमा महत्वपूर्ण उपलब्धी हात पारेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले रामपुर क्षेत्रको शिक्षाको विकासमा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले भूतपूर्व सैनिकहरुले अवकास पश्चात आफ्नो कर्मभूमिमा शिक्षाको विकासको लागि दिएको योगदानको प्रशंसा गर्नुभयो । लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले शिक्षालाई श्रम र संस्कारसंग जोड्न नसकिएको हो कि भन्ने अनुभुती पछिल्लो समय खड्किएको बताउनुभयो । दक्ष जनशक्ति रोजगारी सृजना हुन नसक्दा पलायन हुने क्रम बढ्दै गएको बताउँदै संस्कार र सीप सहितको शिक्षा अबको आवश्यकता भएकाले यसप्रती गम्भीर रुपमा चिन्तन गर्ने समय आएको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं विद्यालयका पूर्व प्रिन्सिपल कपिलबहादुर खाँणले समय अनुसारको शिक्षा दिनुपर्ने समय आएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, प्याव्सन लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्दप्रसाद पौडेल, प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, विद्यालयका पूर्व प्रिन्सिपल ध्रुव पोखरेल, प्याव्सन केन्द्रिय कार्यसमितिका निवर्तमान सह–कोषाध्यक्ष मीनप्रसाद बञ्जाडे र अभिभावक पुरुषोत्तम केसीले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक अनेरी क्याप्टेन रोमनबहादुर रानाले भूतपूर्व सैनिकहरुको पहलमा शिक्षाको ज्योती छर्नको लागि विद्यालय स्थापना गरिएको बताउनुभयो । विद्यालयका प्रिन्सिपल गोपि सिग्देलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुुत गर्नुहुदै शैक्षिक गुणस्तर, खेलमैदान, अतिरिक्त क्रियाकलाप, खानेपानी, शौचालय तथा भौतिक पूर्वाधारमा जोड दिइएको बताउनुभएको छ ।

विद्यालयका संस्थापक, पूर्व प्रिन्सिपल, शिक्षक तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले निर्माण गरेको सामाग्री तथा साँस्कृतिक कार्यक्रमले दर्शक तथा पाहुनालाई आकर्षित गरिरहेको थियो । विद्यालयका सहायक प्रिन्सिपल कमल शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरिप्रसाद भट्टराई र राधिका क्षेत्रीले गर्नु भएको हो । रजत महोत्सव समारोह सुरु हुनुअघि रामपुर बेझाड बजारमा ¥याली निकालिएको थियो ।