Saturday, June 6, 2026

निजामती कर्मचारी युनियन गुल्मीले ३३ औं स्थापना दिवस मनायो

0

गुल्मी, १९ भदौ / नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । युनियनले ३३ औं स्थापना दिवस शनिबार र आइतबार विभिन्न कार्यक्रम गरि मनाएको हो ।

‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मूलमन्त्रसहित निजामती सेवामा रहेका युनियनकर्मीहरुले सत्यवती गाउँपालिकाको अस्लेवा रुद्रवेणीमा रहेको रामन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रममा शनिवार सामाग्री वितरण, दिवा खाना र निःशुल्क स्वास्थ्य परिक्षणको कार्यक्रम गरेका थिए । त्यस्तै युनियनकर्मीहरुले आइतबार जिल्ला सदरमुकाम तम्घासस्थित बालमन्दिरमा औपचारीक कार्यक्रम गरेका छन् ।

कर्यक्रममा युनियनकर्मीका सन्ततीमध्ये माध्यमिक शिक्षा परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउनेलाई निजामती शैक्षिक उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत युनियनकर्मी मेघप्रसाद पोखरेलका सुपुत्र बालकृष्ण पोखरेलले माध्यमिक शिक्षा परिक्षामा रेसुंगा माध्यमिक विद्यालयबाट ३.५४ जिपीए प्राप्त गरेकोमा पुरस्कार वितरण गरिएको थियो । त्यस्तै संस्थागत तर्फ गण्डकी बोडिङका रेसुंगा नगरपालिकाको १ नम्बर वडा कार्यालयमा कार्यरत युनियनकर्मी पार्वती भण्डारीका सुपुत्र प्रशस्त भण्डारी ३.८ जिपीए ल्याई सर्वोत्कृष्ट भएकोमा पुरस्कार प्रदान गरिएको थियो । उनीहरु दुवैलाई नगद २ हजार ५ सय पुरस्कारसहित सम्मान गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले बताए ।

कार्यक्रममा निजामती सेवाबाट अवकाश भएका युनियनकर्मीहरुलाई सम्मान गरिएको थियोे । नवआगन्तुक युनियनकर्मीलाई स्वागत गरिएको थियोे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, नेपाली काँग्रेस गुल्मीका सभापति तथा रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, अन्य युनियनकर्मी, नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भीमप्रसाद खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपाध्यक्ष खिमराज पोखरेलको स्वागत मनतब्य तथा युनियनकर्मी डिबी थापाको संचालन रहेको थियो । नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको भदौ १९ स्थापना दिवस हो । सबै निजामती कर्मचारीहरुको सामहुहिक भदौ २२ मा नेजामती सेवा दिवस मनाइन्छ ।

स्वयंसेविका लीला थापा युनाटेड इमेजिङ हेल्थ अवार्डबाट सम्मानित

0

अजय खड्का
भदौ १९,२०७९ गुल्मीःस्वयंसेविका लीलाथापाले गत वर्ष माघ महिनाको १४ गते पहिलोपटक एक वृद्धालाई बोकेर कारोना भाईरस विरुद्धको खोप लगाउन लैजादै गर्दाको फोटो फेसबुकमा पोष्ट भयो। त्यो बेला देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको थियो। त्यसपछि निरन्तर चर्चामा रह्यो उक्त तस्बिर। त्यही कारण उनलाई धेरैले चिने। धेरैतिर स्वयंसेविकाको रुपमा उनको चर्चा भयो।

उनै स्वयंसेविका थापालाई यस वर्षको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९ प्रदान गरिएको छ। स्वास्थ्यखबरपत्रिकाले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजित हेल्थ अवार्ड समारोहमा थापालाई कोभड च्याम्पियन स्वयंसेविकाका रुपमा अवार्ड प्रदान गरेको हो।कोभिडको समयमा सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्‍याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गरिएको हो। सम्मानित हुनेहरुमा स्वयमसेविकादेखि चिकित्सकसम्म रहेका छन्।

महिला स्वास्थ्य स्वयंसेविकातर्फ गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं। ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापा सम्मनित भएकी छन्।काठमार्डौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त अवार्ड प्रदान गरेका हुन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा लगाएतको उपस्थिती रहेको थियो। कोभिड महामारीको जोखिममासमेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गरिएको हो।

युनियन लाइफ गुल्मीद्धारा मृत्यु दाबी वापतको १० लाख ३७ हजार ३७५ रुपैयाँको चेक हस्तान्तरण

0

मुना बस्याल
भदौ १८,२०७९ गुल्मी : युनियन लाइफ इन्सोरेन्स गुल्मीमा दुई वर्ष अगाडि सावधिक बीमा गराउनु भएका इश्मा गाउँपालिका वडा नम्वर २ का सुरज जोशी कुँवरको निधन भयो ।

उहाँले युनियन लाइफ इन्सोरेन्स गुल्मीमा पाँच लाखको सावधिक बीमा गर्नुभएको थियो । उहाँले कम्पनीमा दुई किस्ता मात्रै तिर्नुभएको थियो ।

उहाँको निधन भएपश्चात युनियन लाइफ इन्सोरेन्स कम्पनीले उहाँको मृत्यु दाबी वापतको १०लाख ३७ हजार ३७५ रुपैयाँको चेक उहाँकी धर्मपत्नी गंगा जोगी कुँवरलाई हस्तान्तरण गरेको छ ।

युनियन लाइफ इन्सोरेन्स कम्पनीका एरिया शाखा प्रमुख जुना कुँवरले गंगा जोगी कुँवरलाई मृत्यु दाबी वापतको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेको तम्घास शाखा प्रमुख अन्जु पुनले बताउनुभयो ।

चेक हस्तान्तरण गर्दै कुँववरले जीवन अमुल्य रहेकाले समयमै बीमा गरी जीवन सुरक्षित गर्न पनि आग्रह गर्नुभएको छ ।

सुरज जोगी कुँवरको मृत्यु दाबी वापतको पाँच लाख,दुर्घटना मृत्युदाबी वापत पाँच लाख,वोनस वापत एक हजार ६२५,र अन्तरिम वोनस वापत ३५ हजार ७५० गरी १० लाख ३७ हजार ३७५ रुपैयाँको चेक गंगा जोगी कुँवरलाई हस्तान्तरण गरिएको अन्डर राइटिङ निरु थापाले जानकारी दिनुभयो ।

ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

0

भदौ १८,२०७९ललितपुर : ललितपुर महानगरपालिका वडा नं २५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्नुहुने स्थानीय एवं समाजसेवीलाई आज सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गर्नुभएको हो ।

खोकना डोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूमाफीयाले व्यक्तिका नाममा लैजाने प्रयास गरेपछि मन्त्री भुसालको अगुवाईमा १०४ जनाको संरक्षण समिति बनाएर सामुहिक ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । संरक्षण समितिका सदस्यको सक्रिय पहलमा जिल्ला अदालत र पुनरावेदन अदालतले समुदायको नाममा समर्पित जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेपछि सो जग्गा छ्यासिकोट सामुदायिक स्वास्थ्य भवन संरक्षण समितिको नाममा अर्थात सार्वजनिक रुपमा कायम भएको छ ।

सो अवसरमा समितिका तर्फबाट मुद्दाको नेतृत्व गर्ने वरिष्ठ अभिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अन्य वकिल तथा संरक्षण समितिका अध्यक्ष कृष्णहरि खड्कासहित सदस्यहरु एवं अन्य समाजसेवीलाई मन्त्री भुसालले खादा लगाएर सम्मान गर्नुभयो । उक्त जग्गामा बनेको भवनमा स्थानीयले स्वास्थ्य शिविर एवं ध्यानयोग सञ्चालन गर्दै आएका छन् ।

समितिका सचिव रघुनाथ खड्काका अनुसार विसं २०५१ सालदेखि निरन्तर समुदायको पक्षमा सङ्घर्ष गर्दै आएर गत साउन १६ गते भएको उच्च अदालतको फैसलाले सार्वजनिक जग्गा व्यक्तिको हुनबाट जोगिएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले एक पटक समुदायमा हस्तान्तरण गरिएको जग्गा पुनः व्यक्तिको हुन नसक्ने बताउँदै जग्गाधनी धनमाया महर्जनले विगत ३० वर्षअगाडि नै समुदायलाई हस्तारन्तर गरेको जग्गामा विभिन्न हकवालाको नाममा व्यक्तिको नाममा पार्ने प्रपञ्च भएको भन्दै त्यस्ता गविधि विरुद्ध एक भएर लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा मन्त्री भुसालले भुमाफियाको विरुद्ध एकताबद्ध भएर स्थानीय जनताले मुद्दा दायर गरेको र सबैको पहलले जनताको सम्पती जनताकै नाममा रहने स्थिती सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक हितमा समर्पित भएर सार्वजनिक सम्पत्तिको संरक्षणमा लाग्नुहुने सबैलाई बधाई, आगामी दिनमा पनि सार्वजनिक हितका लागि एकताबद्ध हुन अपिल गर्दछु ।”


सामाजिक न्ययको पक्षमा आफू निरन्तर समर्पित हुने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, “सामाजिक लडाइको प्रतिकका रुपमा प्राप्त भएको यो जग्गामा समुदायका लागि वतावरणमैत्री वहुउपयोगी भवन निर्माण गरेर प्रयोगमा ल्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु, सार्वजनिक सम्पत्ति र संपदाको संरक्षणमा सबै लागौँ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य द्वय राजकाजी महर्जन र जीवनराम श्रेष्ठले सार्वजनिक सम्पत्तीको संरक्षणका लागि समुदाय नै लाग्नुपर्नेमा जोड दिँदै समुदाय एक हुँदा आफ्नो संपदाको संरक्षण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

माओवादीबाटै सबैको अधिकार सुरक्षित – महरा

0

भदौ १८,२०७९ दाङ – पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीले जन अधिकार प्राप्त गर्न निरन्तर लागि रहनु पर्ने बताएका छन ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले दाङको भालुवांगमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महराले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समुदायगत सहभागितामा जोड दिने कार्यकर्तालाई सुझाव दिए । उनले आदीवासी जनजातीको हक अधिकारको लागि लामो समय संघर्ष गरेको स्मरण गर्दै जनयुद्धकै कारण यी उपलव्धी सफल भएकोदावी पनि गरे । उनले भने, जनयुद्धकै कारण सिमान्तकृत समुदाय अधिकार प्राप्त गर्ने धेरै हदसम्म सफल भएका छन्, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, थप अधिकारको लागि संघर्ष आवश्यक छ ।

यस्तै पुर्व कृषि मंत्री तथा बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य जोखबहादुर महरा, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर), दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य लगायतको सहभागिता थियो ।

जसपाकी केन्द्रिय सदस्यः माओवादीमा
जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन । उनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर महराले स्वागत गरेका थिए । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव हुन । उनि भर्खरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त भएकी थिइन् ।

पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाती अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताउँदै, उनले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताइन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले उनलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्दता गरे । जसपाबाट बावुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले लक्ष्मीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । चौधरी लामो समय आदीवासी जनजाती आन्दोलनमा खारिएको नेतृ हुन।

मेरो सङ्कल्प भनेकै देशको विकास र सम्वृद्धि होः प्रचण्ड

0

भदौ १८,२०७९ चितवन :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सम्वृद्धि नै आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शिलान्यास गर्दै प्रचण्डले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । जनताको चाहना विकास र समृद्धि भएकोले शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना रहेको उहाँको भनाई छ ।

भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको छ । निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ । उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ ।

ठेक्काको रकम रु दुई अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ । भरतपुर बाइपास सडकको पुरै र छ लेनको पुलचोकबाट केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ ।

बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ ।

भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा बिद्युत भूमिगत गर्न लागिएको हो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाको एक करोड

0

हुमाकान्त पोखरेल
गुल्मी, १८ भदौ । केही समय अगाडी आर्थिक संकटकाल घोषणा गरेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ ।

नगरपालिकाको बार्षिक बजेटमा ५० लाख बिनियोजन गरिएको र सोही रकममा ५० लाख थप गरी एक करोड पु¥याइएको नगरपालिकाले जनाएको छ ।

शनिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै क्याम्पसलाई गरेको सहयोगबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पसमा आर्थिक दायित्वको समस्यालाई समाधान गर्न बजेट प्रदान गरिएको बताए ।

‘क्याम्पस एकातर्फ आर्थिक संकटमा छ भने अर्कोतर्फ नयाँ बिषय ल्याएर विद्यार्र्थी आकर्षित गर्ने चुनौती छ ।’ नगरप्रमुख पन्थीले भने, ‘क्याम्पस गुल्मीको भाविष्य हो, यसमा दलगत स्वार्थ छैन ।’

एकै परिवारका ३ जनाको हत्या, खुकुरी सहित दाजु पर्ने पक्राउ

0

भदौ १८,०७९ उदयपुर : उदयपुरको बेलका नगरपालिका ९ दिलुङटारमा एकै परिवारका ३ जनाको हत्या भएको छ।

स्थानीय ३७ वर्षका राजकुमार बस्नेतसहित उनकी ३३ वर्षकी पत्नी सरिता र १२ वर्षका छोरा सुजनको हत्या भएको उदयपुरका प्रहरी नायव उपरीक्षक राकेशकुमार कोदारले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार तीनैजनाको खुकुरी प्रहार गरी हत्या गरिएको हो।

तीनैजनाको शव आज दिउँसो स्थानीय वालिङ खोलामा फेला परेको थियो। स्थानीयले सूचना दिएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। हत्याको आरोपमा राजकुमारकै दाजु पर्ने ४० वर्षका नरबहादुर बस्नेत पक्राउ परेका डिएसपी कोदारले बताए।

उनले भने, ‘मृतककै नाता पर्ने एक पुरुष समातिएका छन्। उनले आफैंले हत्या गरेको स्वीकारोक्ति जनाइसकेका छन्। हाम्रो टोली अहिले घटनास्थलमा नै छ।’
प्रहरीले नरबहादुरकै साथबाट हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नरैनापुर पुगेर अर्थ मन्त्री शर्माले भन्नुभयो, “कोही भोकै बस्न पर्दैन्”,सरकार साथमा छ

0

भदौ १७,२०७९ बाँके : लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार स्थलगत अनुगमन गर्नु भएको छ ।

अर्थ मन्त्री शर्माले नरैनापुर क्षेत्रको सुख्खा ग्रस्त क्षेत्रमा कुरा गर्दै भन्नुभयो, नरैनापुरको घडेरी देख्दा मलाई मर्महित बनाएको बनाउदै मन्त्री परिषदमा गएर कुरा राख्ने र तत्काल राहातको केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउने बताउनु भएको थियो ।

अर्थ मन्त्री शर्मा नरैनापुरका स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग विस्तृत रुपमा जानकारी लिनुका साथै मन्त्री शर्मा गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अनुगमन गर्नु भएको थियो । प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य मन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकाँश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो । सो समस्याका बारेमा मन्त्री परिषदको बैठकमा जानकारी गराउनुका साथै प्रधानमन्त्रीसंग पनि कुरा गर्ने बताउनुभयो ।

अर्तमन्त्री शर्माले तत्कालका लागि के गर्न सकिन्छ र बाँझो खेतलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा निष्कर्श निकालेर अगाडी बढ्ने जनाउँदै सरकारले कसैलाई भोकै बस्न नदिने बताउनुभयो ।

सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउँदै गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यसपटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै किसानलाई राहत दिन माग गर्नुभयो ।
सो क्षेत्रमा सिंचाइको लागि हरेक वडामा तीन तीन वटा डिप बोरिंग जडान गरेर अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाइको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न मन्त्री शर्मालाई अध्यक्ष शाहले आग्रह गर्नु थियो ।

मन्त्री शर्मासंगै लुम्वीनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेत, नरैनापुर १ का वडा अध्यक्ष इशाक जोहाल, २ का वडा अध्यक्ष महसुद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का वडा अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण मौर्य लगायतको टोलीले नेपाल भारतको सिमासम्म स्थलगत निरिक्षण पनि गरेको थियो ।

वर्षा नभएर शतप्रतिशत सुख्खा भएपछि यस अघि गाउँ कार्यपालिकाको बैठकले पालिकालाई सुख्खा क्षेत्र घोषणा गरि ८० प्रतिशत करमा छुट दिने निर्णय गरेको थियो । जिल्लाकै सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।
सो पालिकामा तीन हजार सात सय हेक्टर खेती योग्य जग्गा रहेकोमा २६० हेक्टरमा मात्र सिचाई सुविधा रहेको र अहिले पानी नपर्दा ती सबै सिचाईका श्रोत पनि सुकेकोले पानी नआएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा पुग्नु भएका मन्त्री शर्मालाई नरैनापुर गाँउपालिका अध्यक्ष शाहले खादा र टोपी लगाएर स्वागत गर्नु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले गाँउपालिकाको डाइरी हस्तान्त्रण गर्नु भएको थियो । कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गर्नु भएको थियो ।

छ महिना भित्र जग्गा एकिकरण काम सक्छौ :मुख्यमन्त्री केसी

0

दिवाकर पोख्रेल
भदौ १७,२०७९ देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा शुरु भएको जग्गा एकिकण काम छ महनिाभित्र सक्ने बताउनुभएको छ ।

दाङको राप्ती गाउँपालिकामा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन गर्दै मुख्यमन्त्री केसीले आफ्नो कार्यकालमा नेपालकै नमुना शहर बनाउने रूप रेखा तयार पार्ने त्यसको लागि आवश्यक पर्ने जग्गा एकिकण काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ समय छोटो भए पनि हामी काम दु्रतगतिमा गर्छौ, प्रदेशसभा भवन सम्पन्न भएको छ, राजधानीका लागि आवश्यक पर्ने कामहरु भइरहेका छन् । ’

यसै बीच मुख्यमन्त्री केसीले स्थायी राजधानी क्षेत्रको जग्गा रोक्का भएको मौका छोपी केही निजी बैंकहरूले ऋणीहरूको जग्गा लिलामी प्रक्रियामा लगेकाले त्यस्तो कार्य बन्दगर्न सम्बन्धित बैंकहरूलाई निर्देशन समेत दिनुभएको छ । उहाँले यसरी लिलामी प्रक्रिया बन्द नगरे प्रदेश सरकारले सक्रियता देखाउने चेतावनी समेत दिनुभयो ।

बैंक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि केसीले बैंकले नागरिककलाई सर्वसुलभ तरिकाले सेवादिन सुझाव दिनुभयो । राप्ती उपत्यका देउखुरीमा रहेको १४ वटा वडा वडालाई बैंकिङ क्षेत्रको रूपमा विकास गर्ने बाउनुभयो । त्यसकालागि १४ वटै वडाले बैंक खाता समेत यसै बैंकबाट सञ्चालनगर्न सुझाव दिनुभयो ।

कृर्षि विकास बेंकले आफ्नो २८२ औं शाखाको रूपमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा शाखा विस्तार गरेको छ । बैंकका प्रदेश कार्यालय दाङका निर्देशक गिरीराज रेग्मीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास बैंकका पूर्व अध्यक्ष बामदेव घिमिरे क्षेत्री, प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, कृषिविकास बैंक केन्द्रीय कार्यालयका निमित्त प्रमुख प्रताव सुवेदी, अर्थ तथा सहकारी मन्त्रालयका सचिव प्रेमप्रसाद आचार्य, राप्ती गाउँपालिकाका अध्यक्षप्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, पुर्व गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।