एकै परिवारका ३ जनाको हत्या, खुकुरी सहित दाजु पर्ने पक्राउ

0
133

भदौ १८,०७९ उदयपुर : उदयपुरको बेलका नगरपालिका ९ दिलुङटारमा एकै परिवारका ३ जनाको हत्या भएको छ।

स्थानीय ३७ वर्षका राजकुमार बस्नेतसहित उनकी ३३ वर्षकी पत्नी सरिता र १२ वर्षका छोरा सुजनको हत्या भएको उदयपुरका प्रहरी नायव उपरीक्षक राकेशकुमार कोदारले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार तीनैजनाको खुकुरी प्रहार गरी हत्या गरिएको हो।

तीनैजनाको शव आज दिउँसो स्थानीय वालिङ खोलामा फेला परेको थियो। स्थानीयले सूचना दिएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। हत्याको आरोपमा राजकुमारकै दाजु पर्ने ४० वर्षका नरबहादुर बस्नेत पक्राउ परेका डिएसपी कोदारले बताए।

उनले भने, ‘मृतककै नाता पर्ने एक पुरुष समातिएका छन्। उनले आफैंले हत्या गरेको स्वीकारोक्ति जनाइसकेका छन्। हाम्रो टोली अहिले घटनास्थलमा नै छ।’
प्रहरीले नरबहादुरकै साथबाट हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE