Saturday, June 6, 2026

गुल्मीमा २७७ जनामा डेंगु र ११९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि

0

गीता बस्याल
भदौ ३१,०७९ गुल्मीः गुल्मी जिल्लामा साउन र भदौ महिनामा २७७ जनामा डेंगु र ११९ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको सत्यवती गाउँपालिकामा एक सय १२ जना,छत्रकोट गाउँपालिकामा एक सय ११ जना,रेसुंगा नगरपालिकामा ४७ जना, मुसिकोट नगरपालिकामा तीन ,रुरुक्षेत्र गाउँपालिकामा १४ जना, गुल्मीदरबार गाउँपालिकामा एक जना गरी जिल्लामा कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय गुल्मीका ल्याव टेक्निसियन निरीक्षक सुमन सापकोटाले जानकारी दिए ।

यस्तै जिल्लामा स्कब्र टाइफसको बिरामीहरुको संख्या पनि बढ्दै गएको सापकोटाले बताए । सापकोटाका अनुसार जिल्लामा ११९ जना स्कब्र टाइफसका बिरामीहरु रहेका छन् । जसअनुसार सत्यवती गाउँपालिकामा ६२ जना, रेसुंगा नगरपालिकामा ३२ जना, छत्रकोट गाउँपालिकामा २५ जना र रुरुक्षेत्र गाउँपालिकामा ११ जनामा संक्रमण पुष्टि भएको सापकोटाले बताए ।

डेंगु रोग र स्क्रब टाइफस रोगका लक्षणहरु करिब मिल्दो जुल्दो रहेकाले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । अत्याधिक ज्वरो आउने र शरिर दुख्ने जस्ता लक्षणहरु हुने मिल्दो जुल्दो हुने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा परीक्षणका लागि कीट अभाव नभएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा निशुल्क रुपमा परीक्षण गर्ने ब्यस्था नभए पनि सात सय देखि एक हजार रुपैयाँ सम्म शुल्क तिरेर परीक्षण गर्न सकिने सापकोटाले बताए ।

डेंगु रोग बच्चा देखी बृद्धसम्मका लागि भएको पाइएको कार्यालयले जनाएको छ ।

डेंगु संकमण पश्चात स्वास्थ्य कर्मी नै आइसियुमा

जिल्लामा स्वास्थ्य कर्मीलाई नै डेंगु संक्रमण भएपश्चात आइसियुमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा अहिले उपचार भइरहेको कार्यालयले जनाएको छ ।

यता गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले डेंगु रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको बताए ।

साँझमा सुत्दा झुल लगाएर सुत्ने ,शरीर छोपिने गरी कपडाहरु लगाउने , घर वरपर पानी जम्ने खाल्डाखुल्डीहरु नराख्ने र उच्च ज्वरो संगै स्वास्थ्यमा समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थाहरुमा गई स्वास्थ्य परीक्षण गराउन पच्याको सुझाब छ ।

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

0
फाइल तस्विर

भदौ ३१ गते ।
पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका अन्र्तगत अर्बेनी देखि पुर्तिघाट सडक खण्डको राक्सेमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
केही दिनदेखी परेको अविरल बर्षाका कारण शुक्रबार बिहान सडक माथिबाट साना ठुला गरी दर्जन जति पहिरो खसेका कारण सडक अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् ।

निरन्तर रुपमा पानी परिरहेकाले सडक खुलाउनका लागि समस्या भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । 
पानी रोकिए पछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाको अधिकांश बजेट करिडोरमा गएको पहिरो पन्छाउन मै खर्च हुने भएकाले विगतका बर्षहरु देखि नै आफूहरु हैरान भएको थापाले बताउनुभयो ।
पहिरो खस्ने बित्तिकै स्थानीयहरुले खै स्थानीय सरकार भन्न थाल्ने भएकाले करिडोरको डोजर कुर्दा समय लाग्ने भएकाले आफूहरुले नै पहिरो पन्छाउने कार्य गर्नुपरेको उहाँको भनाई छ ।

सामान्य पानी परेपछि र अलि ठूलो हावाहुरी चलेपछि सडक माथिबाट ढुंगा खसेर सडक अवरुद्ध हुने रोग जस्तै भएको कालीगण्डकी गाउँपालिकाका प्राविधिक सत्यनारायण रायको भनाई छ । सडक माथिबाट लेदो सहितको पहिरो खस्ने गरेको र निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउँदा माथिबाटै अझै धेरै खस्न सक्ने संभावना हुने भएकाले सडक खुलाउन पनि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

पहिरोका कारण गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सेवा लिन जाने सेवाग्राहीहरु वञ्चित भएका छन् । सडक अवरुद्ध हुँदा हर्मिचौर , अर्वेनी , जयखानीका सेवाग्राहीहरु गाउँपालिकाबाट सेवा लिन वञ्चित भएका छन् भने सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।
नेपाली सेनाले बम ब्लाष्ट गरेर खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डमा सामान्य पानी परेपनि पहिरो खस्ने समस्या विगत देखिकै रोग भएको स्थानीयहरुले बताएका छन् ।

यता कालीगण्डकी करिडोर गैडाकोट,राम्दी,मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले पहिरो पन्छाउनका लागि आफूहरुको डोजर पनि फिल्डमै हुने र नभएको खण्डमा गाउँपालिकासंग समन्वय गरेर अगाडि बढीरहेको बताउनुभयो ।

उहाँले करिडोरलाई निरन्तर रुपमा सुचारु गराउनका लागि कार्यालय र गाउँपालिका दुबैको सहकार्य जारी रहने गरेको समेत उल्लेख गर्नुभयो ।

नेकपा बहुमतका केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

भदौ ३१,२०७९ गुल्मीः
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) बिद्यार्थी संगठनका केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन् ।

जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रिय महासचिब रुपा बुढामगर सहित झण्डै दुई दर्जन बिद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ ।

जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो ।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कम उमेरका बिद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताए ।

कम उमेरका बिद्याथीहरुलाई भेला तथा सभा समारोहमा सहभागी गराउन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको खरेलले दाबी गरे

केन्द्रिय महासचिव रुपा बुढा मगर पनि कम उमेरको हो त भन्ने खबरमार्केटको प्रश्नमा उनले बुढालाई सोधपुछका लागि बोलाइएको उल्लेख गरे
अन्य बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सो समूहले यस अगाडि जिल्लामा चन्दा आंतक मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले निगरानीमा राखेको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट चन्द्रकोटका चार बिद्यालय छनौट

0
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

महेश बोहरा
भदौ ३१,२०७९ गुल्मीः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चन्द्रकोट गाउँपालिका भित्रका ४ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयका विवरणमा चन्द्रकोट गाउँपालिका भित्र रहेका ४ वटा बिद्यालय छनौटमा परेका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरिएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण र ल्याब जस्ता विषयहरु समेटिएका छन् ।

यसरी छनौटमा परेका विद्यालयहरु मध्ये चन्द्रकोट गाउँपालिकाको वडा नम्बर २ विशुखर्कमा रहेको सरस्वती माध्यमिक बिद्यालयलाई ४ कोठे भवन निर्माणका लागी ५० लाख रुपैंया विनियोजन गरिएको छ ।

यस्तै शारदा माध्यमिक बिद्यालय रुपाकोटलाई २ कोठे भवन निर्माणका लागी २५ लाख, उदय माध्यमिक बिद्यालय शान्तिपुर र जनता आधारभूत बिद्यालय वडा नम्बर ७ को बिद्यालयमा आईसीटी ल्याब स्थापनाका लागि समान ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको चन्द्रकोट गाउँपालिकाले जनाएको छ । यसरी कुल ८८ लाख रुपैयाँ चन्द्रकोट गाउँपालिकाका लागी विनियोजन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको बजेट छिट्टै स्थानीय तहमार्फत् निकासा हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९÷८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

बिपद्को घटनाहरुलाई सम्वेदनशीलतापूर्वक सूचना प्रवाह गर्नुहोस :सञ्चार मन्त्री शर्मा

0

मानसिंह बिक
भदौ ३१,२०७९ :आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलमराम शर्माले बिपद् क्षेत्रको समाचार संकलन तथा सम्प्रेसशन कार्य संवेदनशील विषयम भएकोले बिपद्को समाचार सम्प्रेशन गर्दा संम्वेदनशील र जिम्मेवारपूर्ण भएर सम्प्रेशन गर्नका लागि सञ्चारकर्मीहरुलाई अपिल गर्नुभएको छ ।

सञ्चारकर्मीका लागि बिपद् पत्रकारिता तालिमको उद्घाटन गर्दै शुक्रबार बुटवलमा शर्माले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारकर्मीहरुले जहिलो पनि सत्य, तथ्यको नजिक रहेर रिपोटिङ गरी नागरिकको सुरक्षाका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले सञ्चारकर्मीहरुले आगामी दिनमा लुम्बिनी प्रदेशमा हुने विपतको घटनाहरुका लागि जिम्मेवारपूर्ण तरिकाले गरी सरकारकालाई सहयोग गर्न आग्रह गर्दै जहिले पनि नागरिकको जीवन सुरक्षामा लागेको बताउनुभयो ।

मन्त्री शर्माले समाचारको श्रोतको नजिक रहेर सत्य, तथ्यको खोजी गरी वास्तविक सूचनाको आधारमा सूचना प्रवाह गर्दा आफू र समाजको हित हुने भन्दै त्यसमैमा अडिग रही कार्य गर्नुपर्ने बताउनुभयो । प्रदेशवासी जनताको विपतरहित बनाउनेका लागि लागेको समेत बताउनुभो ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयको आयोजना यूनेसेफको व्यवस्थापनमा भएको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, यूनेसेफका प्रतिनिधि शंकर पोख्रेलले शुभकामना मनतव्य दिनुभएको थियो ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन मन्त्रालयका सञ्चार शाखा कार्यक्रम अधिकृत रविन केसीले गर्नुभएको थियो । कार्यक्रमका सहभागीतालाई आन्तरिक मामिला, कानून तथा ससञ्चार मन्त्रालयका दामोदर भण्डारीले स्वागत गर्नुभएको थियो ।

यस कार्यक्रम लुम्बिनी प्रदेशभित्रका जिल्लाहरुबाट सहभागीता रहेको छ । सञ्चारकर्मीहरुका लागि विपत पत्रकारिता तालिम २ दिनसम्म चल्नेछ । सो तालिमको प्रमुख सहजकर्ता रुपेश श्रेष्ठले गर्नुहुने भएको छ । यस तालिमले सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धी हुने आशा व्यक्त गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोटका ५ विद्यालय छनौट

0

सागर भण्डारी
भदौ ३०,२०७९गुल्मी : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोट नगरपालिका भित्रका ५ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयका विवरणमा मुसिकोट नगरपालिका भित्र रहेका ५ वटा छनौटमा परेका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरिएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, र ल्याब जस्ता विषयहरु समेटिएका छन् ।

यसरी छनौटमा परेका विद्यालयहरु मध्ये पेंगा निम्न माध्यमिक विद्यालय मुसिकोट न.पा ३ मा ४ कोठे भवन निर्माणका लागि ५० लाख, रुद्रावती प्रा.वि. मुसिकोट न.पा. २ मा २ कोठे भवन निर्माणकालािग रु.२५ लाख, पृथ्वी मा.वि. मुसिकोट न.पा. ३ मा ४ कोठा भवनका लागि ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै सरस्वती निम्न माध्यमिक विद्यालय मुसिकोट न.पा. ९ र छत्र निम्न माध्यमिक विद्यालय मुसिकोट न.पा. १ गरी दुईवटै विद्यालयमा आईसीटी ल्याब स्थापनाका लागि समान ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको बजेट छिट्टै स्थानीय तहमार्फत् निकासा हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९÷८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छः प्रचण्ड

0

भदौ ३०,२०७९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेमाओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन्।

दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने,माओवादी कमजोर भयो भने,माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुने र त्यो गत वर्षकोपरिस्थितिले पनि देखाएको बताए ।

प्रचण्डलेकहिलेकाहिं आफुसौभाग्यशाली कि अभागी भन्ने लाग्ने गरेको बताए।राजनीतिको केन्द्र अहिले पनि माओबादी बन्दा आफुलाई जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव प्रचण्डले सुनाएका छन् । जनयुद्धको बेलामा भन्दा अहिले बढी मिहिनेत गर्ने गरेको भन्दै उनले पार्टीका नेता(कार्यकर्ताहरुलाई पार्टीलाई बलियो बनाउन अलि मिहिनेत गर्न आग्रह गरेका छन् ।

माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार स्पष्ट रहेको भन्दै प्रचण्डले स्थानीय चुनावबाट देशलाई कता लैजाने भन्ने चाबी माओवादीको हातमा पुगोस भन्ने जन चाहना स्पष्ट देखिएको बताए ।उनले जनमत माओवादीकै पक्षमा भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा तराई मधेसमा स्थानीय तह निर्वाचनका क्रममा अपेक्षा गरे अनुसार उपलब्धि हुन नसकेको बताउंदै विधिसम्मत र प्रक्रियागत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यस्तो उम्मेदवारलाई व्यक्तिको रुपमा नहेरेर पार्टीको रुपमा हेरेको भए माओवादीको जितलाई कसैले रोक्न नसक्ने प्रस्ट पारेका छन् ।

सबैले इमान्दारीपूर्वक मेहनत गरेमा माओवादी आसन्न निर्वाचनमा कम्युनिस्टहरु मध्ये पहिलो राजनीतिक शक्ति हुने उनको दावी थियो। प्रचण्डले माओवादी कमजोर भएमा २०६२(०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने खतरा देखिएको भन्दै हालसम्मको राजनीतिक परिवर्तनको रक्षाका लागि माओवादी पार्टी बलियो हुनुपर्ने र चुनाव जित्नुपर्ने बताए।

उनले अघि भने, ‘यो परिवर्तनको रक्षा गर्न र यसलाई अगाडि बढाउन माओवादी पार्टी बलियो बनाउन अत्यन्त जरुरी रहेको छ । माओवादी कमजोर भयो भने अब परिवर्तनको रक्षा गर्न धेरै गाह्रो हुन्छ ।

हामीले व्यक्तिगत हितलाई नभई पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने निर्वाचनमा माओवादी केन्द्र बलियो शक्ति बन्ने बताए ।

माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व सम्भव थिएन।प्रचण्डले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो ।

लुम्विनी प्रदेश सहित तीन प्रदेशमा आज भारी वर्षा

0
फाइल फोटो

भदौ ३०,२०७९काठमाडौं : देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूपश्चिम प्रदेशमा भारी वर्षा सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अन्य पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । यी स्थानमा बग्ने नदीमा बाढी आउनुका साथै पहिरोको पनि जोमिख रहेकोले सचेत रहन आग्रह गरिएको छ ।

पहिरोमा घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

0
फाइल फोटो

भदौ ३०,२०७९ काभ्रे :काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो।

निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। आमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।

राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बालदिवस : मुसिकोटमा बालबालिकाले प्रतिभा देखाउने अवसर बन्यो

0

सागर भण्डारी
भदौ ३०,२०७९ गुल्मी :

चाहिँदैन दिवस मलाई एकपेट खान देउ

म पनि केही बन्छु भोलि,विद्यालय जान देउ

बुधवार मुसिकोट नगरपालिकाले आयोजना गरेको बाल दिवस विशेष कार्यक्रममा पशुपति माध्यमिक विद्यालयकी विद्यार्थी सञ्जु बढाले यसरी आफ्नो प्रतिभा प्रस्तुत गरिन् । उनले प्रस्तुत गरेको कवितामा बाल श्रम र विद्यालय बाहिर रहेका बालबालिकाहरुको आवाज बोलेको थियो । उनले आफ्नो कविता मार्फत विद्यालय जान नपाएका विद्यार्थीहरुको प्रतिनिधित्व गरिन् ।

सोही कार्यक्रममै जनज्योति माध्यमिक विद्यालयकी छात्रा सपना परियारले चलि मैलो भो बालबालिकालाई कर्णाधार सम्झेर पढाउने कहिले हो भन्दै तितो बाल रोदन बोकेको आफुले रचना गरेको गीत सुनाईन् । उनको गीतले बालबालिकालाई विभिन्न ठाउँमा अझै पनि श्रम शोषण भईरहेको भन्दै उनीहरुलाई विद्यालय पठाउन आग्रह गरिएको थियो ।

जनजागृति माध्यमिक विद्यालयकी छात्रा दिया थापाले नेपालमा बालबालिकाको अवस्था शीर्षकमा निबन्ध प्रस्तुत गर्दै सविंधानले प्रत्याभूत गरेको बालअधिकारको व्यवहारत कार्यान्वयन हुन नसक्दा अझै पनि विभिन्न ठाउँका बालबालिका अपराधिक क्रियाकलापमा संलग्न हुन परेको बताईन् । उनले उदाहरणको रुपमा तम्घासकै कतिपय होटलमा १५ ÷१६ वर्षकै उमेरका बालबालिकाहरु कामदारको रुपमा राखिएको घटना प्रस्तुत गरेकी थिईन् ।

सोही कार्यक्रममा महेन्द्र आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुले देशभक्तिले ओतप्रोत प्रकाश सपुतको मेरो पनि हैनर यो देश भन्ने गीतमा नृत्य प्रस्तुत गरे ।

मुसिकोट नगरपालिकाले बाल दिवसको अवसरमा आयोजना गरेको बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रममा यस्ता कयौँन् विधाका प्रतिभाहरु विद्यार्थीहरुले एकपछि अर्को गर्दै प्रस्तुत गरे । कार्यक्रम विद्यार्थीहरुका प्रतिभा राख्ने ठाउँको रुपमा कोशेढुगां सावित भयो । उनीहरुलाई अवसरको रुपमा यो कार्यक्रम निकै महत्वपूर्ण रह्यो । नगरपालिका अन्तर्गत रहेका झण्डै १४ वटा विद्यालयका विद्यार्थीहरुले सामुहिक र व्यक्तिगत रुपमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरुले नृत्य,गीत,कविता,गजल,निबन्ध र चित्रकला प्रस्तुत गर्दै नेपालमा बालबालिकाहरुको अवस्थाको बारेमा चित्रण गरे ।

विद्यार्थीले दिए धन्यवाद

विद्यार्थी सुधन विश्वकर्माले नगरपालिकाले बालदिवसको अवसरमा प्रतिभा प्रष्फुटन कार्यक्रम आयोजना गरि आफ्ना क्षमता प्रस्तुत गर्न दिएकोमा धन्यवाद व्यक्त गरे । उनले विधागत रुपमा भन्दा पनि विद्यार्थीहरुसगं रहेका सम्पूर्ण प्रतिभाहरु प्रष्फुटन गर्न पाउने भएकाले सबै खाले विद्यार्थीहरु सहभागी हुने अवसर पाएको बताए । उनले आफ्नो गजल समेत प्रस्तुत गर्दै यस्ता कार्यक्रम फेरी पनि आयोजना गर्न नगरपालिकालाई सुझाए ।

ददल्का माध्यमिक विद्यालयकी छात्रा बसुन्धरा खरेलले आफुहरुका लागि यो कार्यक्रम अवसर भएको बताईन् । उनले नगरपालिकाले अझै धेरै यस्ता कार्यक्रम आयोजना गरी बालबालिकाहरुलाई अगाडी बढ्न प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् ।

मुसिकोट नगरपालिका वडा नं ९ की वडाध्यक्ष भुमा गुरुङले उत्कृष्ट क्षमता पहिचान गर्न र बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न कार्यक्रम निकै महत्वपूर्ण रहेको बताईन् ।

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कार्यक्रम

मुसिकोट नगरपालिकाकी नगरउपप्रमुख गगां श्रेष्ठले नगरपालिकाले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन छात्रवृत्तिका कार्यक्रम ल्याउन लागेको बताईन् । उनले बालबालिकाको विषयमा नगरपालिका सवेंदनशील रहेको भन्दै विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई विद्यालय ल्याउन पहल थालिएको बताईन् । विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर विद्यार्थीहरुका प्रतिभा पहिचान गर्नुपर्ने समेत उनको भनाई थियो ।

नगरप्रमुख जीवन खरेलले बालबालिकाहरुका प्रतिभा प्रष्फुटन गर्न विषयगत भन्दा पनि सबै खाले बालबालिकाहरुलाई सहभागी गराउने उद्धेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस्ता प्रतिभाको पहिचान गरेर उनीहरुलाई प्रशिक्षण एवम् तालिम सञ्चालन गर्ने समेत नगरपालिकाको तैयारी रहेको जानकारी दिए ।

नगरप्रमुख खरेलले बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालयमा भय रहित वातावरणमा अध्यापन गराउन सम्पूर्ण शिक्षकलाई आग्रह गर्दै विद्यार्थीहरुले पनि आफुसगं रहेको प्रतिभा निर्धक्क भएर प्रस्तुत गनुपर्ने बताएका थिए । सकोंच र डरले कतिपय प्रतिभा बाहिर आउन नसक्ने भएकाले उनीहरुलाई प्रोत्साहित गर्न नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गरिराख्ने समेत उनको भनाई थियो ।