
कात्तिक ४,२०७७ धनगढी : धनगढीमा प्रहरी सहायक निरीक्षक असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ।






