गुल्मीमा मिटर रिडरको धन्दा : बिलको पछाडी रकम लेख्दै, सोझा गाउँले ठग्दै

0
1892
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी कार्यालयको तस्विर : तिलाचन पाण्डे

हुमाकान्त पोखरेल
असोज २२,२०७७ गुल्मी : मुसिकोट नगरपालिका १ का ६४ बर्षिय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार दुई सय बुझाए ।
मिटर रिडर सोमबहादुर राना मिटर रिडिङको लागि भदौको तेस्रो साता थापाको घर आए । नाताले थापा मामा र राना भान्जा हुन् । भान्जाले मामाको बिजुलीको बिलको रसिदको पछाडीपट्टि असोजको ६ गतेसम्म ६६४ रुपैँया आफुलाई बुझाउनुपर्ने भन्दै रसिद थमाए ।

रसिदको अगाडी भने प्रत्येक महिना ३०÷३० रुपैँया तिर्नुपर्ने उल्लेख गरिएको थियो । तर विभिन्न समयको जरिवाना भन्दै रानाले उक्त रकम बुझाउनुपर्ने उल्लेख गरे । त्यसपछि उनले एकपटक रानासँग त्यस बिषयमा कुरा गर्न खोज्दा रानाले चासो दिएनन् । त्यसलगत्तै थापा नेपाल विद्युत प्राधिकरण, गुल्मी शाखामा आइ आफ्नो मिटरबाट बुझाएको रकम हेरे । उनी छक्क परे ।
गत जेठमा १२ सय बुझाएमध्ये उनको जम्मा ७४ रुपँैया मात्र रानाले बुझाएका रहेछन् । बाँकी एक हजार १२६ रुपैँया रानाले आफुसँगबाट असुली गरेको उनले ठहर गरे । पछिल्लो पटक पनि ६० रुपैँया आएकोमा ६०४ रुपैँया बढी असुल्न खोजेको उनले बताए । उनले यो पटक मात्र आफुले हेरेको तर ०७० सालदेखि यसैगरी रकम बुझाएको बताए । ‘यसभन्दा अगाडी पनि बिल नहेरीकनै रकम बुझायौँ ।’ उनले भने, ‘बिद्युत प्राधिकरणको नाममा मिटर रिडर रानाले थुप्रै रकम ठगी गरेका रहेछन् ।’

अर्का स्थानीय गोपाल गिरीले पनि मिटर रिडर सोम बहादुर रानाले विगत सात बर्षदेखि बिजुलीको रकम उठाउदैँ आएको बताए । सोझा गाउँलेहरुसँगबाट सकेसम्म रकम असुली गरी उनले विद्युत प्राधिकरण र मिटर रिडर पदको समेत दुरुपयोग गरेको आरोप लगाए । ‘गाउँले मान्छेले भनेको ठिकै होला भनेर भनेजति रकम दिएँ, तर उनले ठगेका रहेछन् ।’ उनले भने, ‘सधैभरी जरिवाना भन्दै असुली गर्ने गरेका थिए ।’ त्यसका साथै बिजुलीको रकम घटेर आएपनि रानाले सधैभरी अधिकतम रकम असुली गरेको गुनासो गरे ।

१० लाख जति असुली गरे
नेपाल विद्युत प्राधिकरणबाट नियुक्त भएका रानाले बिलको अगाडीपट्टी सही रकम र पछाडीपट्टी बढी रकम लेख्ने गरेको पाइएको छ । बुझाउनुपर्ने अगाडीपट्टी उल्लेख गरिएको रकम हो । तर रानाले बिलको पछाडी माथिपट्टी रकम लेखेर जरिवानासहितको रकम भन्दै चर्को रकम असुल्दै आएको पाइएको छ ।
गत वैशाख महिनाको स्थानीय पुर्न बहादुर थापाको मिरटरको बिलमा अगाडी ६० रुपैँया देखियो । तर बिलको पछाडी दुई सय आएको लेखेर उक्त रकम नै रानाले बुझिलिए । तर अहिले प्रधिकरणमा हेर्दा रानाले जम्मा ३१ रुपैँया ५० पैसा मात्र भुक्तानी गरेका रहेछन् ।
गत माघ महिनामा नेत्र बहादुर रानासँगबाट मिटर रिडरले २४० उठाए । जबकी बिजुलीको बिलको अगाडी १८० मात्र आएको उल्लेख गरे भने प्राधिकरणमा जम्मा २९ रुपैँया ४० पैसा मात्र बुझाएका छन् । उनीबाट गाउँका १२५ घरधुरीलाई विगत सात बर्षदेखि ठगिदैँ आएको रहस्य खुलेको छ ।

मिटर रिडरले ग्राहककोमा मिटर रिड गर्ने तर रसिद पनि नदिने र यति पैँसा लाग्यो भन्दै ठगी गर्ने गरेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् ।
स्थानीय भुपालप्रसाद श्रेष्ठ ले १६ एम्पियरको एमसिबी जडान गरि बिद्युत प्राधिकरणबाट क्षमता बृद्धि गरि मिल चलाएकोमा बिद्युत चोरी गरी चलाएको भन्दै भदौ २४ गते लाइनै काटिदिएका थिए । जब की सो मिलवालाले साउन २९ गते क्षमता बृद्धि गरि बैधानिक रुपमा चलाएको दाबी गरेका छन् ।

विद्युत प्राधिकरणले कुरा सुनेन
२०७० सालमा स्थानीय उपभोक्ता समितिले सोमबहादुर रानालाई मिटर रिडरको काम गर्ने जिम्मेवारी दियो ।
जसमा बिग्रेको बिजुली बनाउने गरी बिलमा उल्लेख भएभन्दा प्रतिपरिवार २० रुपैँया बढी दिनेगरी सम्झौता भएको थियो । यहि अवस्थामा उनले बिलमा दुईथरी रकम उल्लेख गर्दै हालसम्म करिब १० लाखभन्दा बढी रकम गाउँलेहरुसँगबाट असुली गरेको अनुमान रहेको  उपभोक्ता गगां श्रेष्ठले बताइन् ।
उनको ठगी धन्दा गाउँलेले थाहा पाएपछि गत चैत १० गते उपभोक्ता समितिको बैठकले रानालाई हटाउने निर्णय ग¥र्यो । समितिले उक्त निर्णय विद्युत प्राधिकरणमा पु¥र्याएपनि प्राधिकरणले कुरा सुनेन । उल्टै रानालाई मिटर रिडरको नियुक्ती दिएको वडासदस्य श्रेष्ठले बताइन् ।
समितिले हटाएपछि उनले विभिन्न बाहानामा स्थानीयहरुसँग झन पछि झन् बढी रकम असुल्न थालेको स्थानीयले गुनासो गरे । उनले रकम असुल्न नछोडेपछि स्थानीय ७० जनाले हस्ताक्षर गरेर उनलाई कारवाहीको गरी स्थानीयको रकम फिर्ताको लागि विद्युत प्रधिकरणमा गत भदौ २५ गते निवेदन बुझाए । तर उक्त निवेदनको अझैसम्म पनि सुनुवाई नभएको श्रेष्ठले गुनासो गरिन् । रानालाई निवेदन दिएबापत उल्टै रानाले नै आफुलाई विद्युत चोरी गरेको भनी चरित्र हत्या गर्न खोजेको आरोप लगाइन् ।

रकम उठाउने मिटर रिडरले होइन
नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा गुल्मीका इलेक्ट्रिकल सुपरभाइजर दिपेन्द्र अधिकारीले मिटर रिडरलाई रकम उठाउने अधिकार नभएको प्रतिक्रिया दिए । रिडर र स्थानीयको समझदारीमा लेनदेन भएको भए कार्यालय त्यसमा जानकार नहुने उनले बताए ।
विद्युतको कर्मचारी भएर ठगी गर्ने कारवाही हुनुपर्ने बताउदैँ अहिले कार्यालय प्रमुख नभएको र प्रमुख आएपछि थप निर्णय गर्ने उनको भनाई छ । मिटर रिडिङ गरेबापत व्यक्तिले प्रति मिटर ११ रुपैँया पाउने र त्यो भन्दा बढी रकम लिन नहुने उनले बताए ।

ठगी र मानहानी विरुद्धको मुद्धा दर्ता
गाउँलेसँगबाट रकम असुली गरेको र आफ्नो चरित्र हत्या गरेको भन्दै  गंगा श्रेष्ठले आइतबार राना र अर्का एकजनाबिरुद्ध जिल्ला अदालत गुल्मीमा मुद्धा दर्ता गरेकी छिन् । भने सोमबहादुरलाई ठगी मुद्धा जिल्ला प्रशासन कार्यालयमा पनि दर्ता गराएको उनले बताइन् ।
ठगि गरेको आरोप लागेका सोम बहादुरले आरोप पुष्टि भए कारवाही भोग्न तयार भएको प्रतिक्रिया दिए । पहिले–पहिले तीन महिनाको एक पटकमा मिटर रिडर गर्दा नौ हजार हुने भएपनि पछिल्लो समयमा त्यो आम्दानी नभएपछि रकम लिएको उनको प्रतिक्रिया छ ।

 

SHARE