भारतीय बजारमा सामान किन्न गए १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने

0
292

असोज ९, २०७७ विराटनगर :  मोरङ जिल्ला प्रशासनले भारतीय बजारमा किनमेलका लागि जाने नेपालीलाई दुई साता क्वारेन्टिन बस्नु पर्ने नियम लागू गरेको छ।

महामारीको रूपमा फैलिएको कारोना भाइरसको रोकथाम र नियन्त्रणको नेपाल–भारतको सीमा नाका शिल गरिएको भएपनि सुरक्षाकर्मीको आँखा छलेर विराटनगरको सिमावर्ती बजार जोगबनी जाने क्रम नरोकिएपछि स्थानीय प्रशासनले क्वारन्टिनमा बस्नु पर्ने नियम लागू गरेको हो। उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामाग्री खरिद गर्न जोगबनी जाने गरेका छन् । भारतमा कोरोना संक्रमणको दर व्यापक बनिरहेको बेला भारतीय बजार जानेप्रति प्रहरीले थप कडाई गर्ने भएको छ।

प्रहरीको आँखा छलेर भारतीय बजार गएर नेपाल प्रवेश गर्नेलाई सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा लगेर राख्न थालेका छन्। प्रदेश १ को चार वटा नाका अनुमति लिएर नेपाल प्रवेश गर्ने बाहेक अन्यलाई प्रहरीले क्वारेन्टिनमा राख्न थालेको हो । प्रदेश १ को अहिले मोरङको जोगबनी, सुनसरीको भन्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपती नगर नाका बाहेक अन्यत्रबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । यी नाका प्रयोग गर्दा पनि स्थानीय प्रशासनको अनुमति चाहिन्छ।
सरकारले तोकेको नाकाबाहेक अन्यत्रबाट सुरक्षाकर्मीको आँखा छल्दै आवतजावत गर्नेलाई दुई साता क्वारेन्टिनमा राख्न सुरू गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

SHARE