असोज ३, २०७७ बाँके : अन्तिम पटक २२ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको छ।
क्यान्सर रोगका बिरामीको उपचारमा समस्या देखिएपछि कोरोना विशेष आइसोलेसन अस्पताल बन्द गरिएको अस्पतालका निर्देशक डा। कृष्णप्रसाद आचार्यले बताए। प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो।
उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो।
क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आइसोलेसन अस्पताललाई बन्द भएसँगै त्यहाँबाट पाउने सेवा नेपालगन्जस्थित भेरी अस्पतालले दिन थालेको छ।