चितुवाको आक्रमणबाट तीन जना घाइते

0
263

भदौ २९, २०७७ पर्वत : पर्वतमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।

मोदी वडा नं १ भुकमा चितुवाको आक्रमणमा परी एक वृद्ध घाइते भएका छन् भने जलजला गाउँपालिका ५ लेकफाँटको सुन्दर डाडामा दुई जना घाइते भएका छन्।
जंगलमा भैसी चराउन गएको बेला आइतबार बिहान १० चितुवाको आक्रमणमा परेर भुक देउरालीका ७४ वर्षीय बुद्धिबहादुर गुरुङ घाइते भएका हुन्।

त्यस्तै लेकफाँटमा शनिबार राति २ बजे घरमै बसेको अवस्थामा चितुवाले आक्रमण गर्दा ३३ वर्षीय नरबहादुर केसी र ४५ वर्षीय थलबहादुर खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

घरबाट नजिक जंगलमा भैंसी चराउन गएका गुरुङलाई एक्कासि चितुवाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए। घाइते गुरुङलाई कास्कीको नयाँपुलस्थित मेडिकलमा उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ।

यस्तै लेकफाँटमा घाइते भएका नरबहादुर केसी र थलबहादुर खत्रीलाई बेनी अस्पताल म्याग्दीमा उपचारका लागि लगिएको थियो। खत्रीलाई भने डिस्चार्ज गरिएको छ भने केसीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

SHARE