
भदौ २४, २०७७ बागलुङ : बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको हो। बुधबार गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुर स्थित बडिगाड खोलाको किनारमा ३२ वर्षीया चनी विकको शव फेला परेको हो। बडिगाड गाउँपालिका–६ खाला बजार छेउको खोला किनारमा २८ वर्षीया कुमारी विकको शव बुधबार फेला परेको थियो।
उनीहरुको शव पोष्टमार्टम गरेर बिहिबार परिवारको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताए। बाढीपहिरोमा १९ जना अझै बेपत्ता छन्।
मृत्यु भएकामध्ये १७ जनाको यसअघि नै दाहसंस्कार भैसकेको छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।






