गुल्मीमा चारवटा पक्की पुल निर्माण

0
456

रमेश विश्वकर्मा
भ्दौ २३,२०७७ गुल्मी : गुल्मी जिल्लामा एक वर्षको अवधिमा मोटर गुड्ने चारवटा पक्की पुल निर्माण भएका छन् । जिल्लामा विभिन्न समयमा ठेक्का सम्झौता भएका पक्की पुलहरुमध्ये आर्थिक वर्ष २०७६÷०७७ मा चार वटा पक्की पुल निर्माण भएका हुन् । जिल्लामा रहेका सडक पुर्वाधार विकास कार्यालय र मदन भण्डारी राजमार्ग योजना कार्यालयले निर्माण गर्न थालेका २१ वटा पक्की पुलहरुमध्ये चारवटा पक्की पुल निर्माण भएका छन् ।

सडक पुर्वाधार विकास कार्यालयसँग विभिन्न समयमा ठेक्का सम्झौता गरि निर्माण थालेका तीनवटा पक्की पुलमध्ये एकवटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख ईन्जिनियर गोपिराज पुन मगरले जानकारी दिए । उनका अनुसार जिल्लाको ईस्मा गाउँपालिकाको दोहोली र मुसिकोट नगपालिकाको पौंदीअमराईलाई जोड्ने निस्ती खोला पक्की पुलको निर्माण कार्य सम्पन्न भएको हो । यो पुलको २०७३ असार २७ गते २ करोड १५ लाख १२ हजार लागतमा ठेक्का सम्भौता भएको थियो । २ स्पानको उक्त पुलको लम्बाई ४१.२० मिटर रहेको छ ।

यस कार्यालयबाट विभिन्न समयमा निर्माण कार्यको लागि ठेक्का सम्झौता भएका २ वटा पुलहरु निर्माणधीन अवस्था रहेको कार्यालय प्रमुख पुन मगरले जानकारी दिए । उनका अनुसार मुसिकोट नगारपालिकाको बडिघाट खोलाको झर्दी बल्लेघाट पुल र सत्यवति गाउँपालिकाको त्रिवेणी पुल निर्माणाधीन अवस्थामा रहेका छन् । बल्लेघाट पुलको निर्माण कार्यको लागि २०७३ असार २३ गते ठेक्का सम्झौता भएको हो । उक्त पुलको ५ करोड १७ लाख ८४ हजार लागतमा निर्माण कार्य सम्पन्न हुनेछ । २०७८ असार ३१ गते सम्म निर्माण कार्य सम्पन्न गनुपर्ने छ ।

त्रिवेणी पुलको निर्माण कार्यको लागि २०७६ असार ३१ गते ठेक्का सम्झौता भएको हो । उक्त पुल ३ करोड ११ लाख २१ हजार लागतमा निर्माण कार्य सम्पन्न हुने कार्यालय प्रमुख पुन मगरले जानकारी दिए । उनका अनुसार २०७८ असार ३१ गते सम्म निर्माण कार्य सम्पन्न गनुपर्ने छ । मुसिकोट नगारपालिकाको बडिघाट खोला (खौलार) पुल र मालिका गाउँपालिकाको निस्ती खोला पुलको टेन्डर सूचना प्रकाशित भैसकेको तर सम्झौता हुन बाँकी रहेको कार्यालय प्रमुख पुन मगरले बताए ।

त्यस्तै मदन भण्डारी राजमार्ग योजना कार्यालयसँग विभिन्न समयमा ठेक्का सम्झौता गरि निर्माण थालेका १८ पक्की पुलमध्ये तीन वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको निमित्त योजना प्रमुख सुनित केसीले जानकारी दिए । उनका अनुसार स्याला खोला पुल स्याला, मलागिरी खोला पुल मलागिरी र कपरपाटा खोला पुल दुविचौरमा निर्माण कार्य सम्पन्न भएको हो ।

स्याला खोला पुलको २०७४ असोज २२ गते ५ करोड ८१ लख ४३ हजार ५ सय ९ रुपैयाँ ५४ पैसा लागतमा निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । मलागिरी खोला पुलको २०७४ असोज २६ गते ३ करोड ७६ लाख ७० हजार ६ सय २७ रुपैयाँ लागतमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । कपरपाटा खोला पुलको २०७५ जेठ २२ गते ३ करोड ४७ लाख ४८ हजार १ सय १४ रुपैयाँ ५० पैसा लागतमा निर्माणको लागि ठेक्का सम्झौता भएको थियो ।

यस कार्यालयबाट विभिन्न समयमा निर्माण कार्यको लागि ठेक्का सम्झौता भएका १५ वटा पुलहरु निर्माणधीन अवस्था रहेको निमित्त योजना प्रमुख केसीले जानकारी दिए । उनका अनुसार पनाहा खोला पुल नादी हाडहाडे धुर्कोट रजस्थल, पनाहा नदी जुरेढुङ्गा भनभने, निस्तिखोला पुल पराल्मी इन्द्रेगौडा जोड्ने पुल, बडिगाढ खोला उल्लीखोला, बडिगाढ सिस्ने पुल सिस्ने–हुँगा, बडिगाढ नदि पुल (साविका जुनियाँ गाविस वडा नं. ९ र हुँगा गाविस जोड्ने पुल) निर्माणाधीन अवस्थामा रहेका छन् ।

त्यस्तै चौरासी पुलकामुख अमरपुर–धुर्कोटरजस्थल, बडिगाढ खोला पुल साहाघाट लिम्घा हँसरा पुल रिमुवा सडक, कालिगण्डकी पुल गुल्मी स्याङ्जा, दरमखोला पुल (अर्लाङ्कोट–१ गुल्मी र रिघा–६ बाग्लुङ्ग जोड्ने पुल), कालिगण्डकी पुल (पुर्तिघाट गुल्मी र पर्वत जोड्ने पुल), बडिगाढ पुल खैरेनी बोटेगाउँ जोड्ने पुल, पालुखा मोटरेवल पुल हस्तिचौर, तम्घास खोलामा पुल १–८ जोड्ने र पाती खोला पुल निर्माणाधीन अवस्थामा रहेको निमित्त योजना प्रमुख केसीले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९)का कारण देशभर सरकारले चैत ११ गतेबाट लकडाउन (बन्दाबन्दी) गरे पनि जिल्लामा उक्त अवधिमा विकास निर्माणका कामले निरन्तरता पाएको थियो । कोरोना सङ्क्रमणको त्रास हुँदा पनि मजदुरलाई सामाजिक दूरी कायम राख्दै निर्माण कार्यमा लगाइएको सडक पुर्वाधार विकास कार्यालय र मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले जनाएको छ ।

SHARE