नेपालमा हालसम्मकै उच्च संक्रमण

0
618

भदौ १९, २०७७ काठमाडौं :  केही दिनयता देशभर लगातार बढिरहेको कोरोना संक्रमण हालसम्मकै सबैभन्दा उच्च संख्यामा देखिएको छ।
संक्रमण दर मात्रै नभई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज कोरोनाका हरेक सूचकले रेकर्ड बनाएका छन्। देशभर संक्रमण दर, भेन्टिलेटर रहनेको संख्या, काठमाडौंमा कोरोना, देशभरबाट डिस्चार्ज भएर घर फर्कनेको संख्या आज अन्य दिनको तुलनामा उच्च देखिएको छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको तथ्यांकलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बताएअनुसार देशभर १ हजार ३ सय १९ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च हो। जुन अघिल्लो २४ घण्टाको तुलनामा १ सय ३१ ले बढी पनि हो। मन्त्रालयले हिजो २४ घण्टामा १ हजार २ सय २८ संक्रमित थपिएको मिडिया ब्रिफिङमार्फत बताएको थियो।

यस्तै बुधबार मन्त्रालयले देशभर १ हजार १ सय १२ जना संक्रमित थपिएका बताएको थियो। यो तीन दिनको तथ्यांक हेर्ने हो भने पनि संक्रमण दर करिब एउटै गतिमा देखिन्छ। लगभग १ सयका दरले संक्रमित बढिरहेका छन्।

सरकारले कोरोना जाँच अर्थात् पिसिआर परीक्षणको दायरालाई खुम्च्याएको पनि छैन। उस्तै आँकडामा कोरोना परीक्षण भइरहेको छ।
त्यस्तै देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन्। यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो। पछिल्ला केही दिनयता दोहोरो अंकमा संक्रमितहरु डिस्चार्ज भइरहेका मन्त्रालयको तथ्यांकले देखाउँछ।
त्यस्तै आजको नियमित मिडिया ब्रिफिङमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या सबैभन्दा उच्च पाइएको छ। आज काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं जिल्लामा मात्रै ३ सइ ८६ जना छन्। त्यस्तै भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना थपिएका छन्।
हिजो काठमाडौं उपत्यकामा ४ सय ४५ संक्रमित थपिएका थिए। हिजो काठमाडौंमा मात्रै ३ सय ५७ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका थिए। त्यसैगरी अस्ति बुधबार उपत्यकामा ३ सय ८८ जनामा कोरोना पाइएको थियो। यसरी हेर्दा संक्रमणको दर देशअनुसार उपत्यकामा पनि बढिरहेको पाइएको छ।
यसैगरी संक्रमण भएर ज्यान गुमाउनेको संख्या पनि पछिल्लो २४ घण्टायता सबैभन्दा बढी छ। आज देशभर यो समाचार तयार पार्दासम्म कोरोना संक्रमण भएर निधन हुनेको संख्या १४ छ। हिजो देशभर कोरोनाका कारण ६ जनाको निधन भएको मन्त्रालयले जनाएको थियो। त्यसैगरी १७ गते अर्थात् अस्ति बुधबार १२ जनाको निधन भएको भएको थियो।

आज देशभरका आइसियुमा पनि अन्य दिनको तुलनामा सबैभन्दा बढी संक्रमित रहेका छन्। मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। जसमध्ये २६ जना भेन्टिलेटरमा र १५१ जना संक्रमित आइसियुमा छन्। थाहाबाट

SHARE