भदौ १६,२०७७ गुल्मी : ५५ लाखको लागतमा निर्माण भएको तम्घासको थ्रिडी पार्क संचालन र ब्यबस्थापनमा कसैको चासो पुगेको छैन् ।
रेसुंगा नगरपालिका र प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो । पार्कको संरचना निर्माण भएको बर्षदिन पुग्दा पनि संचालन र व्यावस्थापन प्रक्रिया अझै अन्यौलमा परेको छ ।
निर्माण भएको एक बर्ष बितिसक्दा समेत निर्माण उपभोक्ता समितिले पार्क हस्तान्तरण गरेका छैनन् ।
निर्माण भएको संरचनाहरु पनि बिग्रन थालेका छन् । पार्कमा हस्तान्तरण नहुँदै नागरिकको मनलाग्दी चलेको छ । पार्कमा बस्नेहरुले फोहोर गर्ने, प्रबेश गर्ने द्धारको गेट नै संरक्षण नहुँदा भाँचिएको छ ।
बालबालिका पौडी खेल्ने स्थल बन्यो पार्क
पार्कमा फोहोराबाट संकलन हुने पानीमा बालबालिका पौडी खेल्न थालेका छन् । पार्कको गेट भाँचिएको छ । रंगरोगन समेत मेटिन थालेका छन् । पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष भएको नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले बताए ।
उनले विभिन्न संघसंस्था, संगठन र दलहरुले सरकारको अगाडी उभिएर सरकारलाईनै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए । पाण्डेयले आ आफ्नै स्वार्थका कारण पार्कलाई अलपत्र परेर राज्यको रकम दुरुपयोग गर्न नपाइने बताए ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज श्रेष्ठले कोरोना भाइरसका कारणले पार्क हस्तान्तण गर्न नसकिएको बताए ।
नगरपालिकाले चासो दिएन : वडा अध्यक्ष
यता रेसुंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भरत भलामीले नगरपालिकाले नै पार्कको संरक्षण र संचालनमा चासो नदेखाएको आरोप लगाए । पटक पटक मेयर डिल्लीराज भुसालसंग उद्घाटन र संचालनका लागि छलफल गर्दा समेत मेयरले गम्भीरताका साथ नलिएको भलामीको आरोप छ । करिब ५ ,महिना अगाडी मेयरबाट उद्घाटन गराउने गरी तयारी गरेकोमा बिशेष कारणले उद्घाटन गर्न नसकिएको र पछि कोरोना भाइरसका कारण समस्या भएको उनले बताए ।
निर्माण समिति र वडा अध्यक्षनै जिम्मेवार छैनन् : मेयर
यता रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आफुले वडाध्यक्ष भरत भलामी र उपभोक्ता समिति अध्यक्ष नवराज श्रेष्ठनै पार्क संचालनको बिषयमा गम्भिर नभएको आरोप लगाए ।
पार्क निर्माणका लागि वडा अध्यक्ष भरत भलामीले नै प्रस्ताव ल्याएका काराण बजेटको ब्यबस्थापन गरेको भन्दै उहाँ र उपभोक्ता समितिले नगरपालिकालाई हस्तान्तरण नगर्नु दुखद भएको बताए ।
पार्कका संरचनामा क्षति पुगिरहेको बिषयमा आफू जानकार भएकाले संचालनमा ल्याउन पाए एक जना नगर प्रहरी खटाउने योजनामा रहेको मेयर भुसालले दाबी गरे ।