सागर भण्डारी
भदौ १२,२०७७ गुल्मी : गुल्मीमा जतिसक्दो छिटो पीसीआर ल्याव सञ्चालनमा आउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समितिमार्फत सदरमुकामको रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरेको लामो समय भएपनि सञ्चालनमा आउन नसक्दा चौतर्फी आलोचना सुरु भएको थियो ।
जिल्लाका १२ वटै स्थानीय तहको आर्थिक सहयोगमा पीसीआर ल्याव सञ्चालन गर्नका लागि रेसुङ्गा नगरपालिकालाई व्यवस्थापकीय जिम्मेवारी दिईएको थियो । आवश्यक जनशक्ति, प्राविधिकहरुको अभावमा भनेकै समयमा ल्याव सञ्चालनमा ल्याउन नसकिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुषालले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले उपलब्ध गराएको पीसीआर मेसिनमा केही प्राविधिक कुराहरु थप्नुपर्ने भएकाले अहिले मेसिनलाई प्राविधिकहरुकै सल्लाहमा काठमाण्डौ लगिएको र त्यही मेसिन सञ्चालनमा ल्याउने वा अर्को ल्याउने भन्ने विषयमा छलफल चलिरहेको बताए ।
पीसीआर ल्याव सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति र प्रयोगशालाको समेत व्यवस्थापन हुँदै गरेको उनको भनाई छ । अहिले निर्माणाधिन प्रयोगशालाको कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए ।
पीसीआर ल्याव सञ्चालनमा मात्रै आएर नहुने भन्दै सक्रंमितहरुको उपचारकालागि आईसुलेसन र भेन्टिलेटरको समेत स्थापना गर्न लागिएकोे जानकारी दिए ।
कोरोना सक्रंमितको संख्या बढ्दै जाँदा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि भेन्टिलेटर र आईसीयुको समेत अभाव हुँदै जान थालेकाले गुल्मेलीहरुले त्यो समस्या भोग्न नपरोस भनेर १० वटा आईसीयु बेड र २ वटा भेन्टिलेटर सहितको अस्पताल स्थापनाका लागि अहिले जग्गा खोज्ने काम भईरहेको मेयर भुषालको भनाई छ ।
यता गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पीसीआर परीक्षणका लागि ल्याव स्थापना गर्न पीसीआर मेसिन मात्रै जडान गरेर नपुग्ने भएकाले केही समय ढिला भएको बताए । पीसीआर मेसिन जिल्लामा आईसकेपछि प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै प्राविधिकहरुलाई बोलाएर आवश्यक परामर्श गर्दा परराष्ट्र मन्त्री ज्ञवालीले हस्तान्तरण गरेको मेसिनमा अन्य केही महत्वपूर्ण उपकरणहरु जडान गर्नुपर्ने भएकाले प्राविधिककै आग्रहमा काठमाण्डौ लगिएको बताए ।
प्रमुख जिल्ला अधिकारी भरत शर्माले गुल्मीमा आएको पीसीआर मेसिनको ब्राण्डकै अन्य केही सामाग्रीहरु जडान गर्नुपर्ने भएकाले प्राविधिकहरु लागिपरेको र सोही मेसिनमै मेसिनहरु थप गरेर हुन्छ अथवा नयाँ मेसिन ल्याउनुपर्ने भन्ने विषयमा पनि छलफल भईरहेको बताए ।
प्राविधिक ज्ञान नहुँदा केही समय ढिलाई भएपनि प्रयोगशाला निर्माण र आवश्यक जनशक्तिको व्यवस्थापन हुँदै गरेकाले जतिसक्दो छिटो पीसीआर ल्याव सञ्चालनमा आउने उनले बताए ।