
भदौ १२,२०७७ बागलुङ : बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ ।
निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग नगरी बिना काममा लखरलखर हिँड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही स्वरुपमा कुखुरा बन्न लगाउने तथा उठबस गरी सम्झाईबुझाई छोड्न थालेको हो ।
प्रशासनले बिहीबार मात्र दुईवटा चार पाङग्रे सवारी, छवटा पसल तथा २१ जनालाई कारबाही गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।
प्रशासनले तोकेको समय सीमाभन्दा बढी समय पसल खोलेर भीडभाड गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
प्रहरीले यसअघि ४० वटा सवारी नियन्त्रणमा लिएर प्रहरी परिसरमै राखेको छ । निषेधाज्ञाको अन्त्य भएपछि जरिवाना गरेर मात्रा सवारी फिर्ता दिइनेछ ।
मास्क नलगाउनेलाई बनाइयो कुखुरा
अनुगमनको क्रममा मास्कबिना हिँड्ने युवा, सवारी चालकलाई सडकमै कुखुरा बन्न लगाएर आगामी दिनमा निषेधाज्ञा नियमको पालना गर्ने कबुलका साथ छोडिएको थियो ।
बजारको नियमित अनुगमन तथा कारबाही जारी रहने सूचना अधिकारी पन्तको भनाइ छ ।







