रामपुर खानेपानी आयोजनाबाट दुई हजार आठ सय घरधुरी लाभान्वित

0
1529
कार्यालयको भबन

सुशीला रेग्मी

भदौ ११,२०७७ पाल्पा  : रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाबाट रामपुर नगरपालिकाका करिव दुई हजार आठ सय ७८ घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।

पाल्पा जिल्लाकै ठुलो आयोजनाका रुपमा रहेको यस आयोजना हाल रामपुर नगरपालिकाको तल्लो फाँट क्षेत्र वडा नं ४, ५, ६ र ७ का विभिन्न वस्तीका घर घरमा खानेपानी सुबिधा पुगेको छ ।

नगरको वडा नं ५ बेझाड बजार माथि रहेको राम्चेवनमा साढे चार लाख लिटरका दुई वटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने नगरको वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एक वटा दुई लाख लिटर र कार्कीडाँडामा एक वटा डेढ लाख लिटरका ट्याङ्की राखेर पानी वितरण गरिएको छ ।

बेझाड बजार क्षेत्रमा रहेका तीनवटै बोरिङ्गबाट पानी चालु भइरहेको छ । डुम्रीगाउँ क्षेत्रमा रहेका तीन बोरिङ्गमध्ये दुई वटाबाट पानी चालु अवस्थामा छ भने एकवटा रिजर्भमा छ । तीन हजार तीन सय ६१ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएको आयोजनाका व्यवस्थापक सन्तबहादुरर सारुले बताए ।

नेपाल सरकार नगर विकास कोषको सहयोगमा वि.सं २०६७ मा सुरु भएको आयोजना २०७३ भदौमा परिक्षणका रुपमा सफल भएपछि त्यस समय देखि नै खानेपानी वितरण गरिन थालिएको हो ।

नगर विकासको कोषको साढे २४ करोडको टेण्डर आह्वान भएकोमा त्यसमा ५० प्रतिशत नेपाल सरकारको अनुदान र पाँच प्रतिशत उपभोक्ताको सहयोगमा आयोजनाको काम भएको हो । नगर विकास कोषसंग ४५ प्रतिशत ऋण सहयोग लिएर आयोजना संचालन गरिएको छ ।

यस आयोजनाबाट हाल दैनिक बिहान साँझ (एउटै समय) ५ वजेदेखि ८ वजे सम्म तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेको आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ । जसमा न्युनतम शुल्क दुई सय ७५ (दश हजार लिटर सम्म पानी उपभोग गरेमा मात्र) तोकिएको छ ।

दश हजार लिटर माथि देखि २० हजार लिटर सम्म पानी उपभोग गर्नेले प्रति युनिट रु ४२ तिर्नुपर्ने हुन्छ भने रु २० हजार लिटर देखि माथि पानी उपभोग गर्नेका लागि प्रति युनिट रु ६३ शुल्क कायम गरिएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार अबको चारवर्ष भित्रमा उपभोक्ताको घर घरमा २४ सैँ घण्टा खानेपानी वितरण, महसुल घटाउने, खानेपानी वितरणको समय कम भएकाले त्यसको लागि राम्चेवनमा कम्तिमा एक लाख लिटर र डुम्रीगाउँ क्षेत्रमा दुई लाख लिटरका एक÷एक वटा ट्याङ्की थप गर्ने योजना छ ।

“आयोजनाको पानी नगरका माथिल्लो भु भागमा लैजान नमिल्ने भएपछि तल्ला समथर क्षेत्रमा मात्र वितरण गरेका छौँ, बोरिङ्ग प्रणालीबाट निकालिएको पानी फिल्टर गरेर उपभोक्ताको घर घरमा पु¥याएका छौँ” अध्यक्ष श्रेष्ठले भने ।

खानेपानी आयोजना यहाँ संचालनमा आएपछि पानी उपभोगका लागि स्थानीयलाई ठुलो राहत पुगेको छ । खानेपानी आयोजना संचालन गर्नुभन्दा अघि पानीको दीगो स्रोत नहुदा चापाकल, इनार, कुवा, खोलाका पानीमा आश्रित रहनु परेको अवस्था थियो ।

खडेरीयाममा पानीको स्रोत सुक्दै जाने हुदा एक गाग्री पानी लिन घण्टौँ समय बिताउन बाध्य नागरिकलाई घर घरमा धारा जडान गरेर पानी आएपछि ठुलो सुबिधा पुगेको छ ।

चापाकलबाट पानी निकालेपनि गर्मीयाममा प्रयाप्त पानी नआउँदा धेरै सास्ती थियो, अहिले पानी नियमित बिहान साँभm गरेर दैनिक छ घण्टा आयोजनाबाट आएपछि खानेपानीको समस्या हटेको छ । हाल रु २० हजार शुल्क लिएर घर घरमा खानेपानी धारा जडान गरी वितरण गरिएको छ ।

SHARE