भीम अस्पतालमा आइसीयु कक्ष सुरु भएन, बुटवलमा जनशक्ति अभाव ।

0
272

भदौ १०, २०७७ अर्घाखाँची: दक्ष जनशक्ति अभाव भएपछि प्रदेश ५ का कोरोना विशेष अस्पतालहरूमा भएका आइसीयु रभेन्टिलेटर प्रयोगविहीन भएका छन्। अस्पतालमा कोरोना संक्रमितको चाप बढेपनि योग्य स्वास्थ्य प्राविधिक नहुँदा आइसीयु र भेन्टिलेटर संचालनमा आउन सकेका छैनन्।

२५० बेड आइसीयु र १०० वटा भेन्टिलेटर थप्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव प्रदेश ५ को मन्त्रिपरिषदमा विचाराधीन छ। तर, दक्ष जनशक्ति अभाव भएकाले बेड थप्नेबारे अझै अन्योल छ। कोरोना विशेष अस्पतालहरुमा भएका आइसीयु र भेन्टिलेटर पनि प्रयोगमा आउन सकेका छैनन्। आइसीयु र भेन्टिलेटर चलाइरहेका अस्पतालमा पनि जनशक्ति अभाव देखिएको छ। प्रदेश ५ मा लक्षणसहितका र स्वास्थ्यमा समस्या देखिएका संक्रमितको संख्या बढिरहेको छ। प्रदेशभरका ४ वटा कोरोना अस्पतालमा ३१ वटा आइसीयु बेड छन् भने १३ वटा भेन्टिलेटर छन्।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा बनाइएको कोरोना अस्पतालको आइसीयु कक्षमा १६ बेड छन्। सबै बेडमा लक्षणसहितका गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामी राखिएको छ। तर, यो अस्पतालमा पनि जनशक्ति अभाव छ। एकजना नर्सले आइसीयुमा रहेका ७ जना बिरामीलाई हेरिरहेका छन्‌। सुरुमा आइसीयुमा ८ बेड हुँदा जति मेडिकल अफिसर र नर्स थिए, अहिले १६ वटा बेड पुर्‍याउँदा पनि त्यही जनशक्तिले काम गरिरहनु परेको एकजना नर्सले बताएकी छिन्‌।मागअनुसार स्टाफ नहुँदा एकजना नर्सले सात जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ, जब कि एकजना बिरामीका लागि एकजना नर्सको व्यवस्था हुनुपर्ने हो, अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले भने, बेड संख्या र भरिभराउ बिरामीको तुलनामा जनशक्ति एकदमै कम छ, तैपनि एकजनाले दुई सिफ्ट काम गरेर भएपनि बिरामीको उपचारमा कमी हुन दिएका छैनौं। डा. थापाका अनुसार अस्पतालका लागि कम्तीमा ३० जना नर्सको आवश्यक छ। अस्पतालमा ४ वटा भेन्टिलेटर छन्। बिरामीलाई सहज रुपमा चौबीसै घण्टा सेवा दिन नर्स, मेडिकल अफिसर, कन्सल्टेन्ट डाक्टरसहित कम्तीमा ५० जना स्वास्थ्यकर्मी तत्काल आवश्यक रहेको डा. थापाले बताए।

भीम अस्पतालमा आइसीयु कक्ष सुरु भएन

प्रदेश सरकारले भैरहवाको भीम अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्ने बताएको छ। अस्पतालले २७ बेड कोरोना संक्रमितको उपचारका लागि व्यवस्था गरेको छ, जसमध्ये ५ बेडमा आइसीयु राख्ने गरी पुर्वाधार तय भएको छ। अस्पतालमा ४ वटा भेन्टिलेटर पनि जडान गरिएको छ। तर, दक्ष जनशक्ति नहुँदा आइसीयु सञ्चालनमा ल्याउन सकिएको छैन। आइसीयुका उपकरण छन्, तर चलाएर सेवा दिने जनशक्ति नहुँदा त्यतिकै थन्किएका छन्,ु अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले भने, आइसीयु सञ्चालनमा आउन नसकेपछि कोरोना संक्रमितलाई भर्ना लिन छाडिएको छ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा ५ वटा आइसीयु बेड र ३ वटा भेन्टिलेटर छन्। दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको कोरोना अस्पतालमा पनि ५ वटा आइसीयु बेड र २ वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिए। थाहाबाट साभार

SHARE