
भदौ ६,२०७७ गुल्मी : देशभर कोरोना संक्रमणको दर बढीरहेको सन्र्दभमा गुल्मीमा पनि कोरोना परीक्षणको तयारीलाई तीब्र पारिएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत साउन ३ गते रेसुंगा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरेका थिए । सो मेसिनलाई संचालनमा ल्याउने तयारी गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
सदुमुकाम तम्घासमा रहेको महिला बिकासको भबनमा कोरोना परीक्षण ल्याब संचालनका लागि तयारीलाई तीब्र पारिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली आई अहिले अध्ययन गरेकाले जति सक्दो छिटो ल्याब संचालनमा ल्याउने शर्माले दाबी गरे ।
ल्याव ब्यबस्थापनको कार्य र उपकरणहरु परीक्षणको कार्य भइरहेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए । गुल्मी जिल्लाबाटै कोरोना परीक्षण ल्याब जति सक्दो छिटो संचालनमा ल्याउने गरी तयारी थालेको पच्याको दाबी छ ।
जिल्लामा पीसीआर परीक्षण नौलो पनि भएको र बिचमा टेक्निकल सर्पोट पनि नपाएका कारण संचालनमा ढिला भएको रेसुङगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । अहिले केन्द्रको टेक्निकल टोली पनि आएको र भीटिएम खरिद कार्यलाई पनि नगरपालिकाले प्रक्रिया अगाडी बढाएको अर्यालले दाबी गरे ।






