
भदौ ६ ,२०७७ : पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्र्साका थप ५४ जनामा संक्रमण पुष्टि जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत विनय श्रीवास्तवले पुष्टि गरे ।
अधिकृत श्रीवास्तवका अनुसार शुक्रबार राति गरिएका ४५० वटा स्वाबको नमुना परीक्षणमा पर्साका ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार राति संक्रमण पुष्टि भएका ५४ जनामध्ये सबैभन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना , वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १८ जना , पकाहामैनपुर गाउँपालिकामा २ जना स्वास्थ्यकर्मी सहित ३ जना , ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा ३÷३ जना र सखुवा प्रसौनी गाउँपालिकाका १ जना रहेका छन् ।
थपिएका ५४ जना संक्रमितमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि रहेका छन् । आज ५४ जना नयाँ संक्रमित थपिएसंगै पर्सामा संक्रमितको संख्या एक हजार ७९० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।







