
भदौ ४, २०७७ काठमाडौं : गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ।
यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन्। पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए। एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
पाँच वर्षीय सानुकान्छा दोङ ,४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको उनको भनाइ छ। यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन्। हालसम्म फेला परेका शवमध्ये १५ पुरूष र १३ महिला छन्।
पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीय जुटेका छन्।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालोको भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।






