कोरोनाबाट नेपालमा थप पाँचजनाको मृत्यु

0
401

भदौ १, २०७७ काठमाडौं :  कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ।

पछिल्लो पटक पर्सामा दुई तथा ललितपुर, मोरङ र जनकपुरमा एक–एक जनाको मृत्यु भएको हो। पाटन अस्पताल ललितपुरमा विगत १२ दिनदेखि उपचार गराइरहेका काठमाडौंका ६० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

उनको गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसपछि पाटन अस्पताल पुर्‍याईएको थियो।

यसै गरी वीरगञ्जको नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्थाई कोरोना अस्पतालका इञ्चार्ज डाक्टर उदय नारायण सिंहका अनुसार उपचारको क्रममा शनिबार राति ८ बजे उनको मृत्यु भएको थियो। ३२ वर्षीय ती युवकमा आइतबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार मृत्यु भएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

यसै गरी पर्साको वीरगञ्ज–२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

यस्तै जनकपुरमा तीन दिनअघि मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै विराटनगरकी एक ५० वर्षीया संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

SHARE