मन्त्री हेरफेर चर्चाबीच नेकपाले बोलायो सचिवालय बैठक

0
295
फाइल तस्बिर

साउन ३२, २०७७ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक भोलि बस्‍ने भएको छ । भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् सदस्य हेरफेर गर्ने तयारी थालेको बताइएको छ।

सरकार र पार्टीलाई नयाँ गति दिने गरी संघीयदेखि प्रदेशसम्मका सरकारमा हेरफेर गर्ने पूर्वतयारी थालिएको छ। संघीय मन्त्रिपरिषद्‍मा कार्यक्षमतामा पछाडि परेका मन्त्रीहरुलाई बिदा गरेर यसअघि सफल नेताहरुलाई मन्त्रिपरिषद्‍मा अवसर दिने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ।

यसअघि नेकपाको बिवाद समाधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेपछि शीर्ष नेताहरुले सचिवालय वा स्थायी कमिटी बैठकबाट कार्यदललाई आधिकारिकता दिनुपर्ने बताएका थिए।

हिजो बिहान प्रचण्ड निवास खुमलटार पुगेका वरिष्ठ नेता झलनाथ खनाल, माधबकुमार नेपाल र प्रवक्ता श्रेष्ठले दुई अध्यक्षले गठन गरेको कार्यदल आफूहरुलाई मान्य नभएको बताएका थिए ।

त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सचिबालय बैठक बोलाउन तयार भएको बुझिएको छ। भोलि बस्‍ने बैठकले कार्यदललाई आधिकारिकता प्रदान गरेर स्पष्ट कार्यादेश दिने नेताहरुले जनाएका छन्।

यसअघि हिजो कार्यदलका संयोजक बिष्णु पौडेलको निवास भैँसेपाटीमा कार्यदलको पहिलो औपचारिक बैठक बसेको थियो। तर त्यस बैठकले सदस्यहरुको आचारसंहिता बनाउनेबाहेक अन्य कुनै निर्णय गरेको थिएन। थाहाखबरबाट

SHARE