आज विश्व बाघ दिवस : बाँकेको कोहलपुरमा विशेष कार्यक्रम

0
418
फाइल फोटो

साउन १४, २०७७ काठमाडौं : वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवस आज बाघ पाइने स्थानमा नै मनाउने योजना अनुसार बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको कोहलपुरमा मनाउँदै छ।

सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। यसबाहेक विभागले बाघ पाइने अन्य क्षेत्रहरु चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागिएको उनले बताए। पाटे बाघ विश्वका १३ देशमा पाइन्छ।

विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। सोप्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १ सय २१ लाई दोब्बरभन्दा पनि बढी २ सय ५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता जनाएको थियो। जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

मन्त्रालयले गत वर्ष ’राष्ट्रिय बाघ गणना २०१८’को नतिजा सार्वजनिक गरेको थियो। उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २ सय ३५ पुगेको छ। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघ गणना गरेको थियो। नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ।

नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ रहेको विभागको तथ्याङ्क छ।

SHARE