कफीको उद्गम स्थल मुसिकोटमा ५० हजार बिरुवा रोपण

0
473

तिलाचन पाण्डे
साउन १,२०७७ गुल्मी : कफीको उद्गम स्थल गुल्मीको मुसिकोटमा करिब ५० हजार बिरुवा रोपण गरिएको नगरपालिकाले जनाएको छ ।
बिसं १९९५ सालमा हीरा गिरीले बर्माबाट ल्याएको कफीको बिउँ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको हो ।
गुल्मीको कफीलाई ब्यबसायिक बनाउँनका लागि अभियानकै रुपमा कफीका बिरुवाहरु रोपण गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार वडा नं १ पौदीअमराईमा आठ हजार १२० , वडा नं २ मुसिकोटमा दूई हजार पाँच सय , वडा न ३ बडागाउँमा २१ हजार ८३१ , वडा नं ४मा तीन हजार तीन सय , वडा नं ५ आँपचौरमा १० हजार , वडा नं ७ वामीमा २२० , वडा नं ८ मैदानमा दूई हजार ५०० र वडा नं ९मा ५१० गरी ४८ हजार ९८१ कफीका बिरुवाहरु रोपण गरिएको हो ।
कफीको उद्गम स्थल गुल्मी भनेर मात्रै नहुने भन्दै अब ब्यबसायिक रुपमा नै कफी खेती गर्ने सापकोटाले दाबी गरे ।
गुल्मीमा मुसिकोट नगरपालिकाको आँपचौर , छत्रकोट , गुल्मी दरवार , धुर्कोट , रुरुक्षेत्रमा गरी १७८ हेक्टर जमिनमा कफी खेती गरिदै आएको छ ।

SHARE