
असार २९, २०७७ तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले एक घर परिँदा पाँच जना बेपत्ता भएका छन् भने एक जनाको जिवितै उद्दार गरिएको छ।
गएराति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए। स्थानीय आनबहादुर सुनारीको घर पहिरोले पुरिँदा सुनारीका दुई छोरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएको तनहुँ प्रहरीले जनाएको छ।
सुनारीकी श्रीमती घाइते भएकोमा उनलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी पुगेको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको तनहुँ प्रहरीले जनाएको छ।






