सिन्धुपाल्चोकको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु ,२० बेपत्ता

0
445
फाइल फोटो

असार २५, २०७७ काठमाडौं : सिन्धुपाल्चोकमा गएराति बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। २० जना बेपत्ता भएका छन्।
बाह्रबिसे नगरपालिका ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका सुरेनविक्रम योन्जनले दिएको जानकारी अनुसार स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ। अर्का एक जनाको ठेगाना खुलेको छैन्। अरु १६ जना बेपत्ता भएका छन्।
सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको योन्जनले जानकारी दिए। मृतक निकेशकी श्रीमती सबिना बस्नेत र स्थानीय सुवेस तामाङ गम्भीर घाइते भएका छन्। १० घरमा क्षति पुगेको छ भने भोटेकोशी किनार वारीपारी रहेका झण्डै ५० घर बाढीको उच्च जोखिममा रहेको उनले बताए।
ठाडो खोलाले ठूल्ठूला ढुंगा र माटो बगाएर ल्याएर घरहरुमा क्षति पुर्‍याएको हो। यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ५ ध्यालेमा बुलकुटे ठाडो खोलाले दुई वटा घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन्। स्थानीय ङिमा दोर्जे तामाङ, उनकी बुहारी मञ्जु तामाङ, दुई नातीहरु साहेल र पासाङ नुर्बु बेपत्ता भएको वडा सचिव टेकप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार अरु दुई जना घाइते भएका छन्।
बुलकुटे खोलाले अरनिको राजमार्गमा रहेको पक्की पुल पनि बगाएको सचिव अधिकारीले जानकारी दिए। यसैबीच प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेका छन्।
हिजो मात्रै आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेका सभामुख सापकोटा गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्र बाह्रबिसेमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएपछि उद्दारका लागि गएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

SHARE