गुल्मीका स्थानीय तहले पाँच अर्ब बढीको बजेट ल्याए

0
438

रमेश विश्वकर्मा
असार १६,२०७७ गुल्मी : गुल्मीका स्थानीयतहले आगामी आर्थिक वर्षका लागि ५ अर्ब बढीको बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले अनुमानित ५ अर्ब ७४ करोड २३ लाख ४५ हजार ७ सय ९० बराबरको बजेट ल्याएका हुन् । स्थानीय तहरुले, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास, सुशासन लगायतका क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर उक्त बजेट ल्याइएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ५६ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । आ.व.२०७७/०७८ का लागि उक्त बजेट ल्याईएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । उनका अनुसार चालु खर्च तर्फ ३६ करोड र पुजीगत खर्च तर्फ २० करोडको अनुमानित बजेट सार्वजनिक गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य, शिक्षा, कृषि, पशु, रोजगारी ठुला पूर्वाधार निर्माण, नयाँ प्रविधिको प्रयोग, सुशासन, समावेशिता लगायतलाई बिशेष प्राथमिकता दिएको छ । नगरपालिकाभित्रका १४ वटै वडामा ५० लाखभन्दा माथिको गौरवको योजना सञ्चालन गरिने मरासीनीले बताए ।

मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित ६२ करोड ४० लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । चालु खर्चतर्फ ३९ करोड २ लाख ४२ हजार र पुजीगत तर्फ २३ करोड ६७ लाख ६८ हजार छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि, उद्यम, रोजगारी, स्वास्थ्य शिक्षा, पुर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखेको छ ।

मदाने गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड १ लाख ६४ हजार ६ सय ६० बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । उनका अनुसार चालु खर्च तर्फ २५ करोड ५ लाख र पुजीगत खर्च तर्फ १५ करोड ९६ लाख ६४ हजार ६ सय ६० बजेट छुट्टाएको छ । गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, शिक्षा, रोजगार लगायतलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको हो ।

धुर्कोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ६० लाख १८ हजार २ सय ९१ बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । चालुखर्च तर्फ ३० करोड ६२ लाख र पुजीगत तर्फ १८ करोड ९८ लाख १८ हजार २ सय ९१ बजेट छुट्टाएको छ । कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतलाई बिशेष प्राथमिकतामा राखिएको छ ।

चन्द्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड १ लाख ७९ हजार ९ सय ९० बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा प्रवाह, रोजगार, खानेपानी, कृषि, पशु, यातयात लगायतलाई मध्यनजर गरी बजेट ल्याएको छ ।

सत्यवती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड ८७ लाख २४ हजार ६ सय २५ बराबरको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिृकत यादव भण्डारीले जानकारी दिए । गाउँपालिकाले स्वास्थ्य, कृषि, पशु, शिक्षा, रोजगार लगायतलाई बिशेष केन्द्रमा राखेर बजेट ल्याएको बताईएको छ ।

कालिगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ४९ करोडको बजेट ल्याएको गाउँपालिका अध्यक्ष बेद बहादुर थापा मगरले जानकारी दिए । गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याएको अध्यक्ष थापाले बताए ।

रुरु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ८२ लाख ८३ हजार बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले कृषि, रोजगारी, विपद् व्यवस्थापन, शिक्षा, पूर्वाधार विकास लगायतलाई ध्यानमा राखेर बजेट ल्याएको हो ।

गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड २२ लाख २३ हजार ८ सय ६४ बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । उनका अनुसार चालु खर्चका लागि २६ करोड २२ लाख ३६ हजार ८६४ र पुजीगततर्फ १५ करोड ९९ लाख ८७ हजार छुट्टाएको छ ।गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगार लगायतलाई मध्यनजर गरी बजेट ल्याइएको पाण्डेले बताए ।

छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ४२ लाख २३ हजार ८ सय ६० बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृृत भेषराज पन्थले जानकारी दिए । उनका अनुसार चालु तर्फ २९ करोड ६१ लाख ३३ हजार ८६० र पुजीगत तर्फ १८ करोड ८० लाख ९० हजार छुट्टाइएको छ । गाउँपालिकाले कृषि, स्वास्थ्य, राजगारी, शिक्षा लगायतलाई उच्च प्राथमिकता दिईएको छ ।

मालिका गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ६९ लाख १७ हजार ५ सय बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिएको भण्डारीले दाबी गरे ।

इस्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड १६ लाख बराबरको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिए । गाउँपालिकाले कोरोना महामारीको नियन्त्रण, रोजगारी सिर्जना, कृषि, पशुपालन र उद्यम व्यवसायलाई उच्च प्राथमिकता दिई बजेट ल्याएको उनले बताइन् ।

SHARE