कपिलवस्तु र दाङ्गमा बाढीको खतरा

0
960

जानु पाण्डे
असार ६,२०७७ कपिलवस्तु  :शुक्रवार साँझबाट परेको वर्षाका कारण कपिलवस्तु र दाङ्गका नदी आसपासका क्षेत्रमा बाढीको खतरा बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाको अनुसार लगातार वर्षा भइरहँदा दुई जिल्लामा नदीमा जल स्तर बढेको छ । नदी आसपासका क्षेत्रमा रहेको बस्ती उच्च जोखिममा रहेको बताइएको छ । देशका अधिकांश भूभागमा पानी परेपनी यी दुई जिल्लामा भारी वर्षा भए पछि उच्च जोखिममा परेको छ ।

दाङको गडवामा रहेको मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १३६।४ मिली मिटर वर्षा मापन गरिएको छ । लालमटियामा रहेको अर्को मापन केन्द्रमा ६ घण्टामा ९९।२ मिली मिटर बर्सात भएको छ ।

यसै गरी कपिलवस्तुको बाणगंगामा रहेको मापन केन्द्रमा ७४।६ मिली मिटर बर्सात भएको महाशाखाले बताइएको छ । यी मापन दिउसो १२ बजे सम्मको रेकर्ड गरिएको हो ।

अहिले सम्म बर्सात रोकिएको छैन । आजको मौसम पूर्वानुमान अनुसार भोलि बिहान सम्म भारी वर्षा हुने पूर्वानुमान देखिएको छ । लगातारको वर्षाका कारण नदीतटिय क्षेत्रमा खतरा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका एक कर्मचारीले बताए ।
शाखाका अनुसार ६ घण्टा १०० एम एम भन्दा बढी वर्षा भयो भने उच्च जोखिमको रूपमा हुन सक्ने देखिन्छ ।
यता दुवै जिल्लाका पहाडी क्षेत्रमा पनि लगातार वर्षा भइरहेको छ ।
अर्घाखाचींको पावरामा बाणगंगा नदीमा बाढीको बहाव उच्च भएको छ । नदीमा रहेको बाढीको स्केल अनुसार पहेलो रेखा पार गरी रातो रेखामा पुगेको छ । पहाडी क्षेत्रबाट बग्ने सबै नदीमा पानीको सतह बढेको प्रकोपको क्षेत्रमा काम गर्ने आईआरडिसी संस्थाले जनाएको छ ।

बाढीको जोखिम देखिए पछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सचेत हुन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलमा अनुसार जिल्लाको बाणगंगा नदी, कोइली नदी, सुराई नदी र गुडरुंग खोलामा उच्च बहाव रहेको बताए ।
यी नदी आसपासमा पर्ने बस्तीमा सतर्क रहन अनुरोध समेत गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अलर्ट गरी राखिएको छ । जिल्ला प्रशासन कार्यालय दांङ्गका सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर अधिकारीका अनुसार राप्ती नदीमा खोलाको बहाव बढेको जानकारी प्राप्त भए सँगै सबै सुरक्षा निकाय र स्थानीयतहलाई सतर्क भएर बस्न अनुरोध गरेको बताए ।

SHARE