डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना

0
618
जेठ ३२,२०७७ डडेल्धुराः डडेल्धुरामा पहिलोपटक स्टाफ नर्समा पनि कोरोना संक्रमण देखिएको छ। डडेल्धुरामा शनिबार संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ।
जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए।
अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। ‘दुईजनाको रिपोर्ट प्राप्त भएको छ। दुवैको पोजेटिभ आएको छ। एक जना हाम्रो अस्पालमा कार्यरत नर्स हुन्। अर्का व्यक्ति चाहिँ नवदुर्गाका हुनुहुन्छ।’ निमित्त मेसु विष्टले भने।
अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित ती नर्स अहिले होम क्वारेन्टाइनमा बसिरहेकी छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसअघि अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत अनमीमा कोरोना संक्रमण देखिएको थियो। अमरगढी नगरपालिका ५ की २० वर्षीया ती युवतीमा गत सोमबार कोरोना पुष्टि भएको थियो। ती युवती पनि अहिले होम क्वारेन्टाइनमा छिन्।
जिल्लामा संक्रमितको संख्या ३९
डडेल्धुरामा शनिबार थप २४ जनामा कोरोना पुष्टि भएको छ। शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप २४ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ। डडेल्धुरामा शनिबार देखिएका कोरोना संक्रमितमध्ये नवदुर्गा गाउँपालिकाका २३ र अमरगढी नगरपालिकाका १ जना रहेको छन्।
कोरोना संक्रमित देखिनेमा नवदुर्गा गाउँपालिकाका २७ वर्षीय महिला, १९ देखि ४० वर्ष उमेर समूहका पुरुष गरी २३ छन्। अमरगढी नगरपालिकाका ३३ वर्षकी १ महिलामा कोरोना पुष्टि भएको थियो।
यस्तै, डडेल्धुराका पाँचजना कोरोना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। सुरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि १४ सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार शनिबार डिस्चार्ज गरिएको हो।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई डडेल्धुरा सदरमुकामस्थित अपि अस्पतालमा राखिएको थियो। कुनै किसिमको लक्षणदेखा नपरेपछि होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरूलाई घर पठाइएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर पठाइएको हो।
उनीहरू यही जेठ ९ र १० गते भारतका विभिन्न सहरबाट आएका थिए। २ जना मुम्बईबाट आएका हुन्। दिल्ली, पञ्जाब र गुजरात एक–एक जना आएका थिए। थप पाँच जना डिस्चार्ज भएसँगै डडेल्धुरामा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ। यसअघि परशुराम नगरपालिका १० का २८ वर्षीय पुरुष कोरोना जितेर घर फर्किसकेका छन्।
SHARE