गुल्मीमा पिसिआर ल्याब संचालन हुने

0
564

टोपलाल अर्याल
जेठ ३१,२०७७ गुल्मी  : गुल्मीमा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालन गरिने भएको छ ।

शनिबार जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । ल्याब तथा आइसोलेसन संचालनको लागि एक हप्ता अगाडी गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो ।

कार्यदलले जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रस्ताव अनुसारनै महिला विकास कार्यालयमा ल्याब संचालन गर्ने र त्यसको सम्पूर्ण संचालन र व्यवस्थापन गुल्मी अस्पताललेगर्ने निर्णय भएको श्रीपालीले जानकारी दिए ।
ल्याब संचालनको लागि पिसिआर मेसिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधी निर्माण गर्ने र सवैसंग सहयोगको लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको छ । श्रीपालीका अनुसार कार्ययोजना अनुसार खरिद प्रक्रियामा कुनै समस्या नभएर समयमै पिसिआर मेसिन आए असार तेस्रो हप्ताबाट ल्याब संचालन गरिने छ ।

‘अहिले देश कोरोनाको युद्धसंग लडिरहेको छ,’उनले भने,‘पछिको अवस्थाभन्दा तत्कालको परिस्थती आंशलन गरेर ल्याब र आइसोलेसनको कुरा अगाडी बढाएका हौ ।’ उनले मेसिनको पछिको उपयोगीता सम्झेर लगानी र योजनाबाट डराए ठुलो भुल हुन सक्ने बताए । त्यस्तै तीनवटै सरकार र निजी क्षेत्रसंगको सहयोगमा रेसुङा नगरपालिकाले व्यवस्थापन गर्ने गरेर आइसोलेसन हाउस बनाउने निर्णय गरिएको धुर्कोट गाउँपालिका प्रमुख तथा समिति सदस्य भुपाल पोख्रेलले बताए । त्यसको लागि महेन्द्र मावि, रेसुङा बहुमुखी क्याम्पस र शिक्षा कार्यालयको नाम प्रस्ताव गरिएको छ ।
शव बहान खरिद गर्ने
त्यस्तै दुई निर्वाचन क्षेत्रमा दुई वटा शव बहान खरिद गर्ने निर्णय भएको छ । भने शब व्यावस्थापन स्थल सम्बन्धित स्थानीय तहले चाहेको स्थानमा बनाउने निर्णय भएको पोख्रेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले कोरोना संक्रमणको नियन्त्रण र रोकथामसंगै बर्षा सुरु भएकाले मनसुन प्रतिकार योजना निर्माण र तयारी तत्काल गर्न स्थानीय तहलाई अनुरोध गरे । उनले पहिलो प्राथमिकतामा सडक अवरुद्ध हुन नदिन स्थानीय तहहरुले डोजरहरु पहिलेनै तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले ल्याव खरिद र आइसोलेसन संचालन अहिलेको अपरिहार्यता भएकाले सवैलाई सहयोग गर्न आग्रह गरे । रेसुङा नगरपालिकामा मेयर डिल्लीराज भुसालले रेसुङा नगरपालिकालाई सवै परिस्थतीको व्यावस्थापन मात्रै नभएर आर्थिक रुपमा सहयोग भए कुनै कुरामा पछि नहट्ने बताए ।

गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले ल्याव संचालन र आइसोलेसनको बिषय निकै चुनौतिपूर्ण भएपनि जनप्रतिनिधी र दलहरुको सक्रियता संचालन प्रक्रिया तथा व्यावस्थापनसम्म अटुट रुपमा रहनुपर्नेमा जोड दिए ।
उनले आफुहरुले अझै संक्रमण र संक्रमित बढ्ने स्थितीलाई मुल्यांकलन गरेर दुवै योजना अगाडी ल्याएकाले सवैको सहयोग र समन्वय आवश्यक रहेको औल्याए । भैरहवाबाट परीक्षण रिर्पोट आउन करिव दुई हप्ता लाग्ने र चौतर्फी पिसिआर परीक्षणको आवाज आउन थालेपछि स्थानीयतहहरुले ल्याव संचालनमा जोड दिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।
नेकपा र नेपाली कांग्रेसका पार्टी सचिवद्धय विर बहादुर कार्की र खिलध्वज पन्थीले दुवै कामको स्वागत गरे । उनीहरुले जिल्लाको हितको निम्ती थालिएको यो काममा आफुहरुको पूर्ण सहयोग र समन्वय रहने बताए ।

SHARE