कोरोनाबाट बालिकाको मृत्यु भएपछि क्वारेन्टाइन ‘सिल’

0
578

जेठ १८, डडेल्धुरा बाजुराको बूढीगंगा नगरपालिका १ स्थित धुरालसैन मावि क्वारेन्टाइन सिल गरिएको छ।
बूढीगंगा–१ की दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु र उनकी आमामा कोरोनाको पुष्टि भएपछि क्वारेन्टाइन सिल गरिएको हो।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ रोकथाकम तथा नियन्त्रण समितिको आकस्मिक बैठकले सिल गर्ने निर्णय अनुसार क्वारेन्टाइन सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए।
धुरालसैन माविको क्वारेन्टाइनमा ६१ जना महिला र एक सय २४ जना पुरुष गरी एक सय ८५ जना बसिरहेका छन्। उनीहरू सबैको पिसिआर परीक्षण गरिने भएको छ। भारतबाट उनीसँगै आएका अन्य व्यक्तिहरूको खोजी गरिने भएको छ।
सँगै क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन पठाउने र अन्य व्यक्तिको आवतजावतमा पूर्ण रोक लगाएर विद्यालय क्वारेन्टाइनस्थल सिल गरिएको उनले बताए। उनकाअनुसार समितिले मृत्यु भएकी बालिकाको दाहसंस्कार गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ।
आमाबुवासहित ती बालिका जेठ १३ गते भारतबाट आएर सो क्वारेन्टाइनमा बसेकी थिइन्। सो क्वारेन्टाइनमा बसेकै बेला बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि बालिकासहित आमा बुवालाई जेठ १५ गते सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएको थियो।

अस्पतालका प्रमुख डा।रुपचन्द्र विश्वकर्माका अनुसार आइसोलेसनमा राखिएकी उनको आइतबार बिहान साढे २ बजेतिर मृत्यु भएको थियो। आइतबार धनगढीस्थित सेती प्रादेशक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखाएको थियो। उनमा पुष्टि भएसँग सुदूरपश्चिममा कोरोना भाइरसबाट यो पहिलो मृत्यु हो।

डा विश्वकर्माका अनुसार मृतक बालिकामा झाडापखला, उच्च ज्वरो, श्वासप्रश्वासम्बन्धी समस्या देखिएको थियो। क्वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो।
उनलाई इन्ट्रोभेसन आइभी० एन्टिबायोटिक औषधि र अक्सिजन दिई उपचार गरिएको थियो। चार दिनसम्म स्रोतसाधनले भ्याएसम्म उपचार गरे पनि बालिकालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।

SHARE