सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ जेठ : बन्दाबन्दीका बाबजुद पनि कोरनाको कहरले गाउँ फर्केका युवालाई रोजगार दिन प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण कार्य भइरहेको छ ।
पाल्पाको रामपुर नगरपालिका १ र तनहुँको घिरिङ्ग गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधिन पुल बन्दाबन्दीले केही समय स्थगित हुन पुग्योे । पुलमा काम गर्ने नेपालगन्ज र बर्दियाका मजदुरलाई घर पठाएर निर्माणको काम केही समय बीचमै रोकिएको थियो ।
गाउँमा बाहिरबाट आउनेको सङ्ख्या बढेपछि स्थानीय युवालाई रोजगारी सिर्जना गर्न र कामलाई निरन्तर सुचारु राख्न पुनः पुलको निर्माण कार्य अगाडी बढाइएको हो । कोरनाको कहरले भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माण सुचारु गरेपछि रोजीरोटी गर्ने अवसर पाएका छन् ।
अहिले तनहुँको भागमा पिल्लर निर्माण कार्य भइरहेको छ । यहाँका ५५ जना युवालाई परिचालन गरिएको छ । कोरनाका कारण बन्दाबन्दी भएपछि गाउँ आएका हरिबिक्रम दरै पुल निर्माणमा काम गर्ने अवसर पाउँदा दुई चार पैसा कमाउने माध्यम बनेको बताए ।
हल यहाँ दैनिक १६ घण्टा काम गरिएको छ । निर्माण कार्यमा संलग्न ५५ जना युवालाई दैनिक दुई सिफ्ट आठ÷आठ घण्टामा विभाजन गरेर एक सिफ्टको रु आठ सय ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका सचिव दानबहादुर मल्लले जानकारी दिए ।
हालसम्म पुल निर्माणको काम १८ प्रतिशत मात्र सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माले बताए । उनका अनुसार बन्दाबन्दीको पहिलो एक महिना पुरै काम बन्द गरियो ।
बन्दाबन्दी लम्बिदै गएपछि पुनः गृह मन्त्रालयबाट निर्माण सामग्री ढुवानीका लागि सवारी अनुमती पत्र बनाएर स्थानीय युवा परिचालन गरेर पुल निर्माणको काम धमाधम गरिएको शर्मा बताउँछन् ।
नेपाल सरकारको रु २५ करोडको लागतमा डेढ वर्ष अघि देखि पुल निर्माण कार्य सुरु गरिएको हो । दुई सय १७ मिटर लम्बाई र ११ मिटरको चौडाई रहेको पुल बिल्डर्स शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालीमार्फत तीन वर्षभित्रमा निर्माण कार्य सक्ने गरी कामको थालनी गरिएको छ ।
कोरनाका कहरले विभिन्न ठाउँमा रोजगार, व्यवसाय गर्ने युवा गाउँ फर्केपछि बेरोजगार बस्न बाध्य उनीहरुलाई मध्यनजर गर्दै रोजगार दिने उद्धेश्यले बन्दाबन्दीका बाबजुद पनि निर्माण कार्य अगाडी बढाइएको समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए।