प्रदेश ५ सरकारका ८ निर्णय

0
850

बुटवल, १७ भदौ ।

प्रदेश ५ का विभिन्न ११ अस्पतालका लागि विकास समिति गठन गर्ने बाटो खुलेको छ । सोमबार बसेको प्रदेश ५ मन्त्रिपरिषद बैठकले ती अस्पतालमा अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेपछि यसको बाटो खुलेको हो ।

यो निर्णय प्रदेश ५ का १२ जिल्लामध्ये पाल्पामा सदरमुकाम तानसेन र रामपुरमा गरी दुई वटा र बाँके तथा दाङबाहेकका सबै जिल्लामा रहेका जिल्लास्तरीय अस्पतालमा लागू हुनेछ ।

यसैगरी बैठकले प्रदेश निजामति सेवाको गठन, संचालन व्यवस्था गर्न बन्ने विद्येयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृत दिएको छ । मुख्यन्यायाधिवक्ताको पारिश्रमिक वृद्धि गर्ने र प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक तथा सेवा सुविधाका विषयमा निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता भौतिक विकास तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

सोमबारको बैठकले प्युठानको गौमुखी गाउँपालिकाको केन्द्र वडा नं ५ ठूलावेशीबाट परिवर्तन गरी वडा नं ४ को पूजा लिवासेंमा राख्ने सिफारिस केन्द्र सरकारमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी प्रदेश पदक सिफारिस समितिमा बुटवलका नेत्र पन्थी र दाङका मेनका पोखरेल र पट्टु थारुलाई राख्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए । ७ सदस्यीय सो समितिमा ४ जना पदेन रहने प्रावधान रहेको छ ।

SHARE